PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चीनको बुहानमा अन्तर्राष्ट्रिय खेलहरु रद्द, कोरोना भाइरसका कारण ओलम्पिक र फुटबलका खेलहरु प्रभावित



चीनको बुहानमा अन्तर्राष्ट्रिय खेलहरु रद्द, कोरोना भाइरसका कारण ओलम्पिक र फुटबलका खेलहरु प्रभावित

चीन यतिबेला कोरोना भाइरसको प्रभावसँग जुधिरहेको छ। खासगरी बुहान प्रान्त।

पहिला जनावरमा मात्रै देखिएको यो भाइरस बुहानबाट मानिसमा देखिएको हो। गत मंगलवारमात्रै यो भाइरस मानिसबाट मानिसमा सर्ने पुष्टि चिकित्सकहरुले गरेका थिए। यस भाइरसबाट चीनमा १७ जनाको मृत्यु भइसकेको छ भने ५०० जना भन्दा धेरै संक्रमित भइसकेका छन्।

बुहान प्रान्तमा यस भाइरसको जोखिम उच्च देखिएपछि प्रान्तभर सार्वजनिक सवारीसाधनहरु बन्द गरिएको छ। हवाई र रेल सेवाहरु पनि बन्द गरिएको छ। बुहानवासीहरुलाई अन्य प्रान्तमा समेत बिना कारण नजान आग्रह गरिएको छ।    

यता,  चीनमा देखिएको उक्त भाइरस अन्य देशमा समेत देखिएपछि विश्वभर सावधानी अपनाउन शुरु भएको छ।

यस भाइरसको संक्रमण बढ्दै गएपछि बुहानमा हुने तय गरिएको टोक्यो ओलम्पिक २०२० का बक्सिङ क्वालिफायर्स, र एसियन फुटबल कन्फिडिरेसन अन्तर्गतका फुटबल लगायतका खेलहरु समेत प्रभावित भएका छन्। कोरोना भाइरसको प्रकोप बढेसँगै ओलम्पिक कमिटीले क्वालिफायरका खेलहरु चीनमा गर्ने निर्णय रद्द गरेको छ।

टोक्यो ओलम्पिक २०२० को बक्सिङका क्वालिफायर खेलहरु बुहानमा हुने निर्धारित थियो। इन्टरनेसनल ओलम्पिक कमिटीले भने बढ्दो कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राख्दै प्रतियोगिता नै स्थगित गरेको छ।  

त्यस्तै एएफसी अन्तर्गत फेब्रुअरी ३ देखि ९ सम्म चीन, ताइवान, अस्ट्रेलिया र थाइल्यान्ड सम्मिलित समूह बी मा रहेको महिला फुटबलको क्वालिफायर्स खेलहरु बुहानमा नै हुने तय थियो। एसियन फुटबल कन्फिडरेसनले एक विज्ञप्ति निकाल्दै फूटबलका खेलहरु बुहानबाट चीनको पूर्वी शहर नानजिङमा गराउने जनाएको छ। खेल स्थल परिवर्तनको प्रस्ताव चिनियाँ फुटबल एसोसिएसनले गरेको बताइएको छ।

त्यस्तै १४ फेब्रुअरीबाट एसिया/ ओसियाना बक्सिङ पनि त्यही नै आयोजना हुने तयारी थियो।

'बक्सिङ टास्क फोर्सले चिनियाँ ओलम्पिक कमिटीसँग नजिकबाट काम गरिरहेको छ। यसबारेमा केही नयाँ कुरा आएको खण्डमा सम्वन्धित ओलम्पिक किमिटी, नेसनल फेडेरसन र अफिसियलहरुलाई जानकारी गराइनेछ।' इन्टरनेसनल ओलम्पिक कमिटीको विज्ञप्तीमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell