PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेपालमा ट्राइसिरिज खेल्ने अमेरिकी टिमको घोषणा, अमेरिकी चिफ सेलेक्टर भन्छन्, ‘दुवै टिमबाट आउने चुनौतीप्रति सजग छौं’



नेपालमा ट्राइसिरिज खेल्ने अमेरिकी टिमको घोषणा, अमेरिकी चिफ सेलेक्टर भन्छन्, ‘दुवै टिमबाट आउने चुनौतीप्रति सजग छौं’
अमेरिकी क्रिकेट टिम। Photo: usacricket.org

काठमाडौं : अमेरिकी क्रिकेट बोर्डले नेपालसँग हुने त्रिकोणात्मक सिरिजका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ। आइसिसी वर्ल्डकप लिग २ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग यही माघ २२ बाट त्रिकोणात्मक सिरिज आयोजना गर्दैछ।

लिग २ अन्तर्गतकै खेलमा युएईमा भर्खरै सफलता हातपारेको अमेरिका अंक तालिकाको शीर्षस्थानमा छ। अमेरिकाले युएईमा खेलेको टिममा कुनै परिवर्तन नगरी टिम घोषणा गरेको छ।

अमेरिकी टिम नेपाल आउनुअघि भारतको मुम्बईमा अभ्यास गर्ने तयारी छ। मुम्बईमा रहँदा अमेरिकाले केही अभ्यास खेलहरुसमेत खेल्ने बताइएको छ। अमेरिकी टिम जनवरी २४ मा मुम्बई पुग्नेछ र त्यहाँ मुम्बई क्रिकेट एसोसिएसनसँग ३ अभ्यास खेल खेल्नेछ।

‘हाम्रो टिमले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेकोमा हामी खुशी छौं। त्यसैले युएईमा राम्रो प्रदर्शन गरेको १४ सदस्यीय टोलीलाई नै हामीले निरन्तरता दिएका छौं। हाम्रो खेलाडीहरु काठमाडौंमा हुने सिरिजका लागि फिट छन्’, अमेरिकी क्रिकेट टिमका सेलेक्टर प्रमुख रहेका रिकार्डो पावेलले भनेका छन्, ‘हामी दुवै पक्षबाट आउने चुनौतीप्रति सजग छौं। र, त्यहाँको स्थानीय अवस्थालाई चाडै एडप्ट गर्नुपर्ने चुनौतीलाई हामीले बुझेका छौं। सिरिज अघि मुम्बईमा हुने अभ्यासले त्यहाँको वातावरणसँग घुलमिल हुन सहज पुर्‍याउनेमा विश्वस्त छौं।’ 
त्यस्तै युएसए क्रिकेट बोर्डका अध्यक्ष आइन हिगिन्सले नेपाल टुरअघि अभ्यासको वतावरण मिलाइदिएकोमा बिसिसिआई र मुम्बई क्रिकेटलाई धन्यवाद दिएका छन्।

के हो वर्ल्डकप लिग टू?

‘वर्ल्डकप लिग टू’ विश्वकप पुग्ने रोडम्याप हो। यसअन्तर्गत नेपालले पहिलो त्रिकोणात्मक सिरिज आयोजना गर्दैछ। सिरिज खेल्न अमेरिका र ओमान नेपाल आउँदैछन्। यी दुई टोलीले यसअघि नै वर्ल्डकप लिगका खेलहरु खेलिसकेका छन् भने नेपालले पहिलो खेल खेल्न गइरहेको छ।

लिग-२ मा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्। नेपाल बाहेकका अरु देशहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन्।

अहिलेसम्म अंकतालिकामा अमेरिका शीर्ष स्थानमा छ। ८ खेल खेलेको अमेरिकाले ६ खेलमा जित निकाल्दै १२ अंक हात पारेको छ। त्यस्तै स्कटल्यान्डको ९ अंक, नामिबियाको ८ अंक, ओमनको ८ अंक, युएईको ७ अंक र पपुवा न्यूगिनी अंकविहीन छ।

यो लिग अढाइ वर्षे लिग हो। जसमा यी सातवटा टिमले प्रतिस्पर्धा गर्नेछन् जो विश्वकप भन्दा दुई स्टेप टाढा छन्। यसमा सातवटा सहभागी टिमले ३६ वटा खेल खेल्नेछन्। सन् २०१९ को अगस्टबाट शुरु भएको खेल श्रृंखला २०२२ को जनवरीसम्म चल्नेछ। यो बीचमा १२६ वटा खेलहरु हुनेछन्।

नेपाली टोली पनि लिगको तयारीका लागि प्रशिक्षणरत छ। कीर्तिपुरस्थित टियू मैदानमा खेल हुने भएकाले नेपाली टोलीको अभ्यासलाई पोखरा सार्ने निर्णय नेपाल क्रिकेट संघ (क्यान)ले गरेको थियो। नेपालका २४ खेलाडी अहिले प्रशिक्षणरत छन्।

अमेरिकी टिम

शौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, इयन हल्याण्ड, अक्षय होमराज, एलमोर हुटचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनान्क पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन  

त्रिकोणात्मक सिरिजको खेल तालिका :

माघ २२ :  नेपाल र ओमान

माघ २३ : ओमान र अमेरिका

माघ २५ : नेपाल र अमेरिका

माघ २६ : नेपाल र ओमान

माघ २८ : अमेरिका र ओमान

माघ २९ : नेपाल र अमेरिका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell