PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रदेश दुईमा राष्ट्रिय सभाको निर्वाचन शुरु, मुख्यमन्त्री राउतले गरे मतदान

प्रदेश दुईमा राष्ट्रिय सभाको निर्वाचन शुरु, मुख्यमन्त्री राउतले गरे मतदान

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : राष्ट्रिय सभाको चार सिटका लागि प्रदेश दुईमा मतदान शुरु भएको छ।

प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा निर्वाचन शुरु भएको हो। प्रदेश दुईको मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा पहिले मतदान गरेपछि मतदान प्रकृया शुरु भएको हो।

प्रदेश दुईका प्रदेशसभा सदस्य र पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुका लागि सोही भवनमा दुई वटा मतदान केन्द्र राखिएको छ। प्रदेश सभा सदस्य १ सय ७ जना र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २ सय ७२ जना गरी कूल ३ सय ७९ जना मतदाताले मतदान गर्नेछन्।

दुवै मतदान केन्द्रका लागि मतदान अधिकृत अतिरिक्त ८ जना कर्मचारी खटाइएको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।

प्रदेश दुईमा राष्ट्रिय सभा सदस्यको चार पदका लागि हुन गइरहेको निर्वाचनमा आठ उम्मेद्वारहरु चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचनमा महिला समूह अन्तर्गत एक पदका लागि नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली कांग्रेसको तर्फबाट नगिना यादव चुनावी प्रतिस्पर्धामा रहेका छन्। दलिततर्फ नेपाल कम्युनिस्ट पार्टीका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवान प्रतिष्पर्धामा छन्।

त्यस्तै, अल्पसंख्यक समूह अन्तर्गत कांग्रेसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंह प्रतिस्पर्धामा रहेका छन् भने अन्य समूहतर्फ समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा छन। बिहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ४ बजेसम्म चल्ने छ।



ट्रेन्डिङ पोस्ट

Ncell