भक्तपुर : पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले संकट निम्तिने खतरा रहेको बताएका छन्।
भक्तपुरको कमलविनायमा रवीन्द्र पुरी फाउन्डेसन फर कन्जरभेसनको १० औं वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिदै गएकोमा चिन्ता व्यक्त गरे।
उनले भने, ‘अन्नको भण्डारको रुपमा लिइने तराई र काठमाडौँ उपत्यकामा अन्न रित्तिसक्यो, ढुंगेधारादेखि पानीको स्रोत सबै सुकिसक्यो, तराईदेखि पहाडसम्मका प्राकृतिक स्रोत, सम्पदा र साधनको विनाशले कस्तो अवस्था आउला, त्यही सम्झेर चिन्ता लाग्छ।’
कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले परम्परागत, पुरातात्विक सम्पदा र परम्परागत मौलिक बोकेको घरहरु मासिदै जानु र नेपालको मौलिकता, परिचय नभएका ठूल्ठूला घरहरुको निर्माण हुनु आत्मा नभएको शरीर उभिएजस्तै भएको टिप्पणी गरेका थिए। रासस