PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

श्रीलंकन ब्याट्सम्यान उपुल थरंगाले इपिएलमा ललितपुरबाट खेल्ने, ‘नेपालमा बढ्दो क्रिकेट कल्चरको साक्षी हुन पाउँदा खुशी छु’



श्रीलंकन ब्याट्सम्यान उपुल थरंगाले इपिएलमा ललितपुरबाट खेल्ने, ‘नेपालमा बढ्दो क्रिकेट कल्चरको साक्षी हुन पाउँदा खुशी छु’
श्रीलंकन ब्याट्सम्यान उपुल थरंगा। फोटो : ललितपुर प्याट्रियट्स।

काठमाडौं : एभरेस्ट प्रिमियर लिगको चौथो संस्करणमा श्रीलंकन ब्याट्सम्यान उपुल थरंगाले ललितपुर प्याट्रियट्सबाट खेल्ने भएका छन्। लिगको साबिक विजेतासमेत रहेको ललितपुरले तीन अनिवार्य विदेशी खेलाडी राख्नपर्ने नियम अनुसार थरंगालाई अनुबन्धित गरेको हो।

थरंगा विकेटकिपर तथा बायाँ हाते ब्याट्सम्यान हुन्। उनी करियरको शुरुमा श्रीलंकाको यू-१५, यू-१७ र यू-१९ का नियमित सदस्य थिए। उनले २१ पटक श्रीलंकन टिमको एकदिवसीय खेलमा कप्तानी समेत गरिसकेका छन्। त्यस्तै उनले टी २० इन्टरनेसनलमा ६ पटक कप्तानी गरेका छन्।

ललितपुर प्याट्रियट्सका ओनर किशोर महर्जनले थरंगाको उपस्थितिले टिमलाई ब्यालेन्स गर्ने दावी गरेका छन्।

‘ललितपुरको टिममा एउटा ठूलो उपलब्धी हात परेको छ। थरंगाको उपस्थितिले टिमको ब्यालेन्स हुनेछ। उनीसँगको ड्रेसिङ रुम सेयरिङले पनि हाम्रा युवा खेलाडीले धेरै कुरा सिक्नेमा विश्वस्त छु’, महर्जनले भने,  ‘हाम्रा युवा खेलाडीहरुले धेरै कुरा सिक्ने अवसर पाउने छन्।’

थरंगा ओडिआई क्रिकेटमा ७ पटक भन्दा धेरै पटक २०० रनमाथिको साझेदारी गर्ने दोस्रा खेलाडी हुन्। त्यस्तै श्रीलंकाका लागि सनत जयसूर्यापछि ओडिआइको एउटै खेलमा दोस्रो धेरै रन बनाउने खेलाडी पनि हुन्। उनले श्रीलंकाका लागि अभिजित १७४ रन बनाएका थिए। जबकी जयसूर्याले भारतविरुद्ध १८९ रन बनाएका थिए। थरंगाले आफ्नो इन्टरनेसनल करियरमा १५ सेन्चुरी बनाएका छन् भने १२ पटक म्यानअफ द म्याच भएका छन्।

त्यस्तै श्रीलंकाको सबैभन्दा छिटो ओडिआइमा ४ हजार रन बनाउने खेलाडीसमेत हुन्। उनले १ सय १९ पारीमा यो रेकर्ड बनाएका थिए।

‘मलाई इपिएलको २०२० को संस्करणमा सहभागी हुन पाउँदा खुशी लागेको छ। नेपालमा बढ्दो क्रिकेट कल्चरको साक्षी हुन पाउँदा खुशी छु। आउँदा अरु संस्करणमा पनि यसलाई निरन्तरता दिन पाउनेमा खुशी छु’, थरंगाले भने, ‘सबैभन्दा धेरै त नेपालको सुन्दरता हेर्न आतुर छु। म त्यहाँ रहँदा मेरो ज्ञान र अनुभव म त्यहाँका युवाहरुसँग सेयर गर्नेछु।’

इपिएल यही २०२० को मार्च महिनाबाट शुरु हुँदैछ। यसका लागि इपिएलमा विदेशी तथा स्वदेशी खेलाडीहरुको चर्चा चलिरहेको छ, पछिल्लो समय। केही दिनअघिमात्र वेस्टइन्डिजका ड्वाने स्मिथ भैरहवा ग्लाडियटर्समा अनुबन्धित भएका थिए भने सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी काठमाडौं किंग्स ११ पुगेका थिए। पछिल्लो समय क्रिकेटका ठूला नाम चलेका खेलाडी भित्र्याउने भनेर इपिएल चर्चामा छ।

यद्यपि नेपालकै अरु लिग खेलेका विदेशी खेलाडी इपिएलमा खेल्न नपाउने नियमका कारण भने इपिएल आलोचित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell