
जनकपुरधाम : प्रदेश सरकारको समन्वयमा प्रदेश नं. २ बाट वैदेशिक रोजगारीमा जाने युवाहरुले विना धितो सहुलियत ऋण पाउन थालेका छन्।
प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेहरुलाई सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउन भएको सम्झौताअनुसार प्रभु बैंकले आजबाट ऋण दिन शुरु गरेको हो।
जनकपुरको सीताशरण होटलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको सुरुवात गरे। कार्यक्रममा प्रदेश नं. २ का ९ जना युवाले पहिलो दिन कर्जा पाए।
मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहल तथा सीप परियोजनाको सहयोगमा शुरु भएको यो योजनाले साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जानु पर्ने युवाहरुको बाध्यतालाई केही हदसम्म समाधान गर्ने विश्वास व्यक्त गरे। राउतले अब वैदेशिक रोजगारीमा जाने युवालाई सीप सिकेर जानु पर्नेमा जोडसमेत दिए।
यसअघि एसबिआई बैंकले हिजोमात्र यो कर्जाको शुभारम्भ गरेको थियो।
प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंक तथा एसबिआई बैंकबीच साउन महिनामा वैदेशिक रोजागरीमा जाने युवाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको थियो। सोही सम्झौताअनुरुप बैंकहरुले यो ऋण सेवा शुरु गरेका छन्।
प्रभु बैंकले यो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा दिने छन् भने बाँकीको सिरहा, धनुषा र महोत्तरीमा एसबीआई बैंकले सेवा दिने सम्झौता प्रदेश सरकारसँग गरेका छन्।
यस योजना अन्तर्गत वैदेशिक रोजगारीमा जाने युवाहरुले पासपोर्ट बनाउने वितिकै बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटोसहित निवेदन दिनु पर्ने छ। सोको लगतै बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाममा बचत खाता खोली दिने र भिसा लागेपछि, भिसा, श्रम सम्झौता बैंकमा जम्मा गरेपछि पाँच दिनभित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ।
बैंकका सिबिओ मणिराम पोखरेलको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, डिफिडका रोब क्लर्क, सीप परियोजाका बलजित बोहरासहितको उपस्थिति रहेको थियो।