PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

एउटा अद्भुत अभियानका यी तीन पात्र, जसलाई जोडिरह्यो त्यो झरीले...



स्वेच्छा राउत

एउटा अद्भुत अभियानका यी तीन पात्र, जसलाई जोडिरह्यो त्यो झरीले...

२०६९ साल, जेठ २३ गते।

त्यस दिन दिउँसो झमझम् पानी नपरेको भए धेरै कुरा उस्तै रहन्थ्यो। एउटा अध्यायको सुरुवात नै हुँदैन थियो, सायद। त्यो अध्याय जसमा लेखिनुपर्ने कथाहरु मात्र लेखिएनन्, सडकको कुनै छेउ वा कुनामा भेटिएका अनि मेटिएका कथाहरुमा पनि जीवनको प्राण भरियो।

यहाँ त्यही एक अध्यायले समेटेका केही थान कथाहरु …

हेटौंडाको वनसखण्डी मन्दिर। वनभोज चल्दै थियो। मीठा खानेकुरा अनि नाचगान। विभिन्न खेल र हँसिमजाकले खुबै रमाइलो हुँदै थियो।

दिउँसो करिव दुई बजेको हुनुपर्छ। एक्कासी कालो बादल मडारिन थाल्यो। वनभोजमा रमाइरहेकाहरु थाप्लोमा हात पुर्‍याएर माथितिर हेर्न थाले। पानी पर्ने निश्चित थियो। मन अमिलो पार्दै, घरी आकाश अनि घरी रामजीको मुहारमा हेर्दै थिए भोजमा रमाइरहेकाहरु।

रमाइरहेकाको आँखामा पीडा छचल्किएको देखे रामजीले। अनि प्रश्न उठ्यो - अब के गर्ने त?

निम्तालुलाई फर्कनुको हतार। ल्याइएकाहरु भने निस्फिक्री। छिटो निस्कन चाहनेका लागि नवर्षिएको झरी गज्जबै बहाना बन्यो। बाँकी थिए ‘ल्याइएका’ आगन्तुकहरु जसलाई कहीँ पुग्नुको हतारो नै थिएन। उनीहरुलाई न घामको न पानीको नै पर्वाह। बस्, खुशी भए, केही घण्टा।

आकासको कालो बादलले त्यही खुशीलाई ग्रहण लगाउँदै थियो। केही नबोलेरै जवाफ पर्खिरहे उनीहरु। तर, प्रश्न उही - अब के गर्ने?

जवाफ रामजीसँग पनि थिएन। थियो त केवल अन्यौलता।

उनका स्मरणमा बिहानदेखिका घटनाहरु झल्झल्ती भए जसले उनलाई आनन्द दिलाएको थियो।

+++

त्यसै दिन बिहान रामजी र केही साथी हेटौंडा बजारतिर निस्किए। सडकमा भेटिएका वृद्धवृद्धादेखि मानसिक सन्तुलन गुमाएकासम्मलाई उठाउन थाले। नचिनेका युवकहरुले उठाउँदा धेरैजसो त आत्तिए पनि। प्रतिवादमा पनि उत्रिए। तर, युवकहरुको सद्भभावले जित्यो। सडकमा भेटिएकाहरुसँगै हिँड्दा केही पाइला अघि पछि भए होलान् तर पुगे वनसखण्डी मन्दिरको त्यही एउटा छेउमा जहाँ उनीहरु उत्सव मनाउँदै थिए। सडकमा अलपत्र रहेका मानिसदेखि सरकारी कर्मचारीसम्म एकै ठाउँ!

खासमा अवसर चाहिँ 'साँचो जीवन निर्माण' नामक अभियानको वार्षिकोत्सवको थियो। त्यही अभियान अन्तर्गत् रामजी सकारात्मक सोच र जीवन विकासका तालिमहरु दिन्थे। काठमाडौंमा २०६६ बाट सुरु भएको अभियान अर्घाखाँचीमा ९ महिना चल्यो। त्यसपछि मकवानपुरमा एक वर्षको उत्सव मनाउँदै थिए अभियान्ताहरु, त्यो पनि सप्ताहव्यापी। वृक्षारोपण, सरसफाई, रक्तदान लगायत फरक फरक कार्यक्रम, हरेक दिन।

कार्यक्रमको अन्तिम दिन सडकमा आश्रितहरुसँग उत्सव मनाउँदै थिए।

वर्षौ सडकमा बिताएका १८ जनाको सरसफाई गर्नु पहिलो काम बन्यो। सबै मिलेर नुहाइदिए। नङ, जुँगा- दाह्री काटिदिए। कपाल कोरिदिए र नयाँ लुगा फेराए।

सरकारी कर्मचारीसँगै स्थानीय तहका प्रतिनिधि पनि सहभागी थिए वनभोजमा। सुरुमा सडकबाट ल्याइएका तिनै मानिस नजिक पुग्दा नाक थुनेर बसेकाहरु केही बेरको घुलमिलपछि उनीहरुको हात समाएर नाच्न थालिसकेका थिए।

ओहो! एक घण्टामा कत्रो परिवर्तन भएको थियो। सडकमा निराशा र मानिसकै डर बोकेर बसिरहेकाहरुको मुहारमा हाँसो छाएको थियो। त्यो हाँसोले माहोलमा ऊर्जा थपेको थियो।

त्यही क्षणिक नै सहि, मुस्कानका लागि धुमधाम तयारी गरेका थिए, अभियान्ताले।

तर, कालो र मडारिएको बादलले अकास्मात तेर्स्याएको प्रश्नको जवाफ दिनुपर्ला भन्ने सोचेका समेत थिएनन्।

रामजी लगायत अभियान्ताको त फर्कने ठाउँ थियो। पानी नरहेसम्म सिरकभित्रै गुट्मुटिएर बस्ने थातथलो थियो। तर, जसलाई उनीहरुले सडकबाट उठाएर ल्याए, उनीहरुको के?

एकछिन् न्यानो दिएर फेरि त्यही चिसोमै लगेर छाड्न त्यति नै कठोर मुटु चाहिन्थ्यो जति कोमल भावना उनीहरुलाई सडकबाट उठाउँदा बनाएका थिए।

असमन्जस्यमा परेका उनीहरुको अन्यौलताको गुत्थी सुल्झनु अघि पानी दर्कन थालिहाल्यो।

आखिरमा उनीहरु ढुङ्गा बने। याचना र आग्रहका भाव मिश्रित आँखाले हेरिरहेकाहरुलाई फेरि सडकमै लगेर छाडिदिए। त्यहीँ लगेर छाडे जहाँ थिए।

मौसम चिसो थियो। सडक हिलाम्मे। छोड्नासाथ ती 'बा आमा' रुन थाले। कराउन पनि। बाटोमै अलपत्र नछाड्न आग्रह पनि गरे।

शरीरको फोहोर र दुर्गन्ध किन सफा गरिदिएको?

प्रश्न गरे। सफा मानिसले माग्दा हत्तपत्त कसैले केही नदिने डर थपियो उनीहरुमा।

बोल्न नसक्नेहरु भने आँखामा आँशु लिएर एकोहोरिए।

'बा आमाहरुले हात जोडेर रुँदै गर्दा ठूलो पाप गरेको अनुभूति भयो। कोठामा त फर्किएँ तर मेरो मन सडकमै थियो,’ रामजीले सुनाए।

त्यसदिन उनले खाना खानसमेत सकेनन्। रातभर निद्रा परेन। ग्लानी महसुस भइरह्यो।

रामजीसँगै लागि परेका सुमन बर्तौला र रुपा केसीलाई पनि त्यही घटनाले नमीठोगरी घोचेको रहेछ।

अभियानले जोडिएकाहरुलाई यसपटक भने पीडा र ग्लानीले गाँस्यो। त्यही बन्धनले नै बनायो नक्सा 'मानव सेवा आश्रम'को। साथमा न पैसा न घरजग्गा नै। थियो त केवल प्रतिवद्धता - वनभोजपछि सडकमा पुर्‍याइएका तिनै आश्रितहरुलाई ल्याउने। दुई छाक खाना, छाना र नाना दिने। प्रेम र परिवार दिने।

ल्याउन त ल्याउने तर, कहाँ राख्ने?

जवाफ होइन, कोठा खोज्दै निस्किहाले उनीहरु जुन सजिलो थिएन। घर हुनेलाई डर थियो - सडकमा बस्ने मानिस मानसिक रोगी हुन्छन्। उनीहरुलाई ल्याएर राख्दा घर बिग्रन्छ, झ्याल ढोका फुटाउन सक्छन् अनि फोहर हुने पनि 'डर'।

हेटौंडाका घरघर चहारे उनीहरु। खोजी र आग्रह गरिरहे। अन्तत: हेटौंडाकै अब्बल डाँडामा मिल्यो कोठा।

कोठा मिलेपछि फेरि खोजीमै जुटे। यसपटक चाहिँ तिनै घरवारविहीन सडकका मानिस।

'यस पटक नफर्काउने गरी काम सुरु गर्‍यौं। हामीसँग आँटबाहेक केही थिएन। यति विश्वासचाहिँ थियो - हरेक कुराको सुरुवात शून्यबाटै हुने हो,’ रामजी सुरुवाती योजनाबारे सुनाए।

पहिलो चरणमा पाँच जना घरविहीनलाई सडकबाट उठाए। उनीहरुलाई घरमा ल्याउँदा त्यो खुशी फर्कियो जुन फोहोरको थुप्रो पछाडि, आकाशे पुलमुनि, मन्दिरका सत्तल वा कसैको सटर बाहिर छुटेको थियो। त्यही उमङ्ग फर्कियो जो वर्षौदेखि एउटा बोराको भरमा घाम, वर्षा, हुरी अनि ठिही सहन्थ्यो। मानिसले हान्ने ढुङ्गा अनि कुकुरको भुकाइ सहन्थ्यो।

त्यस दिन मानव सेवा आश्रमको औपचारिक सुरुवात भयो। भदौ १३ गते रामजी, सुमन र रुपालाई फेरि रातभर निद्रा लागेन। यस पटक चाहिँ खुशीका कारण।

त्यस रात तीनै युवाको मनमा एउटै कुरा खेलेछ - ‘धन्न वनभोजको दिन झरी पर्‍यो। त्यसदिन दिउँसो झमझम् पानी नपरेको भए धेरै कुरा उस्तै रहन्थ्यो।‘

+++

यस अध्यायका महत्वपूर्ण पात्रलाई नचिने कहानी बुझ्न सजिलो हुन्न। यी तिनै पात्रको परिकल्पना छोटो समयमै यथार्थ बन्यो अनि देशव्यापी अभियान पनि।

नाम : रामजी अधिकारी

उमेर : ३२ वर्ष।

स्थायी ठेगाना : गोरखा

हाल : हेटौंडा

उनैले ‘साँचो जीवन अभियान' काठमाडौंबाट सुरु गरे, २०६६ मा। त्यसपछि अर्घाखाँचीमा ९ महिना बिताए। अनि त्यसपछि मकवानपुर जहाँ मानव सेवा आश्रमको जग बस्यो। आश्रम खुलेपछि उनी हेटौंडामा रहे। अनि उनको जीवन भने उस्तै रहेन।

जम्मा २४ वर्षका थिए, आश्रम सुरु गर्दा। व्यवस्थापनमा मास्टर्स गर्दै थिए। गोर्खा, पालुङटारमा बाआमा छोरा रामजीको पढाई र कामलाई लिएर सपना देखिरहेका थिए। सोचेका थिए - छोरा हुर्कियो, अब पढाई पूरा गर्छ अनि बैंकमा जागिर खान्छ। पैसा कमाउँछ, घर बनाउँछ। आदि इत्यादि...।

तर, रामजीका सपनाले बेग्लै पखेटा हाल्यो।

आफ्नो सहज जीवनलाई अझै सहज बनाउनुपर्ने ठानेनन्। त्यसपछि अप्ठ्याराहरुसँग जुँधिरहेकाको जीवनसँग जोडिए उनी।

मानव सेवा आश्रम सुरु गरेको एक वर्षमै सडक आश्रित मानिसहरु थपिए। ठाउँ साँघुरो भयो। पाँच जना राखेको ठाउँमा पैतीसजना कसरी अट्नु?

साँचो जीवन अभियानका लागि नयाँ सदस्यले बुझाउने प्रति व्यक्ति २५० रुपैयाँ बाहेक अन्य स्रोत थिएन। एउटा कोठा थप्नु अघि धेरै सोच्नु पर्थ्यो। धन्न! आश्रमको घर भाडाको जिम्मा हेटौंडा नगरपालिकाले लियो। सामाजिक विकास अधिकृत ध्रुव भुजेलले गजबको पहल गरे त्यसमा।

अब भने उनीहरु केही फराकिलो ठाउँमा सरे। कोठा भाडाको समस्या टर्‍यो। बाँकी समस्यासँग जुँध्दै अघि बढ्नुको विकल्प थिएन। बोरा बोकेर टोलटोल डुले। मुट्ठी दान माग्न थाले।

आश्रममा ल्याइएकाहरु समाजमै रहेर पनि समाजबाट टाढिएकाहरु थिए। उनीहरुको मनोसामाजिक समस्याका कारण उनीहरुलाई सम्हाल्नु सजिलो थिएन। तर, त्यसभन्दा चुनौतिपूर्ण रह्यो मानिसहरुलाई यस्तो सेवाबारे बुझाउनु।

सहयोग माग्न पुग्दा केहीले मुट्ठीको सट्टा माना अनि पाथी नै दान गरे। अनि प्रोत्साहन पनि दिए। केहीले भने उनीहरु दैलोमा पुग्दा कुकुर छाडिदिए। पर्दाले मुख छोपेर अपशब्द बोले। कटाक्ष गरेर सुनाए - 'मागेर होइन गरेर खानु पर्छ। आफैँ कमाएर गर्नु नि समाज सेवा।'

'चुनौती त कति हुन् कति तर हाम्रो समूह ती चुनौती स्वीकारेरै सेवामा लागेको थियो,' रामजी सुरुवाती संघर्ष सम्झिन्छन्, 'हामी विचलित हुनुको अर्थ आश्रित आमाबुबा फेरि सडकमा पुग्नु थियो। त्यसैले नडगमगाइ सेवा गरिरह्यौं।’

आश्रितहरुको सङ्ख्या बढ्दो थियो। सेवामा खट्नेहरु निकै कम। रामजीले त श्रीमती उमा भण्डारीलाई पनि हेटौंडा नै बोलाए। त्यसपछि दुवैको पढाई छुट्यो। लिएको लक्ष्य र पढाईको बाटोको ट्र्याक मिलेन। सर्टिफिकेटकै लागि समय नखर्चने निर्णयमा पुगे उनीहरु।

मानव सेवा आश्रमको खाका कोर्दादेखि सँगै रहेकी अर्की पात्र रुपाको कथा पनि धेरै फरक छैन।

नाम : सुशीला केसी (रुपा)

उमेर : २८ वर्ष

ठेगाना : हेटौंडा

आश्रममा खट्दाखट्दै समाजशास्त्रमा स्नातक तह पूरा गरिन्। समय मिलाउन हम्मेहम्मे पर्ने भएपछि त्यसपछि कतै भर्ना भइनन्।

‘अभियानमा लागेपछि आफैँमा आएका परिवर्तनहरुले दङ्ग तुल्यायो। परिवर्तन सम्भव छ भन्ने कुरामा विश्वास जाग्यो। त्यसपछि पढेर होइन गरेरै समाज परिवर्तनको लागि योगदान पुर्‍याउँछु भन्ने भयो,’ सेवामा लाग्नुको कारण प्रष्ट पारिन्। यसरी समर्पित हुनुमा उनको पृष्ठभूमि नै कारण बन्यो।

रुपालाई याद छ उनी सानै छँदा घरमा भिक्षा माग्ने मानिसहरु आउँथे। उनकी आमा बटुकी भरी चामल, भएको फलफूल, तरकारी नभए पैसा दिएर पठाउँथिन् उनीहरुलाई।

दिन् दु:खीलाई रित्तो हात कहिल्यै पठाउनु हुन्न भनेर सिकाउँथे उनका बुबा। परिवारले जे सिकायो, त्यही सिकिन्। त्यसैको असर हो, २० वर्षको कलिलो उमेरदेखि उनी सेवामा जुटिन्। परिवारको पनि पूर्ण साथ रह्यो।

तर, यतिमै सजिलो कहाँ? साथीभाइ, आफन्त र समाजलाई बुझाउन किन सजिलो हुन्थ्यो? पटकपटक प्रश्न तेर्स्याउँथे -

'अब त विवाह गर्ने उमेर भएन र?',

'पैसा कमाउने, परिवार बनाउने बाटो रोज्नु पर्दैन?'

आफ्नो गोरेटो त उनले करिव ८ वर्षअघिदेखि नै तय गरिसकेकी थिइन्। त्यसैले सहजै जवाफ दिन्छिन् - 'मेरो परिवार बनिसक्यो, निकै ठूलो।'

चौध जिल्लामा सत्र आश्रम। आश्रमको संरक्षणमा हजार सहाराविहीन। संरक्षण र उपचारपछि उनीहरुकै परिवारसँग पुनर्मिलनका घटना पनि सम्झना छ उनलाई। विशाल बनिसकेको छ, रुपाको परिवार।

'यहाँ आइपुगेर बाटो मोड्नु वा पाइला धर्मराउनु भनेको त्यो जिम्मेवारीबाट भाग्नु हो। भाग्नु समस्याको समाधान हुँदै होइन,' उनी दृढ निश्चयी सुनिन्छिन्।

सेवामा खटिएकाहरु एकअर्काको ऊर्जा बनेर काम गरे। अभाव भोगे तर डगमगाएनन्। आरोप सहे तर हिम्मत हारेनन्। आश्रमको भण्डार रित्तँदै जाँदा आश्रित भने थपिँदै गर्थे। त्यसैले सामल जुटाउँदै जाँदा उनीहरुको सपनाको आकार पनि फराकिलो बन्दै गयो। रामजी र सुशीला झै त्यो फराकिलो सपनाको घेरामा अर्को पात्र पनि छन्, सुमन।

नाम : सुमन वर्तौला

उमेर : २७ वर्ष

ठेगाना : हेटौंडा

स्नातक तह भर्खर सुरु गरेका थिए उनले। भविष्यको योजना बनिसकेकै थिएन। त्यसैले अभियानमा जोडिन समय नै लागेन।

प्रश्नहरुको सामना सुमनले पनि नगरेका होइनन्। काम गर्दै जाँदा बुझ्दै गए - हरेक प्रश्नको जवाफ मुखले दिनु पर्दैन।

'सुरुमा अन्यौलता थियो। पछि मेरो रहर स्पष्ट हुँदै गयो। मलाई कतै गएर जागिर खानु छैन। मेरा लागि आश्रम नै सिकाइको सबैभन्दा ठूलो युनिभर्सिटी बन्छ, यहाँ आइपुग्ने मानिसका कथाहरु नै महत्वपूर्ण पाठ बन्छ भन्ने भयो,' सुमनले बुझेको जीवन यही हो, 'र मैले यही बाटो अपनाएँ।'

रामजी, रुपा र सुमन सँगै अरु पनि धेरै भइसके जसलाई केही गुमाउनुको भय छैन। न त केही पाउनुको लोभ नै। तर, धेरैको जिन्दगीमा जिन्दगी ब्युँताउनु छ।

हेटौंडाको एउटा घरको फ्ल्याटमा पाँचवटा म्याट्रेस ओच्छ्याएर सडकमा अलपत्र रहेकाहरुलाई न्यानो बाढ्न थालेका उनीहरुले चितवन, काठमाडौं, ललितपुर हुँदै गोर्खा, लमजुङ, बागलुङ लगायत देशभर १७ वटा आश्रम सञ्चालनमा ल्याइसकेका छन्। यी आश्रममा सडकमा जीवन बिताउन बाध्य भएका/पारिएकालाई उद्धार गरेर ल्याइन्छ। उनीहरुको शारीरिक, मानसिक स्वास्थ्यको परीक्षण गरिन्छ। आवश्यक औषधी, उपचार हुन्छ अनि परामर्श र प्रेम दिइन्छ।

ती आश्रमहरुमा आफैँलाई बिर्सिएर कतै छुटेकाहरु अटाएका छन्। जिन्दगीदेखि विरक्तिएकाहरु पनि छन् अनि जीवनप्रतिको बुझाइलाई बदल्न लागि परेकाहरु पनि।

कोही एक्लै बर्बराइरहेका हुन्छन् यहाँ, कोही रोइरहेका। घर फर्कने आशा मात्रले पनि उज्यालिएकाहरु पनि छन्।

एकोहोरो चुरामा मोती भर्न लागि पर्छन् कोही। फलामे चुरामा पारिएका प्वालहरुमा सुस्तरी सुस्तरी एउटा मोती भरिसक्दा ठूलै जित हात परे सरह खुशी हुन्छन्। खुशीको बहाना पाएका छन् उनीहरुले। कोही धुप बाटिरहेका भेटिन्छन्। उनीहरु ध्यान दिएर धुपमा कपूर मिसाउँछन् र नेपाली कागजमा बटार्छन्।

लाग्छ उनीहरु अभियान्ताहरुको सपनामा रङ भर्न लागि परेका छन्।

(सडकमा आश्रितहरुलाई सुरक्षित जीवनमा लैजाने एउटा सकारात्मक अभियानमा जुटेका यी तीन पात्रसँगै थुप्रै कथा बोकेकाहरु पनि छन्। दोस्रो श्रृङ्खलामा तिनैकथा जोड्ने आश्रम कसरी चलिरहेको छ भन्ने प्रकाशन गर्नेछौं।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell