सर्लाही : उखु किसानले लामो समयदेखि चिनी उद्योगबाट भुक्तानी पाउन नसकेको कुराले राम्रै चर्चा पायो। भुक्तानी नपाएका किसानले काठमाडौंमै गई आन्दोलन गर्दा यस विषयले झनै चर्चा पायो। किसान आन्दोलनमा उत्रेपछि सरकारले गत माघ ७ गतेसम्म भुक्तानीका लागि पहल गर्ने लिखित सम्झौता किसानहरुसँग गरेको थियो।
सरकारले ७ गते दिने भनेको भुक्तानी किसानहरुले अहिलेसम्म पाएका छैनन्। भुक्तानी नपाउनेमा किसान मात्रै होइन बिचौलियाहरु समेत छन्। अझ बिचौलियाको अवस्था किसानको भन्दा बिजोग देखिएको छ।
सर्लाहीमा उखु किसान र चिनी मिलको बीचमा मध्यस्तकर्ताको काम गर्दै एक व्यापारी भुक्तानी नपाउँदा सर्वस्व सकिने अवस्थामा पुगेका छन्। लामो समयदेखि भुक्तानी नपाएका रामप्रताप महतोले बिघौँ जग्गा गुमाउन बाध्य समेत भएका छन्।
‘अहिले न यताको न उताको भएको छु’, ७१ बर्षीय महतो भन्छन्, ‘मभन्दा राम्रो अवस्थाका त किसान छन्। जसको खेत त बाँकी छ।’
झण्डै तीन दशकदेखि उखुको कारोबार गर्दै आएका उनले आफ्नो सबै सम्पत्ति उखुमै गुमाएका छन्।
किसानलाई दिए, आफ्नो गुमाए
सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ४ का बासिन्दा हुन् रामप्रताप। जिल्लामा तीन वटा चिनी उद्योग स्थापना भएपछि किसानले उखु खेती गर्न थाले भने महतोले त्यहीँ उखु खरीद गर्ने काम। चिनी उद्योगले खरीद गर्नुपर्ने उखु गाउँ-गाउँ डुलेर महतोले खरीद गर्न शुरु गरे।
‘किसानले चिनी उद्योगबाट महिनौँपछि भुक्तानी पाउने गरेका कारण तत्कालै रकम चाहिने किसानले मलाई उखु बिक्री गर्थे’, महतोले सुनाए, ‘मैले उखु तौल गराए लगत्तै हातमै पैसा दिँदै आएको छु।’
आफूले उखु खरीद गर्ने किसानमध्ये कसैको पनि भुक्तानी बाँकी नराखेको उनले दृढ्तापूर्वक सुनाए।
उनले भने, ‘कुनै पनि किसानको रकम बाँकी राखेको छैन। त्यसको सट्टा मेरो सर्वस्व नै अहिले गुमेको छ।’
हरिवनस्थित इन्दुशंकर, धनकौलस्थित अन्नपूर्ण, रौतहटको गरुडास्थित श्रीराम चिनी उद्योगलाई उधारोमा उखु बेच्दै आएका उनले किसानलाई त समयमै पैसा दिए तर आफ्नो भएभरको सबै सम्पत्ति गुमाए।
‘आफू खेती गर्नुभन्दा किसानसँग सस्तोमा उखु खरीद गरी उद्योगमा सरकारले निर्धारण गरेको मूल्यमा बेच्दा आफूलाई फाइदा हुने भनेर लामै समय यो कारोबार गरेँ। किसानलाई तत्कालै रकम दिए पनि आफूले भने कहिल्यै समयमा रकम पाउन सकिनँ,’ महतोले गुनासो गरे।
किसानलाई तत्कालै दिएको रकम भने उनले आफ्नो घरबाट दिएनन्। कहिले जग्गा बन्धकी राखेर ऋण लिएर त कहिले गाउँको साहूसँग ऋण लिएर नगदमै उखु खरीद गरे।
‘शुरुमा त फाइदा नै भयो’, एक दशकअघिको कुरा स्मरण गर्दै उनले भने, ‘सोही फाइदा भएको रकमले श्रीमती र १० सन्तानको पालन पोषणसम्म गरेँ। तर अहिले कंगाल बनेको छु।’
५ छोरा र ५ छोरीका बाबु रामप्रतापले शुरुमा किसानसँग उखु किनेर उद्योगलाई बेचेपछि यसमै आफ्नो भविष्य देख्न थालेका थिए। आफूसँग १० कठ्ठा जति जग्गा हुँदा समेत उनले आफ्नै खेतमा उखु खेती गरेनन्।
उनी सुनाउँछन्, ‘यही व्यापार गरेर छोराछोरीलाई पढाउने र थप जग्गा जोड्ने योजना बनाएको थिएँ। तर त्यो योजना भताभुङ्ग बन्यो।’
चिनी उद्योगले समयमै भुक्तानी नदिँदा साहूको ऋण तिर्न १० कठ्ठा जग्गा नै बेच्नुपरेको उनले सुनाए। जग्गा बेच्नु पर्दासम्म उनले हिम्मत हारेका थिएनन्। गाउँकै साहू सुरेन्द्र साहसँग उनले २ बर्षअघि ४ लाख ऋण लिएर पुनः यो काम शुरु गरे दिन फेरिने आशमा। तर दुई बर्ष यता किसानसँग खरीद गरी बेचेको उखुको उनले भुक्तानी पाउन सकेका छैनन्।
भुक्तानी लिन अन्नपूर्ण चिनी उद्योगमा आएको बखत उनले भने, ‘यो मिलसहित गरुडामा पनि रकम लिन बाँकी छ।’
चिनी उद्योगले रकम दिएपनि साँवा र व्याज तिर्न नसकिने आफ्नो अवस्था रहेको उनले गुनासो गरे।
आफूसँग कुनै सम्पत्ति नभएको र घडेरी समेत बेचेर अर्कैको घरमा आश्रय लिइरहेको सुनाउँदै उनले अब ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोल्दै गएको बताए।
‘एक जना छोरा वैदेशिक रोजगारमा गएका छन्। अरु छोराहरुले केहि न केहि काम गरिरहेका छन्’, उनले भने, ‘तर उनीहरुले आफ्नो आवश्यक्ता मात्रै पूर्ति गर्दा आफूलाई समस्या भएको छ।’
अब उनमा आशा पनि मरिसकेको छ। उनले बिचौलियाको काम पनि नगर्ने अठोट लिएका छन्। खेत भाडामा लिएर भए पनि जीविकोपार्जन गर्ने सोँचमा रहेको महतोले बताए।