काठमाडौं : चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा देखिएको छ।
यही महिना चीनबाट नेपाल आएका एक विद्यार्थीमा यस भाइरसको संक्रमण देखिएसँगै कोरोना भाइरस संक्रमित राष्ट्रमा नेपालको नाम समेत थपिएको छ।
चीनमा विकराल रुप लिँदै गएको 'नोबेल कोरोना भाइरस' मानिसबाट मानिसमा सर्ने भएकाले पनि यसको जोखिम विश्वभर देखिएको हो। चीनको २९ प्रान्तमा हालसम्म यस भाइरसको प्रभाव देखिएको छ। चीनसँगै नेपाल, अमेरिका,सिंगापुर, फ्रान्स,भियतनाम, जापान र दक्षिण कोरियामा समेत कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरु पहिचान गरिएको छ। संक्रमित भएका व्यक्तिहरुमा अधिकांश चीनबाट फर्किएको बताइएको छ।
चीनमा मात्र भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ। यस्तै, निमोनिया देखिएको एक हजार दुई सय ८७ जना उक्त भाइरसबाट संक्रमित भएका छन्। दुई सय ३७ जनाको अवस्था गम्भीर रहेको सिन्हवाले जनाएको छ।बुहानमा चीनले यस भाइरसमा संक्रमितहरुको उपचारको लागि छुट्टै अस्पताल निर्माण गरिरहेको छ।
यता शुक्रवार नेपालमा पनि यस भाइसको संक्रमण रहेको पुष्टि भएसँग स्वास्थ्य मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ।
चीनबाट आएका विद्यार्थीलाई रुघाखोकी लागेपछि उनी उपचारका लागि अस्पताल पुगेका थिए। कोरोना भाइरसबाट अति प्रभावित चीनको बुहान क्षेत्रबाट फर्केका ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने अनुमान चिकित्सकहरुले गरेका थिए। त्यसैले उनको रगत परीक्षणका लागि हङकङमा रहेको ल्याबमा पठाइएको थियो। परीक्षणमा उनमा कोरोना भाइरस पोजिटिभ पाइएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।
संक्रमित व्यक्ति भने अस्पतालबाट ठिक भएर डिस्चार्ज भइसकेका थिए। उनमा भाइरसको संक्रमण भएको पुष्टि भएपछि उनलाई फेरि अस्पताल बोलाइएको छ। नेपालमा हाललाई एकजनामा मात्रै यसको संक्रमण देखिएपनि संक्रमित व्यक्तिसँगै बसेका मानिसमा यस भाइरसको असरका बारेमा अनुसन्धान हुने बताइएको छ।
मानिसबाट मानिसमा सर्ने भएकाले यस भाइरसबाट बच्न डराउने भन्दा पनि सचेत हुनुपर्ने बताउँछन् शुक्रराज ट्रपिकल सुरुवा रोग अस्तालका चिकित्सक शेरबहादुर पुन।
'एकजनामा देखिँदैमा सबैतिर फैलिने होइन। डर सिर्जना गर्नुहुन्न। यसबारे भाइरसको जोखिमबाट हामी सचेत भने हुनुपर्छ।' डा. पुनले भने।
पहिला यो भाइरस जनावरमा मात्रै देखिने गरिएको थियो। मानिसमा भने यो भाइरसको कुनै संक्रमण हुँदैन थियो। तर, बुहान प्रान्तबाट फैलिन शुरु भएको नयाँ किसिमको कोरोना भाइरस भने मानिसबाट मानिसमा सर्ने तथ्य मंगलबारमात्रै सार्वजनिक भएको हो। विशेषगरी श्वासप्रणालीबाट यो भाइरस मानिसबाट मानिसमा सर्ने गरेको पाइएको उनले बताए।
लक्षण चिनौं
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरु धेरैलाई निमोनिया देखिएको थियो। यस भाइरसको सुरुवाती लक्षण भनेकै रुघाखोकी रहेको चिकित्सकहरु बताउँछन्। ज्वरो आउने, थकान महसुस गर्नु, श्वास फर्ने गाह्रो हुनु पनि यसका लक्षण हुन्। त्यसलै रुघाखोकी र ज्वरोलाई सामान्य रुपमा मात्रै लिन नहुने उनीहरु बताउँछन्।
नेपालमा एकजनामा मात्रै यस भाइरसको संक्रमण देखिएको र सो व्यक्ति चीनबाट आएकोले यसले नेपालमा ठूलै रुप लिने भन्ने हुँदैन। तर, चीनबाट आएकाहरुसँग बसेकाहरुमा उल्लेखित लक्षण देखिएमा अस्पतालमा आउन पुन आग्रह गर्छन्।
यस्तै हाललाई त्रिभुवन विमानस्थलमा मात्रै हेल्थ डेक्स स्थापना गरिएकोमा चीनबाट सडकमार्ग हुँदै आउनेहरुको संख्या पनि उच्च रहेकाले त्यसबारेमा पनि सोच्नुपर्ने उनी बताउँछन्।
कसरी बच्ने ?
डा. पुन भन्छन्,' रुघाखोकी लागेका मानिसबाट टाढा बस्नुपर्छ। आफ्नो शरीरको सरसफाइमा ध्यान दिनुपर्छ। विशेष गरी हातको सरसफाइमा बढी नै ध्यान दिनुपर्छ। सकेसम्म हात नमिलाउने।'
यो रोग पशुपन्छीबाट मानिसमा सरेकोले पशुपन्छीबाट टाढै बस्नुपर्ने उनी बताउँछन्। माछामासु राम्री पखालेर पकाएर खानुपर्छ। यद्यपि, नेपालमा अहिले नै भाइरसको ठूलो असर छैन। स्वस्थ जीवनशैली अपनाएर संक्रमण रोक्न सतर्क बन्न सकिन्छ|