PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिकापछि ओमनद्वारा त्रिकोणात्मक सिरिजका लागि टिमको घोषणा, नेपाली टोलीको घोषणा हुन बाँकी



अमेरिकापछि ओमनद्वारा त्रिकोणात्मक सिरिजका लागि टिमको घोषणा, नेपाली टोलीको घोषणा हुन बाँकी
फोटो : ICC

काठमाडौं : नेपाल, अमेरिका र ओमनबीच यही माघ महिनामा त्रिकोणात्मक एकदिवसीय सिरिज शुरु हुँदैछ। काठमाडौंमा हुने उक्त सिरिजका लागि ओमनले १४ सदस्यीय टोली घोषणा गरेको छ।

आइसिसी वर्ल्डकप लिग २ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग यही माघ २२ बाट त्रिकोणात्मक सिरिज आयोजना गर्दैछ।

जेसन मक्सुदको कप्तानीमा ओमनले टिमको घोषणा गरेको हो। ओमनका श्रीलंकन प्रशिक्षक डुलिप मेन्डिसले यसअघि अमेरिका र नामिबियासँगको त्रिकोणात्मक सिरिजमा खेलाइएको टिमलाई नै निरन्तरता दिएका छन्। ओमनले नेपालमा राम्रो प्रदर्शन गर्दै चौथो स्थानबाट शीर्षस्थानमा उक्लने लक्ष्य राख्नेछ।

यता, अमेरिकी टिमको यसअघि नै घोषणा भइसकेको छ। सौरभ नेत्रभाल्करको कप्तानीमा अमेरिकी टिमको घोषणा भएको छ। अमेरिकी टिमले भारतको मुम्बई क्रिकेट एसोसिएसनसँग ३ खेल खेलेर नेपाल आउने तयारीमा छ।

होम टिम नेपालले भने अन्तिम टिम घोषणा गरिसकेको छैन। प्रारम्भिक २४ खेलाडीको सूचीमा रहेकाहरु भने हाल प्रशिक्षणरत छन्। कीर्तिपुरस्थित टियू मैदानमा खेल हुने भएकाले नेपाली टोलीको अभ्यासलाई पोखरा सार्ने निर्णय नेपाल क्रिकेट संघ (क्यान)ले गरेको थियो। आउने केही दिनमा नै क्यानले टिमको घोषणा गर्ने तयारी गरिरहेको छ

 त्रिकोणात्मक एकदिवसीय सिरिजका सबै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ।

 

के हो वर्ल्डकप लिग २?

‘वर्ल्डकप लिग २’ विश्वकप पुग्ने रोडम्याप हो। यसअन्तर्गत नेपालले पहिलो त्रिकोणात्मक सिरिज आयोजना गर्दैछ। सिरिज खेल्न अमेरिका र ओमान नेपाल आउँदैछन्। यी दुई टोलीले यसअघि नै वर्ल्डकप लिगका खेलहरु खेलिसकेका छन् भने नेपालले पहिलो खेल खेल्न गइरहेको छ।

लिग-२ मा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्। नेपाल बाहेकका अरु देशहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन्।

अहिलेसम्म अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ। ८ खेल खेलेको अमेरिकाले ६ खेलमा जित निकाल्दै १२ अंक हात पारेको छ। त्यस्तै स्कटल्यान्डको ९ अंक, नामिबियाको ८ अंक, ओमनको ८ अंक, युएईको ७ अंक र पपुवा न्यूगिनी र नेपाल अंकविहीन छ।

यो लिग अढाइ वर्षे लिग हो। जसमा यी सातवटा टिमले प्रतिस्पर्धा गर्नेछन् जो विश्वकप भन्दा दुई स्टेप टाढा छन्। प्रत्येक टिमले ३६ वटा खेल खेल्नेछन्। सन् २०१९ को अगस्टबाट शुरु भएको खेल श्रृंखला २०२२ को जनवरीसम्म चल्नेछ। यो बीचमा १२६ वटा खेलहरु हुनेछन्।

ओमन टोली

जिसान मक्सुद (कप्तान), अक्विब इलियास, जतिन्दर सिंह, खवार अली, सानुथ इब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौद, मुहम्मद नदिम, जय ओडेड्रा, बादल सिंह, अहमेद फैज बट, कलीमुल्लाह,बिलाल खान 

अमेरिकी टोली

सौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, इयन हल्याण्ड, अक्षय होमराज, एलमोर हुटचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनान्क पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन 

त्रिकोणात्मक सिरिजको खेल तालिका अनुसार माघ २२ गते नेपालले ओमानको सामना गर्नेछ भने माघ २३ गते ओमान र अमेरिकाबीच खेल हुनेछ। यस्तै, माघ २५ गते नेपाल र अमेरिका भिड्दा माघ २६ गते भने नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

माघ २८ गते अमेरिका र ओमान र माघ २९ गते नेपाल र अमेरिकाबीच खेल हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell