PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

आठ दशक कट्दा पनि उत्तिकै जुझारु गुरुबा : ‘ह्याप्पी बर्थ डे’ राई सर

आठ दशक कट्दा पनि उत्तिकै जुझारु गुरुबा : ‘ह्याप्पी बर्थ डे’ राई सर

स्वेच्छा राउत/पहिलोपोस्ट


भारत बेलायतबाट स्वतन्त्र भइसकेको थिएन। हरेक दिन भारतबाट बेलायतसम्म पुग्ने र बेलायतबाट भारतसम्म आइपुग्ने खबरले केही न केही तरङ्ग पैदा गर्थ्यो अनि परिवर्तनको संकेत पनि।

त्यसै ताका दार्जिलिङमा बेलायतीले नै खोलेको एक सरकारी प्रेस थियो। त्यहीँ काम गर्थे अगमसिंह राई। खोटाङ, रावाखर्कका रैथाने।

खोटाङमै रहँदा एकदिन घरबाट गाई चराउन हिँडेका उनी फर्किएनन्। अल्लारे साथीहरुको लहलहैमा भारत हान्निएका थिए। आसामको कोइलाखानीमा कोइला खन्नेदेखि बिहारमा भारी बोक्नेसम्मको काम गरे। अन्तत: पुगे गुन्द्रुके गाउँ अर्थात् दार्जिलिङ। नेपाली भाषीहरुको बाहुल्यता रहेको ठाउँमा उनले चिया पसल पनि खोलेका थिए।

जब चिया गार्डेनका 'म्यानेजर'की छोरी आशालक्ष्मीसँग विवाह भयो तब अगमसिंह चिया पसले रहेनन्। परिवारप्रतिको जिम्मेवारी बोधले उनलाई 'कम्पनीको जागिर' खोज्न वाध्य बनायो।

बेलायती दबदबा रहे पनि सरकारी कार्यालयहरुमा आम मानिसलाई काम दिइन्थ्यो अनि तलब पनि राम्रै। अगमसिंहले सरकारी प्रेसमा काम पाए। पद - कम्पोजिटर। त्यही जागिरले उनको परिवार धान्यो, वर्षौं।

कार्यालयमा म्यानेजर बेलायती थिए। हरेक दिन सुट पाइन्टमा ठाँटिएर बस्ने ती बेलायती कामभन्दा ज्यादा अखबारमा घोत्लिन्थे, घण्टौं।

'आखिर यस्तो ध्यान दिएर पढ्नु पर्ने चिज के छ अखबारमा?' अगमसिंहले मनमा खुल्दुली मेट्न म्यानेजरसँग प्रश्न गरेछन्।

'मैले समाचार पढेको हुँ। बेलायतमा क्विन एलिजाबेथले हिजो के भन्नु भयो? दरबारमा कस्ता घटना भयो? यिनै जानकारीका लागि,' म्यानेजरले जवाफ दिए।

अगमसिंह अचम्ममा। हिजो बेलायतमा भएको घटना आजै दार्जिलिङमा बसेर पढ्न पाइने? उनले प्रश्न गर्न छाडेनन्, 'कसरी सम्भव छ सर? कसले तयार गर्छ यस्तो खबर?'

'जर्नालिस्टले,' म्यानेजरले जवाफ फर्काएछन्।

त्यसपछि अगमसिंहलाई लाग्यो- जर्नालिस्ट भनेको डाक्टर, इन्जिनियर, वकिलहरुभन्दा ठूला मानिस हुन् जसलाई बेलायतजस्तो शक्तिशाली देशमा घटेको घटनाको तत्काल जानकारी हुन्छ।

त्यसैदिन घर फर्किएपछि जेठो नाति लालध्वजलाई भने – ‘तेरो बुबालाई त मैले इन्जिनियर बनाएँ। तर इन्जिनियरभन्दा ठूला त जर्नालिस्टहरु हुँदा रहेछन्। तँ त जर्नालिस्ट नै बन्नेगरी पढ्नु है जेठा?’

भर्खरै कक्षा ६ मा पढ्दै थिए, लालध्वज। उमेरले जम्मा बाह्र वर्ष। कसैले भविष्यमा के बन्ने? भनेर सोध्दा, रौसिँदै जवाफ दिन्थे - म त वकिल बन्ने हो।

हजुरबुबाले एकाएक उनको सपनाको ट्र्याक परिवर्तन गरिदिए। उनको लक्ष्य बद्लियो। थाहा थिएन जर्नालिस्टले के गर्छन्। तर, पनि भन्न थाले- 'म त भविष्यमा जर्नालिस्ट बन्ने हो।'

सन् १९५२ मा हाइस्कूल सकियो। उच्च शिक्षाका लागि घरमा सरसल्लाह भयो। लालध्वजका बुबा चन्द्रध्वज सिक्किमका नामी इन्जिनियर। उनी चाहन्थे छोराले पनि त्यही बाटो पहिल्याओस्। तर, बुबा अगमसिंहको आज्ञा नकार्ने आँट कसको?

सन् १९५३ को सुरुवातमा नातिलाई आफ्नै भाइसँग कलकत्ता पठाए अगमसिंहले, 'युनिभर्सिटी अफ कलकत्ता'मा भर्ना गराउन, जर्नालिस्ट बनाउन।

विश्वविद्यालयमा पहिलो दिन लालध्वजले थाहा पाए - जर्नालिस्टलाई नेपाली भाषामा पत्रकार भनिँदो रहेछ। थाहा पाएको दिन देउसाले आफ्नो नाम मनमनै निकैपटक दोहोर्‍याए - पत्रकार लालध्वज देउसा राई।

+++

हरेक बिहान सात बजे नै बालाजु हाइटबाट भृकुटीमण्डपसम्म पुग्ने जोश बोक्छन् लालध्वज देउसा राई। पाए सार्वजनिक बस चढ्छन्। नपाए कहाँबाट पाइन्छ? त्यहीँसम्म हिँड्छन्।

'बुबा कहाँसम्म पुग्ने हो?'

'बा एक्लै?'

'पुर्‍याइदिनु पर्छ?'

यस्ता प्रश्न सोध्नेहरु नभेटिने होइनन्। तर, उनलाई थाहा छ आफू हिँड्ने बाटो अनि पुग्ने गन्तब्य। बाटोको उनलाई बानी परिसक्यो। माइनस २ को पावरवाला चश्माले उनलाई त्यहाँसम्म डोहोर्‍याउँछ।

होचो कद। सेत्तै फूलेका कपाललाई पूरै नछोप्ने खालको टोपी। प्राय कपडाको सर्टबाहिर जिन्सको आस्टकोट अनि कपडाकै पाइन्ट। कानमा ‘हेयरिङ एड’ र आँखा छोप्ने चश्मा। उनलाई देखेपछि शिर ननिहुराउने वा हात नजोड्नेहरु कमै भेटिएलान्।

त्यसैले त चार बीस ‘प्लस’ पार गरिसकेपछि पनि आराम खोजेका छैनन्। रत्नराज्यलक्ष्मी क्याम्पसमा रहेको पत्रकारिता केन्द्रीय विभागका कक्षाहरुमा सिद्धान्त अनि अनुभवका कुरा सिकाइरहेका हुन्छन्।

२०३३ साल, साउन एक गते पहिलोपटक रत्नराज्यको गेटभित्र पसेका थिए उनी। त्यसै दिन पत्रकारिता अध्यापनको सुरुवात भएको दिन। जम्मा बाह्रजना विद्यार्थी थिए आइएमा पत्रकारिता विषय लिएर पढ्न जोसिएर आएका। ती विद्यार्थीलाई देख्दा राईले आफू कलकत्ता विश्वविद्यालयमा पुगेको दिन सम्झिएका रहेछन्।

कलकत्ता! पढ्ने ठाउँ पनि महल जस्तो। सयौं विद्यार्थीको घुँइचो।

अनि रत्नराज्यमा ती बाह्रजना विद्यार्थीमात्र!

‘नेपालमा पत्रकारिताको विकास हुँदै थियो। साहित्यिक प्रकाशनहरु भन्दा फरक प्रयास भइरहेका थिए। तर, पढाई सुरु भएको थिएन। डाक्टर, नर्स, बैंकर बन्न सम्बन्धित विषय पढ्नुपर्छ भने पत्रकारिता गर्न किन पढ्नु नपर्ने? कोसिस गरौं भनेर कक्षा सञ्चालन गर्‍यौं,’ नेपालमा पत्रकारिता विषय अध्यापन सुरु गर्दाको दिन सम्झिन्छन् राई, ‘पत्रकारिता पढिँदैन, गरिन्छ भन्ने सोचको जरा उखेल्नु थियो।‘

लालध्वज देउसा राईसँगै पत्रकारिताको सैद्धान्तिक र व्यवहारिक विकासमा प्राध्यापक पी खरेल, भारतदत्त कोइराला, गोकुलप्रसाद पोखरेल लगायतको मेहनत थपियो। उनीहरुले अध्यापनको जग खनेर मात्र छाडेनन्। प्रवीणता तहपछि त्रिभुवन विश्वविद्यालयले त्यही दशकमै स्नातक तहको पनि पढाई सुरु गर्‍यो। त्यही जगबाट सुरु भएको पत्रकारिता शिक्षा अहिले स्नातकोत्तर, एमफिल र पिएचडीसम्म सञ्चालनमा छ।

त्यसो त राईले समयको हिसाब राखेनन्। राखेको भए उनी हाल ‘रिटायर्ड’ जीवन बिताइरहेका हुन्थे। उनी त हरेक दिन उही ऊर्जा बोकेर निस्कन्छन्।

वर्षौ बित्यो, पाठ्यक्रम र विषयसँग घोत्लिँदा। पाठ्यक्रम अनुसार किताब लेखनमा पनि उत्तिकै जुटेका। मिडिया अनुसन्धानमा पनि समय बिताएकै छन्। तर, पनि कक्षामा छिर्नुअघि तयारी गर्छन्। पढाउने विषयबारे बुँदाहरु टिपोट गरेको कागजी टुक्रा सधैं बोक्ने कालो साइड ब्यागमा बिराउँदैनन्।

‘सिक्ने सिकाउने दुवै अप्ठ्यारो कुरा हो। फेरि पत्रकारिता यस्तो विषय हो- यसका तथ्यहरु बद्लिइ रहन्छन्। त्यसैले तयारी त चाहिन्छ नै आफू अपडेटेड रहन पनि अनि विद्यार्थीले सोध्ने प्रश्नको सामना गर्न पनि,’ हाँस्दै भन्छन्, ‘पहिले पो शिक्षकले विद्यार्थीलाई सोध्थे। त अब त विद्यार्थीहरु चनाखो भइसके। उनीहरु हामीलाई सोध्छन्।‘

सिकाइ निरन्तर चलिरहने प्रक्रिया मान्छन् उनी। अनि पढेरमात्र होइन, गरेर पनि सिक्नुपर्ने विषय भन्छन्, पत्रकारिता।

उनी पत्रकारिताको सैद्धान्तिक पाटोको त सधैं नजिक रहे नै, ‘न्यूज रुम’हरुमा पनि सक्रिय रहेर काम गरे। त्यसको सुरुवात कलकत्तामा स्नातक पढ्दादेखि नै भयो।

+++

पत्रकारिताको तीन वर्षे स्नातक सकिएपछि ‘हिन्दुस्तान स्टान्डर्ड’मा इन्टर्नसीपका लागि पठाइयो, उनलाई। उनी रिपोर्टिङ हिँड्ने, समाचार लेख्‍ने जोशले पुगे। तर, त्यहाँ त केही समय गर्ने होइन? भनेर टारियो। राई पनि के कम – ‘म सक्छु। म गर्छु’ भनेरै अघि बढे। अन्तत: उनलाई कलकत्तामा बस्ने नेपाली भाषीहरुको बारेमा लेख्‍न लगाइयो। खुशी खुशी लेखे। त्यही लगातार समाचारहरु लेखे अनि कतिपटक नेपाली भाषामा प्रकाशित साहित्यलाई अनुवाद गरेर छपाए।

‘त्यहीँ हो लेख्‍नु पनि सजिलो काम होइन रहेछ भन्ने थाहा पाएको,’ क्लास रुमबाट न्युजरुम पुग्दा राईले यही बुझेछन्।

त्यतिन्जेल हजुरबुबाले देखाइदिएको बाटो हिँड्दै थिए उनी।

त्यसपछि के त?

कुनै योजना नै थिएन।

त्यसैले स्नातकोत्तर भर्ना भइसकेपछि भने कानूनको तीन वर्षीय कोर्षमा पनि भर्ना भए। किनकि वकिल बन्नु त हजुरबुबाले देखाएको होइन, बालकैमा आफैँले देखेको सपना थियो। तर आफ्नै सपनामा तुसारापात भयो, कलकत्ता उच्च अदालतमा इन्टर्नसीप थालेपछि।

‘कालोलाई सेतो अनि सेतोलाई कालो भन्नु पर्ने कस्तो पेशा यो? म त सक्दिनँ रहेछु वकिल बन्न। सत्य तथ्यको पक्षमा उभिन त पत्रकार नै बन्नुपर्छ भन्ने भयो,’ उनले पाएको अर्को ज्ञान सुनाए।

त्यसपछि पत्रकारितातर्फै मोडिए उनी। हिन्दुस्तान स्टान्डर्डमा चाहे अनुरुप रिपोर्टिङ गर्न नपाएको, लेखेको कुरा नछापिएको इख बाँकी नै थियो। त्यसैले आफै प्रकाशन गर्ने भए साप्ताहिक म्यागजिन, सहपाठीहरुसँग मिलेर, त्यो पनि खेलकुदको। नाम दिए- स्पोर्ट्स म्यागजिन।

आ- आफू प्रकाशक, आफैँ रिपोर्टर, आफैँ सम्पादक। कसले रोक्ने कसले छेक्ने?

‘तर, आफैँ पत्रिका निकाल्नु पनि सजिलो काम होइन रहेछ हौ,’ निकै लामो हाँसोसँगै सुनाए - खेलकुदबारे जान्न बुझ्न रात बिरात पुस्तकालय धाएको, आफूले बुझ्दै नबुझ्ने खेलको रिपोर्टिङ गर्न गएका किस्साहरु।

तीन अङ्क प्रकाशित भयो ‘स्पोर्ट्स म्यागजिन’। त्यसपछि उनको पढाई सकियो अनि कलकत्ताको होस्टल बसाई पनि। जे होस् बेलायतीहरुको दबदबाको छाप बाँकी रहेको शहरबाट थुप्रै अनुभवहरु संगाले। सिक्ने कोसिस गरिरहे। आधुनिक बन्दै गएको समाज बुझे अनि पत्रकारिताको विकासको एउट समय पनि।

दार्जिलिङमा उनले पुन: आफ्नै म्यागजिन दर्ता गरे। यसपटक आफूले नजानेको विषय होइन। आफ्नै रुचिको साहित्यिक म्यागजिन - ‘दियालो’। यसपटक उनी आधिकारिक रुपमा सम्पादक रहे। चर्चित आख्यानकार इन्द्रबहादुर राईले उनलाई सघाएको सधैं सम्झन्छन्। भने, ‘नेपाली भाषा साहित्यलाई प्रेम गर्ने। पढ्न रुचाउने, लेख्ने ठूलो जमात थियो दार्जिलिङमा। उहाँहरु धेरैको लेख छापियो।‘

पत्रिकाको प्रतिक्रियाले उर्जा दिलाएको थियो राईलाई। तर, प्रकाशनको जिम्मेवारी आफ्नै काँधमा भएपछि खर्च जुटाउन चाहिँ हम्मे।

त्यसताका उनका बुबा चन्द्रध्वज राई सिक्किम दरबारमा इन्जिनियर थिए। सिक्किमबाट तिब्बतको सीमा जोड्ने नाकासम्म सडक पुर्‍याउने श्रेय उनैले पाउँछन्। एकदिन हजुरबुबाले सिक्किममा प्रकाशनमा आउन लागेको नेपाली भाषाको पत्रिका ‘प्रगति’का लागि सम्पादक चाहिएको जानकारी दिए। दार्जिलिङको पहिलो नेपाली भाषाको रङ्गिन म्यागजिनलाई भारतीय विदेश मन्त्रालयले प्रकाशन गर्न लागेको थियो।

रङ्गिन पत्रिकामा काम गर्ने उनको सपनामा रङ्ग भर्‍यो कलकत्ता विश्वविद्यालयको सर्टिफिकेटले र आफ्नै बुतामा म्यागजिन प्रकाशन गरेको अनुभवले पनि।

उनलाई सिक्किम डाकियो, प्रगतिको सम्पादकका रुपमा। पत्रिकाको मुल उद्देश्य थियो- नेपाली भाषा प्रवर्द्धन। उक्त पत्रिकामा उनले सक्रिय पाँच वर्ष बिताए। नेपाली भाषा, साहित्यसँग झनै नजिक हुने मौका पाए। बेलाबखत् कलकत्तामा सँगै पढेका साथीहरुले ‘नेपालमा पत्रकारिताको उत्थानका लागि मिलेर केही गरौं’ भन्ने मार्काका सन्देशहरु पठाइरहन्थे।

सोही क्रममा एकपटक राष्ट्रिय समाचार समितिले पत्रकारको आवेदन खुला गर्‍यो। लालध्वजले सिक्किमबाटै आवेदन पठाए। त्यसताका नेपाल आएर काम गर्ने हुटहुटीले थियो उनमा। तर, चिट्ठी हुलाकबाट नेपालका लागि भारतीय दूतावास हुँदै सिंहदरबार पुग्ने युग न थियो। उनको आवेदन सिंहदरबार पुग्दा सायद म्याद गुज्रिसकेको थियो।

सँगै पढेका साथी युवराजसिंह प्रधान भने लालध्वज देउसा राईको उर्जा र क्षमतादेखि उत्साहित थिए। उनी चाहन्थे राई नेपाल आउन। पत्रकारिता गरुन्। त्यसैले आफूले प्रकाशन तयारी गरेको पत्रिका ‘नेपाल रिभ्यु’मा काम गर्नका लागि बोलाए।

त्यस समय नेपाली पत्रकारिता व्यवसायिक बनिसकेको थिएन। साथी साथी मिलेर काम गर्दा अप्ठ्याराबारे बुझिदिनु आवश्यक थियो। प्रधानले भने राईलाई तलब दिएरै काम गराउने सर्तसहित डाकेका थिए। र, सन् १९६५ मा उनी नेपाल आए, पत्रकारिता गर्न। त्यससमय सबैभन्दा बढी खुशी कोही थियो भने राईका हजुरबुबा अगमसिंह। भन्थे- नाति केटोले जर्नालिस्ट बनेर आफ्नै देशमा केही गर्ने भयो।

नेपाल रिभ्युमा उनले लेख, रचना र अनुवादहरु मात्र छपाएनन्। अन्तर्वार्ता लिन हिँडे, घटना विशेष समाचारहरु लेखे। यही पत्रिकामा काम गर्दागर्दै सन् १९६८ मा गोर्खापत्र संस्थानले द राइजिङ नेपालका लागि उपसम्पादक माग्यो। उनले आवेदन दिए। नाम निस्कियो।

त्यस समय द राइजिङ नेपालले आफ्नै सामाग्री उत्पादन गर्दैन थियो। एजेन्सीबाट टेलिप्रिन्टर मार्फत् आउने खबर सम्पादन गरेर छाप्नु पर्थ्यो। चार सय रुपैयाँ तलबमा उनको काम सुरु भयो। तर, उनी रमाउन सकेनन्। किनकि नेपालको कुनै एक दुर्गम गाउँमा महामारी फैलिएको खबर एजेन्सीबाट थाहा पाउनुपर्थ्‍यो त्यतिखेर। नेपालको राजनीतिक अनि सामाजिक स्थितिबारे त्यही टेलिप्रिन्टर हेरेर पत्तो लाग्यो। त्यसमाथि राइजिङ नेपाल अङ्ग्रेजी पत्रिका, जनशक्तिको नै कमी।

राईले सम्पादक वरुण शम्शेर राणासँग पटकपटक रिपोर्टिङ हिँड्न र आफ्नै लेख तयार पार्नका लागि अनुमति मागे।

एकदिन राणाले राईलाई एक्कासी भने – ‘जापानी दूतावासमा फूल प्रदर्शनी चलिरहेको छ। त्यहाँ रिपोर्टिङका लागि जानु।

अनि त्यस दिनको अनुभव सुनाए, ‘त्यसदिन मेरो खुशीको सीमा रहेन। पत्रकारिताको विद्यार्थी अनि प्राक्टिसनरका लागि मैदानमा खटेर समाचार लेख्न पाउनुले जति खुशी अरु केले देला?’

‌+++

मैदानमा खटिनुले उनलाई पत्रकारिता गर्नुको खुशी त दियो नै। साथै उनको जीवनमा प्रेम पनि। समाचार संकालनका लागि धाउँथे उनी महिला विकास केन्द्र। केही समय नियमित धाएपछि उनलाई मनपर्न थालेकी थिइन्, त्यहीँकै एक कर्मचारी- मनकुमारी प्रधान। इलामकी नेवार।

उनी परे राई। समाज अन्तर्जातीय प्रेमका लागि उदार भइसकेको थिएन। फेरि पत्रकारिताको सिलसिलामा  यता उता गर्दैमा व्यस्त राई उमेरले ३८ वर्षका भइसकेका थिए। तर, पनि मनपर्‍यो। प्रेम प्रस्ताव राखे। मनकुमारीलाई पनि उनी असल लागेका थिए। उनले स्वीकारिन्।

‘समाज तयार थिएन होला तर हामीलाई एकअर्का मन पर्‍यो त के गर्ने? हामीले परिवारसँग कुरा राख्यौं दुवैको परिवार तयार भयो। त्यसपछि कसले छेक्ने?’, उनले मुस्कुराउँदै सुनाए।

पत्रकारिता र अध्यापनको लामो रेसमा मनकुमारीको नैतिक, भावनात्मक साथ सहयोगको वर्णन गर्न भुल्दैनन् उनी। अहिले पनि राई दिनभर कम्प्युटर वा किताबमा घोत्लिरहँदा पानी, नास्ता, औषधि सम्झाउन आइरहन्छिन् उनी। भन्छन्, ‘एकअर्काको चाहना, लगाव, सपना स्वीकार्नु नै रहेछ प्रेम। उमेरकै कारण होला ती सपनाहरुबाट पनि विस्तारै मोह हट्दैछ। तर, श्रीमती चाहिँ आसपास भइरहँदा नै आनन्द लाग्छ।‘

+++

लालध्वज देउसा राई थाकेका छैनन्। उनको अध्ययनको भोक मेटिएको छैन। अनि अध्यापनको रहर पनि सकिएको छैन। किनकि उनले आजसम्म पनि समयको हिसाब गरेका छैनन्।

कति वर्षको हुनुभयो?

‘म १८ वर्षको भए पनि २८ वर्षको भए पनि के अर्थ छ र?’

जन्मदिनमात्र भन्छन् उनी – २६ जनवरी।

‘मेरो जन्मदिन हिस्टोरिक छ। त्यसैले भव्य समारोह हुन्छ,’ ठट्यौली पारामा राईले भने, ‘भारत सरकारले भब्य सेलिब्रेट गर्छ।’

२६ जनवरी, भारतको स्वतन्त्रता दिवस।

अर्थात्, आज। हिउँदे बिदा नपरेको भए, सायद आज पनि उनी बालाजुबाट कक्षा कोठासम्म आइपुगिसकेका हुने थिए। उनको उमेर र ऊर्जालाई सलाम। अनि ‘ह्याप्पी वर्थ डे’ गुरुबा!



ट्रेन्डिङ पोस्ट

Ncell