
जनकपुरधाम : धनुषामा घाँटी थिचेर श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानसहित परिवारका चार जनालाई पक्राउ गरेको छ। माघ १८ गते शनिवार धनुषाको औरही गाउँपालिका वडा नम्बर २ बस्ने २२ बर्षीया चिन्तामणी पासवानको घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा ५५ वर्षीय ससुरा राधाकृष्ण पासवान, ४५ वर्षीया सासु कुमला पासवान, ३० वर्षीय श्रीमान अनिल कुमार पासवान र २० वर्षीया नन्द पुनिता पासवान रहेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए।
माघ १८ गते शनिवार दिउँसो अनिलकी श्रीमती चिन्तामणी र नन्द पुनिताबीच मोबाइलको ‘मेमोरी कार्ड’को विषयमा झगडा भएको थियो। सोहि विषयमा चारै जना मिलेर चिन्तामणीलाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
पछि उनीहरुले अपराध लुकाउन मृतकलाई झुण्डिएको हो भनेर हल्ला खल्ला गरी जिउँदै रहेको भन्दै अटो रिक्सामा राखेर उपचारका लागि प्रादेशिक अस्पतालमा लगे। मृतक चिन्तामणीलाई अस्पतालमै राखेर उनीहरु फरार भए। घटनाको सम्बन्धमा प्रहरीलाई जानकारी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले खोजतलास गर्ने क्रममा सासु कुमला र नन्द पुनितालाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित पेठिया बजारबाट आइतवार साँझ ५ बजे पक्राउ गरेका थियो।
त्यस्तै राधाकृष्ण पासवान र अनिल कुमार पासवानलाई सोमवार बिहान ६ बजे धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ स्थित बलहा टोलमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।
पक्राउ परेका चारै जनालाई प्रहरी हिरासतमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत उनले बताए।