‘कुनै हाँस्य कलाकार अति पीडामा पर्दा पनि उसले दर्शक हसाउन पर्यो भने के गर्ला?’ ‘अनि हसाउन सक्ला कि नसक्ला?’
लगातार प्रश्नपछि प्रश्न गरिरहेका थिए विशाल सापकोटा, ‘यस विषयमा फिल्म बनाउँदा कस्तो होला दाइ?’
प्रश्न सँगै रहेका निर्देशक दिनेश राउतसँग थियो। फिल्म प्रसाद हिट भएपछि नयाँ फिल्मको तयारीमा जुटेका राउत पनि नयाँ कथाको खोजीमा थिए तर भनेजस्तो मिलिरहेको थिएन।
यी दुईको चिनजान दिनेशको निर्देशकीय डेब्युमै भएको हो। ‘चिनजान र विश्वास थियो। त्यसैले आफ्नो आइडिया सेयर गरेको थिएँ,’ विशालले दिनेशतर्फ इंकित गर्दै भने।
माघको पारिलो घाम ताप्दै दिनेश र विशाल फिल्म ‘सेल्फी किङ’को रचनागर्भ सुनाउँदैछन्।
विशालले रोचक शैलीमा पुरानो कुरा सुनाए- आइडिया सुन्दा दिनेश दाइ मभन्दा बढी ‘एक्साइटेड’ हुनुभयो। तर, मैले उहाँलाई सोधेको मात्र थिएँ, दाइ यस्तो विषयमा फिल्म बनाउँदा कस्तो होला भनेर।’
विशालको जिज्ञासाप्रति दिनेश उत्सुक थिए नै। दिनेशले गम्भीर भएर सोचे र भने- ‘लौ भाइ यो विषयमा काम गरौं।' दुवैले विषयमाथि लामो छलफल पनि गरे।
उनीहरुको जिज्ञासा र जवाफको सन्दर्भ गएको वैसाख तिरको हो।
त्यसको करिब एक महिनापछि, विशाल हेटौंडामा रहेको घरमा थिए। अचानक दिनेशको फोन आयो। हाल खबर र औपचारिक कुरै नगरी सोझै दिनेशले भने- 'भाइ त्यो कमेडियनको ट्राजिडीवाला फिल्म बनाउनु पर्यो। म लगानी गर्छु। तपाईं निर्देशन गर्नु। काम सुरु गरिहालौं काठमाडौं आउनु।'
आइ एम सरी, नोभेम्बर रेन, क्लासिक, पर्व, प्रसादजस्ता हिट फिल्मका निर्देशकले नै आफूलाई निर्देशनको जिम्मेवारी ‘तिमी सम्हाल’ भन्नु विशालका लागि ‘कसैले गरेको ठूलो विश्वास’ थियो। उनी उत्साहित नहुने कुरै रहेन।
जुन कथामाथि फिल्म बनाउने सल्लाह हुँदै थियो त्यस विषय उनको भावनासँग जोडिएको थियो। उनको आफ्नै काका विष्णु सापकोटा उर्फ हर्के हवल्दारको जीवनसँग जोडिएको घटना।
अनि फिचर फिल्म निर्देशनको पहिलो अवसर पनि जसका लागि विशाल अमेरिकाबाट नेपाल फर्किएका थिए। सन् २०१४ को डिसेम्बरमै हो उनले लस एन्जलस सिटी कलेजबाट फिल्म डाइरेक्टिङको कोर्स पूरा गरेको। तर, नेपाल भने २०१९ को सुरुवातमा मात्र आए, फिल्म बनाउने योजनासहित।
हेटौंडाबाट काठमाडौं फर्किए। काम सुरु गर्न।
कथाका प्लटहरु जोड्न थाले। आफूले भन्न चाहेको कथा बुने। देखाउन चाहेको दृश्य कल्पिए। पात्रहरुसँग भलाकुसारी गरे। कुनै सन्देश लादेनन् बरु भावलाई पात्रहरुको संवेदनासँग गाँसिदिए। करिव दुई महिनामा सिनेमाको खाका तयार पारे।
'म कुनै पनि कथाको पूरा दृश्य दिमागमा नसल्बलाएसम्म शब्दमा उतार्न सक्दिन। जब आफूले भन्न चाहेको कथाबारे प्रष्ट भएँ तब बल्ल लेख्न थाले,' विशालले फिल्म 'सेल्फी किङ' लेखन प्रक्रियाबारे सुनाए।
दुई महिनाको दिमागी खाकालाई अक्षरमा उतार्न एक हप्ता लाग्यो। फिल्मको 'स्क्रिप्ट'को ड्राफ्ट बोकेर दिनेशसम्म पुगे उनी।
'विशालको फिल्मप्रतिको लगाव र बुझाइले गर्दा उसँग काम गर्न मन लागेको हो,' दिनेशले सहकार्यको कारण प्रष्ट्याए, 'फिल्मलाई व्यवसायभन्दा बढी कलाको रुपमा हेरिने भएकाले पनि हाम्रो विचार मिल्यो।'
राम्रो फिल्म बनाउने हुटहुटीले यी दुईलाई जोड्यो। साथ दिने भए सुभाष थापाले पनि। दिनेशसँगको अघिल्लो सहकार्यको ‘प्रसाद’को फल गतिलो भएपछि उनले ढुक्कसँग हात दिए। सबै मिलेर ‘स्क्रिप्ट’मा पटकपटक गृहकार्य गरे। अनि भदौमा घोषणा भयो फिल्म।
फिल्मको केन्द्रीय पात्रको नाममै जुराइएको हो यसको नाम। सेल्फी किङ एक हाँस्य कलाकार हो। तर उसको हाँस्य चेत र पेशाभन्दा पर एउटा खाली ठाउँ छ जहाँ उसले दबाएको पीडा, लुकाएको आँशु, भोगेको अभावको तीतो जम्मा हुन्छ। त्यही ठाउँबाट निस्किएर मञ्च, पर्दा अनि क्यामेरा अघिल्तर हाँस्ने हसाउने कलाकारको संघर्ष फिल्ममा देखाइन्छ।
विशालले लेखेको र कल्पिएको त्यो पात्रको संघर्षलाई दर्शकको संवेदनासँग छुवाउने जिम्मेवारी पाएका छन् अभिनेता विपिन कार्कीले।
‘उहाँ पात्रको मनोदशालाई बुझ्न मेहनत गर्नुहुन्छ, ठ्याक्कै त्यही पात्र भएर बाँच्नुहुन्छ। उहाँको त्यो खुबी मनपर्छ मलाई। त्यसैले चाहेजस्तै कलाकार उहाँ नै हो भन्ने भयो,’ दिनेशले भने। यसअघि प्रसादमै हो दिनेशले विपिनसँग काम गरेको।
विशाल भने टिममा नयाँ। सोचेका थिए - आफ्नो कुरा बुझाउन केही गाह्रो होला। तर, त्यसो भएन। फिल्मको कथा लेख्दालेख्दै कल्पिएका दृश्यहरु सेटमा काम आए। आफूलाई प्रष्ट दृश्य र संवाद कलाकार, छायांकार लगायतलाई बुझाउन केही सहज भएको महसुस गरे।
‘आफू प्रष्ट भएको कुरा न हो अरुलाई पनि बुझाउन सकिने। कथा अरु कसैले लेखेको भए यो प्रक्रिया नै अलग हुन्थ्यो। त्यो कथा बुझ्न मलाई नै समय लाग्थ्यो। कसरी खिच्ने? सोच्न समय लाग्थ्यो। कलाकारलाई बुझाउन थप अरु समय,’ विशालले भने।
उनले निर्देशकीय अनुभव सुनाइ रहँदा गम्भीर भएर सुन्दै गरेका दिनेश राउत बेला मौकामा टाउको हल्लाउँदै थिए।
‘तपाईं आफै निर्देशक। यस पटक निर्माता हुनुभयो। सेटमा चाहिँ तपाईं भित्रको निर्देशक बाहिर निस्कियो कि निस्किएन?’
आफूतर्फ प्रश्न सोझिएको चाल पाएपछि केही सतर्क हुँदै बोले राउत, ‘मैले विशालको आइडिया र निर्देशकीय खुबीमा विश्वास गरेर लगानी गरेको हुँ। सेटमा मैले आफ्नो कल्पना हावी गर्ने प्रयास गरेको भए विश्वास बाँकी रहन्नथ्यो। त्यसैले मैले सेटमा केही बोलिन।‘
कहिले काहीँ उनलाई लाग्थ्यो- कुनैकुनै दृश्य जसरी खिचियो, त्यसो नगरेको भए हुन्थ्यो। तर, केही भनेनन्। किनकि तत्काल सोच्थे- फिल्म निर्देशकको अभिव्यक्ति हो।
‘अहिले हेर्दा लाग्छ - नभनेर ठीक गरेँ। जसरी खिचिएको थियो त्यसैगरी ठीक छ,’ दिनेशले माहोल केही रमाइलो बनाउने हेतुले भने, ‘गाह्रो त निर्माता हुन पो रै’छ त। यता पनि सम्हाल्नु पर्ने उता पनि सम्हाल्नु पर्ने।‘
उनले पाएको नयाँ ज्ञान - निर्माता हुनुको अर्थ ‘कम्प्रमाइज’ गर्नु हो। किनकि कुनै पनि फिल्म निर्माणका लागि निश्चित बजेट तोकिएको हुँदैन। नेपाली फिल्म उद्योग सानो छ, बजार सीमित। सीमिततामा काम गर्नु नै सम्झौता गर्नु हो भन्ने महसुस गरे। भने - ‘जसले ‘कम्प्रमाइज’ गर्दिन भन्छ, उसले यथार्थमा पर्दा लगाउन खोज्दै छ भन्ने बुझे हुन्छ। म आफैँले पनि प्राविधिकदेखि कलाकारसम्मको समय किनेर बिस्तारै बनाउन सकेको भए फिल्म बनिसकेको भन्दा राम्रो बन्न सक्थ्यो होला। तर, सम्झौता गरेरै सीमित समय, सीमित बजेटमा फिल्म सकेको सत्य हो।‘
फिल्मबाट कमाइने नाम वा दामको लोभ भने फिटिक्कै नभएको बताउँछन् उनी। राम्रो फिल्म बनाएपछि लोभ नगरे पनि चर्चा र पैसा दुवै कमाइने विश्वास छ उनमा। त्यसो त पछिल्लो समय नेपाली फिल्म बजार सुस्ताएको त्रास ‘सेल्फी किङ’ युनिटको कानसम्म नठोक्किएको होइन। ती हल्लाहरु सत्य हुन् भन्ने पनि बुझेका छन्।
किन बजार सुस्तायो त? मानिस फिल्ममा किन आकर्षित भएनन् या रमाएनन्? दिनेशसँग यसको सहज उत्तर छैन।
बाल्यकालमा रेडियो नाटक सुनेरै रमाउँथे उनी। संवाद, पृष्ठभूमिमा बज्ने संगीत वा अन्य धुन, नाटकले दिने सन्देश र यस्तै यावत् कुराहरुले उनलाई कला, अभिनय, लेखनतर्फ आकर्षित गर्यो। सोही क्षेत्रमा सक्रिय रहे पनि। तर, आजभोलि सुन्ने होइन हेर्ने सामाग्रीहरुले पनि किन आकर्षित गर्दैनन् त?
दिनेश यही प्रश्नको जवाफ खोज्दैछन्।
‘दाइ अब बिस्तारै यस्ता प्रश्न रहने ठाउँ दिनुहुन्न,’ विशालले भ्याकुम भर्नुपर्ने तर्क गरे।
यी दुई निर्देशक र निर्माताबीच निकै समझदारी देखिन्छ। प्राय फिल्म निर्माण र प्रदर्शनअघिको हकमा अन्य निर्माता निर्देशकमो सम्बन्ध पनि उनीहरुको जस्तै हुन्छ। तर, जब फिल्म प्रदर्शनमा आएर हलमा धेरै दिन टिक्दैन, उनीहरु आरोप प्रत्यारोपमा उत्रिन्छन्।
‘तपाईंहरु बीच त त्यस्तो हुँदैन नि?’
प्रश्न सुनेपछि केहीबेर दुवै मज्जाले हाँसे।
विशालले भने, ‘दाइले मलाई सुरुमै भन्नु भएको कुरा सम्झन्छु - भाइ तिम्रो आइडियामा काम गरौं। फिल्म चित्त बुझ्दो भएन भने बरु रिलिज नगरौंला तर हामी सबैले आफ्नो तर्फबाट शत् प्रतिशत् दिउँ।‘
‘म त अझै पनि त्यही भन्छु। चित्त बुझेको छैन भने किन प्रदर्शनमा ल्याउनु? हामीलाई मन नपरेको कुरा दर्शकलाई किन देखाउनु?’, दिनेश पुरानै अडान सहित प्रश्न गर्छन्।
उनको प्रश्नको जवाफ दर्शकले दिएका छन्- सेल्फी किङको पोस्टर, ट्रेलरदेखि गीतहरुको कमेन्ट बक्समा। उत्साहजनक प्रतिक्रिया र शुभकामनाहरुले फिल्मको टोलीमा ऊर्जा थपेको छ।
पोस्टर रिलिज भएपछि फिल्मलाई हलिउडको ‘जोकर’बाट प्रभावित भन्ने आरोप नआएको होइन। पोस्टर हेर्दा लाग्छ पनि त्यस्तै। कतिले त फिल्म रिमेकको आरोप पनि लगाए। तर, जोकर प्रदर्शनमा आउँदा सेल्फी किङको छायांकन अन्तिममा पुगिसकेको थियो।
‘तर हामी ढुक्क थियौं कन्टेन्टदेखि हरेक विषय कतै मेल खाँदैन भन्नेमा। आरोपकै कारण हाम्रा पूर्व निर्धारित योजनाहरु थाँती राख्ने कुरो भएन। जोकरको चर्चा चल्नु र उस्तै देखिने पोस्टर सार्वजनिक हुनु संयोग बन्न पुग्यो,’ विशाल विश्वस्त सुनिए।
ट्रेलर सार्वजनिक भएपछि ती आरोपहरु साम्य हुँदै गए। तीन साता अघि सार्वजनिक ट्रेलर हालसम्म आठ लाख पटक हेरिएको छ।
विशालले आफूहरुले भन्न चाहेको कथा कुशलताका साथ व्यक्त गरेकोमा ढुक्क छन् दिनेश।
विशाल पनि आफूले कल्पिएको दृश्यहरु पर्दामा दुरुस्तै आउनेमा ढुक्क। तर, ती दृश्यहरुले दर्शकको संवेदना छुन्छ या छुँदैन? त्यो भने आउँदो माघ २४ गते मात्र थाहा हुन्छ। भन्छन्, ‘हामीले एक्साइटमेन्टमा लिएको निर्णय कति सही कति गलत त्यो त दर्शकले फिल्म हेरेपछि मात्र थाहा हुन्छ।‘
फिल्म निर्देशन नै पढेर आएका उनका लागि ‘सेल्फी किङ’ महत्वपूर्ण ‘एक्सपेरिमेन्ट’ पनि हो। त्यसैले फिल्म रिलिजको मिति नजिकिँदै जाँदा उत्साहसँगै डर पनि बढ्दै छ उनमा। निर्देशकले कल्पना गर्ने र दर्शकले महसुस गर्ने कुरा फरक भयो भने? त्यसको नतिजा सकारात्मक/ नकारात्मक जस्तो पनि आउन सक्छ। ती नतिजाले आफ्नो औपचारिक शिक्षासँग सम्बन्ध नराख्ने विशालको बुझाइ छ।
‘पढ्नु भनेको विचार र सोचको दायरा फराकिलो बनाउनु हो। प्राविधिक पाटोलाई नजिकबाट बुझ्नु हो। औपचारिक शिक्षा नलिएका निर्देशकहरुले पनि निकै राम्रो काम गरेकै छन्। त्यसैले पढेको वा नपढेको भन्ने विषय प्राथमिक होइन। बुझाइले अर्थ राख्छ। डर छ दर्शकले मेरो बुझाइको मूल्याङ्कन कसरी गर्लान्? भन्ने,’ उनले मनको कुरा खोले।
दिनेश भने यही उत्साह र डर मिश्रित अनुभूतिमा रमाउनुपर्ने तर्क राख्छन्। किनकि निर्माण टोलीको भागमा अब नतिजा आत्मसात् गर्ने जिम्मेवारीमात्र बाँकी छ। दर्शकको पक्षको कुरा न निर्देशक, निर्माताको हातमा छ न कलाकारको नै।
विशाल दिनेशको कुरामा सहमति जनाउँदै टाउको हल्लाउँछन्।
‘हेरौं, जे हुन्छ राम्रैको लागि हुन्छ,’ दिनेश सेल्फी किङको टाइटल गीतको शब्द गुन्गुनाउँछन्, ‘भावीले लेखेको कसले छ देखेको?’