PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लाटोकोसेरो तथा हुचिल संरक्षणकर्मी यादव घिमिरेलाई ‘स्पेसल एचिभमेन्ट अवार्ड’



लाटोकोसेरो तथा हुचिल संरक्षणकर्मी यादव घिमिरेलाई ‘स्पेसल एचिभमेन्ट अवार्ड’
युवा अनुसन्धानकर्मी यादव घिमिरे।

काठमाडौं : दोलखाका युवा अनुसन्धानकर्मी यादव घिमिरेलाई अन्तर्राष्ट्रिय पुरस्कार ‘स्पेसल एचिभमेन्ट अवार्ड’द्वारा सम्मानित गरिने भएको छ। उनले विगत १२ वर्षदेखि लाटोकोसेरो तथा हुचिलको अनुसन्धान र संरक्षणमा पुर्‍याएको योगदानको कदर स्वरूप सो पुरस्कार दिन लागिएको हो।

अमेरिकास्थित अन्तर्राष्ट्रिय लाटोकोसेरो केन्द्रद्वारा सञ्चालन हुने ‘अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव’ को अवसरमा सो सम्मान दिन लागिएको छ। यही फाल्गुन २४ मा उनले सो पुरस्कार प्राप्त गर्नेछन्।

हालसम्म एसियाबाट उनीसहित तीन जनाले सो पुरस्कार पाएका छन्। सन् २०११ मा ‘उल्लु सर’ भनेर चिनिएका संरक्षणकर्मी राजु आचार्यले पनि सो पुरस्कार प्राप्त गरेका छन्। लाटोकोसेरो तथा हुचिल अनुसन्धान र संरक्षणको लागि विश्वव्यापी रुपमा दिइने यो सम्मान सबैभन्दा ठूलो मानिन्छ।

नेपालमा सन् २००८ मा उनले लाटोकोसेरो संरक्षणको लागि पहिलो चेतना शिविर काठमाडौंबाट शुरु गरेका थिए। हालसम्म सञ्चालन भएका यस्ता ६०० भन्दा बढी शिविरबाट १८ हजार विद्यार्थी र २६ हजार सर्वसाधारणले लाटोकोसेरो संरक्षणको सन्देश पाएका छन्। उनले लाटोकोसेरो सम्बन्धी २ वटा पुस्तकमा सह-लेखकको भूमिका निर्वाह गरेका छन्। लाटोकोसेरो तथा हुचिलको चोरी सिकारी बारेमा समेत अध्ययन गरेका घिमिरेले रातो सुची प्रकाशनमा समेत उत्तिकै योगदान गरेका छन्।

लाटोकोसेरोप्रति समर्पित ‘हाप्सिलो’ पत्रिकाका सम्पादक समेत रहेका घिमिरे हिमाली क्षेत्रमा गरिएको लाटोकोसेरो पहिचानको अध्ययन टोलीमा समेत सहभागी थिए। नेपालमा विगत नौ वर्षदेखि सञ्चालित ‘लाटोकोसेरो तथा हुचिल उत्सव’मा उनको सक्रिय योगदान रहदै आएको छ। उनी लाटोकोसेरोलगायत अन्य स्तनधारीमा समेत विज्ञता राख्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell