PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई नै बनाउने सहमति, नामाकरणबारे लागेन टुंगो



सुमित मिश्र

प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई नै बनाउने सहमति, नामाकरणबारे लागेन टुंगो

जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै हुने पक्कापक्की भएको छ। प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने विषयमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिले जनकपुरधामलाई नै स्थायी राजधानी तोक्ने सहमति गरेको हो।

सभामुख यादवले भने, ‘समितिले प्रदेश राजधानीको सीमा समेत टुंगो लगाइसकेको छ।’

उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा क्षेत्रसम्म राजधानीको सिमाना तोक्ने सहमति भएको उनले बताए।

उनले भने, ‘समितिले टुंगो लगाएको राजधानी जनकपुरधाम प्रदेश सभाको दुई तिहाई बहुमतले पारित गरेपछि औपचारिक रुपमा नै कायम हुनेछ। विभिन्न दलका प्रस्तावक तथा समर्थक, संशोधनकर्ता समेतलाई बोलाएर छलफल गरी उक्त निर्णयमा पुगेको हो।’

प्रदेशको राजधानी र नाम सम्बन्धमा विभिन्न दलका प्रदेश सभा सदस्यहरुले प्रदेश सभामा भदौ ५ गते प्रस्ताव दर्ता गराएका थिए। प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको बैठकबाट नै सभामुख यादवको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो।

समितिमा उपसभामुख उपमा देव, नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, प्रदेश सभा सदस्य रामकुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र प्रदेश सभा सदस्य नरेश यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र संसदीय दलका उपनेता रामअशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र प्रदेश सभा सदस्य रानी शर्मा तिवारी तथा नेपाल संघीय समाजवादीकी प्रदेशसभा सदस्य सावित्रीदेवी साह सदस्य छन्।

प्रदेशको राजधानीको विषयमा विशेष समितिमा टुंगो लागाए पनि नामको विषयमा भने सहमति हुन सकेको छैन। नामको टुंगो लगाउने विषयमा विशेष समितिमा छलफल भइरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell