PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दोस्रो शुभकामना महोत्सव : साहित्यकार पाँडे सम्मानित, कथा लेखनमा सुप्रिया पहिलो



दोस्रो शुभकामना महोत्सव : साहित्यकार पाँडे सम्मानित, कथा लेखनमा सुप्रिया पहिलो

कीर्तिपुर : दोस्रो शुभकामना महोत्सवमा वरिष्ठ 'शुभकामना स्रष्टा सम्मान - २०७६' बाट वरिष्ठ साहित्यका रामकुमार पाँडे सम्मानित भएका छन्।

आज कीर्तिपुरको शुभकामना एकेडेमीमा आयोजित कार्यक्रममा पाँडेलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्मचार्यले उक्त सम्मान प्रदान गरेका हुन्।

शुभकामना एकेडेमीले हरेक वर्ष साहित्यमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका एक जनालाई हरेक वर्ष सम्मान गर्दै आएको छ।

यसअघि शुभकामना स्रष्टा सम्मानबाट विनय कसजू र प्रमोद प्रधान सम्मानित भइसकेका छन्।

कथा लेखनमा सुप्रिय पहिलो

आजै कीर्तिपुर नगरपालिकामा रहेका विद्यालयका विद्यार्थीहरुमाझ भएको कथा लेखन प्रतियोगिताको निर्णय सार्वजनिक गरियो।

कथालेखनमा लेबोरटरी मावि कीर्तिपुरकी कक्षा ९ की छात्रा सुप्रिया केसी पहिलो भइन्। उनले प्रमाणपत्र र नगद तीन हजार पुरस्कार पाइन्। त्यसैगरी कीर्ति सेकेन्डरी स्कुल कक्षा ९ की छात्रा सृष्टि कठायत दोस्रो भइन्। उनले प्रमाणपत्रसँगै नगर दुई हजार पुरस्कार प्राप्त गरिन्। तेस्रो स्थान क्रिएटिभ एकेडेमीकी कक्षा ८ की छात्रा विदिसा महर्जनले हासिल गरिन्। उनले प्रमाणपत्रसँग नगद एकहजार पुरस्कार पाइन्।

बिहीवार भएको कथा लेखन प्रतियोगिताका प्रमुख निर्णायक वरिष्ठ बाल साहित्य सर्जक प्रमोद प्रधान थिए। विद्यार्थीले लेखेका कथालाई विषयवस्तु, प्रस्तुति र भाषाशैलीका आधारमा मुल्यांकन गरिएको र सबै कथाहरु उत्तिकै रोचक र बलियो भएको प्रधानले बताए।

सहभागी विद्यार्थीलाई एकेडेमीका प्रधानाध्यापक एवं बरिष्ठ बाल साहित्य सर्जक विजयराज आचार्यले तीन दिन प्रशिक्षण दिएका थिए। एकेडेमीको आयोजना र ग्रिन भिलेज एजुकेसन फाउन्डेसनको सहयोगमा प्रशिक्षण चलेको थियो।

महोत्सवमा शुक्रवार गायिका मीना निरौलालेसमेत प्रस्तुति दिएकी थिइन्। महोत्सव भोलिसम्म चल्ने एकेडेमीका प्रधानाध्यापक आचार्यले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell