PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

झिम्के मामा अर्थात् जातीय विभेदको विम्बात्मक विद्रोह



स्वेच्छा राउत

झिम्के मामा अर्थात् जातीय विभेदको विम्बात्मक विद्रोह

झिम्केले अनिँदो रात कटाउन बजाएको बाँसुरीले गाउँलेलाई खुब ब्युँझाएको हुन्छ।

दसैं भर्खर सकिएको समय। देउराली गाउँको साझा चौतारीमा एउटा जमात त्यही कुरामा मस्त छ। कसैले भन्छन् - 'हैन त्यो झिम्के रातभर सुत्दैन कि क्या हो, बाँसुरी बजाएको बजाइ थियो त?'

बाँसुरीमा बज्ने विरह र रातभर अनिँदो रहनुको कारण कसलाई के मतलव? झिम्केले आफूसँगै गाउँलेको पनि निद्रा बिगार्‍यो। त्योपनि ६ महिना अघि मरेका 'लाटो'को सम्झनामा बाँसुरी फुकेर।

गाउँकै एक बुद्धिजीवीले व्यङ्ग्यात्मक लवजमा भने - 'लाटो मर्दा झिम्केले नौटङ्की देखायो। बाउआमा मर्दाभन्दा बढी रोयो। लास बोक्यो, चिता बनायो।'

मतलब झिम्केको संवेदना गाउँलेका लागि नौटङ्की सरह बन्यो।

उसो त गाउँका कसैसँग पनि उसको नजिकको सम्बन्ध छैन। उ त एक्लिएर हिँड्दै डुल्दै त्यस गाउँमा पुगेको हो। 

सम्बन्ध नभएर के भो त? झिम्केले नै हो लाटोको शव कमेरोको ढिस्कोबाट निकालेको। त्यो पनि ६ घण्टा लगाएर। गाउँले प्रत्यक्षदर्शी हुन्, लाटो पुरिएको ठाउँदेखि घाटसम्म उसले गरेको मिहेनतको। उसको मेहनतमा सबैले ओहो भने तर उसको आँखाबाट झरेको आँशुमा भने कसैलाई विश्वास छैन।

झिम्केको पहलमा त हो नि देउरालीमा बाटो बनेको, पुल बनेको र दैनिकी सहज भएको। चार घण्टा लगाएर ओसार्नुपर्ने पानी अब त घरघरै आउँछ। झिम्केले गाउँ सुधारौं समिति गठन गरेको छ। समितिले गाउँलेलाई एक बनाएर हो, चौतारीमा मन्दिर बनेको। घाम ताप्दै गफ गर्न बस्ने ठाउँ बनेको। 

त्यही चौतारीमा बसेर बुढापाका गाउँमा भएको परिवर्तनका ठूलाठूला कुरा गर्छन्। झिम्के त्यस गाउँमा आएपछि भएको सामाजिक विकासको उनीहरु तारिफ गर्छन्। अनि गाउँका युवा विदेशिनु र शहरमा बसाईँ सर्नुको दु:खेसो पनि त्यही चौतारोमा पोख्छन्।

गाउँका युवा पलायन हुनुअनि कुनै बिरानो ठाउँको ठिटो आएर गाउँको विकासमा लागि पर्नु – कति विरोधाभाष!

दसैं मनाउन गाउँमा आएका युवाले त्यहाँ बस्नुको औचित्यबारे प्रश्न उठाइरहँदा त्यहीँ बसेर गाउँलेको सेवामा खटिएको झिम्केको चर्चा परिचर्चाबाट सुरु हुन्छ नाटक 'झिम्के मामा'।

नाटकमा पात्रहरुको संवादमार्फत् 'झिम्के' पात्रलाई स्थापित गरिएको छ। उसको परिचय, गुण, अवगुण आदिबारे जानकार भइसक्दा दर्शकले उसको नाममात्र सुन्छन्।

तर, जब उ देखिन्छ, उसले गर्ने कामहरु केन्द्रमा रहन्छ। लाग्छ उसको उपस्थिति हरेक उमेर, जात, लिङ्ग, धर्मका मानिसको लागि वरदान सरह बनेको छ। उ बाटो खन्नेदेखि छानो छाउनेसम्मको कामका लागि कसैलाई 'नाइँ' भन्दैन। 

झिम्के पात्रलाई केन्द्रमा राखेर भनिएको समकालीन नेपाली समाजको कथा हो यो नाटक। त्यो समाज जहाँ आजपनि जातीय विभेद उत्तिकै छ। अन्धविश्वासले मानिसलाई मानिसबाट कसरी छुट्याउँछ, नाटकले तिनै सामाजिक संरचनाको कथा भन्छ। नमेटिएको कुरिती र साँघुरा सोचको चपेटामा परेका कथित दलितका कथा बोल्छ।

दलित अर्थात् झिम्केहरु जो सामाजिक दमन सहन नसकेकै कारण मृत्युको बाटो रोज्छन्। अन्तत: गाउँलेको मृत्युमा लास उठाउनेदेखि चिता मिलाउनेसम्म काम गरेको झिम्केको लास नै अलपत्र हुन्छ।

उ जातले सार्की भएका कारण उसका सत्कर्म विलिन हुन पुग्छन्।

प्रदीपकुमार चौधरीको निर्देशनमा बनेको 'झिम्के मामा'मा विम्बहरु सशक्त लाग्छ। नाटकमा माथिल्लो जातका मानिस भलाकुसारी गर्दैगर्दा चौतारोको माथिल्लो भागमा बस्छन्। त्यहाँ उनीहरु गाउँ समाजको विकास र परिवर्तनको कुरा गर्छन्।

उनीहरुका लागि सामाजिक परिवर्तन भनेकै आँगनमा धारो आउनु र खोला तर्न पुल बन्नु हो। उनीहरुका लागि जातीय विभेद परम्परा हो। छुतअछुत बार्नु धर्म अनि अन्धविश्वासविरुद्ध बोल्नु पाप।

नेपाली समाजमा विद्यमान जातीय र वर्गीय विभेदको संकेत हो माथिल्लो जात भनिनेहरु माथिल्लो तहमै बसेर छलफल गर्नु अनि कथित् तल्लो जातको झिम्केहरु प्रत्येक चोटी उनीहरु बसेभन्दा ठीक तल्लो तहबाट मञ्चमा छिर्नु। 

विभेद स्थापित समाजको क्रुर चरित्रलाई ढुङ्गामा टेकेर ढुङ्गा नै बोक्न लगाउने दृश्यमार्फत् देखाएका छन् निर्देशकले। अन्तरजातीय प्रेम सम्बन्धमा रहनुकै कारण दुई पात्रलाई सजाय दिइएको हुन्छ। लाग्छ उनीहरुले टेकेको ढुङ्गा समाज हो अनि उनीहरुले बोकेको ढुङ्गा समाजले बोकाएको अपमानको भारी। 

त्यस्तै विम्बात्मक अर्थ राख्छन् नाटकमा प्रयोग भएका धुनहरुले। बाँसुरी र त्यसको आवाज झिम्केको पहिचान हो। उ बाँसुरी बोकेरै हिँड्छ। नाटकको सुरुवात त्यही बाँसुरीको धुनबाट हुन्छ जुन निकै पीडादायी सुनिन्छ, झिम्केको अनुभूतिजस्तै। त्यो धुन उसको आवाज हो। उसले लुकाएर राखेको यथार्थको आवाज।

त्यस्तै शङ्खको आवाजले उपल्लो जातिलाई संकेत गर्छ, जुन निकै चर्को सुनिन्छ। त्यही आवाजले गाउँलेलाई असर गर्दैन जसरी बाँसुरीको धुनले धेरैको निद्रा बिथोलिदिएको हुन्छ।

त्यस्तै आवाज मन्दिरको घण्टीको पनि। त्यही घण्टी जसलाई झिम्केले बनायो अनि सारा गाउँलेले बजाए। झिम्के बस्नेत हो भन्ने विश्वास रहँदासम्म त्यो घण्टी पण्डितको हातबाट देउताका लागि बज्यो। जब उ सार्की प्रमाणित भयो, तब घण्टीले विद्रोहको कर्कश आवाज निकाल्यो। त्योपनि झिम्के स्वयंको हातबाट। जब घण्टी बनाउने झिम्केको प्राण जान्छ तब घण्टी पनि भत्कन्छ। लाग्छ, त्यो घण्टी विभेदविरुद्ध उभिएको थियो, चौताराको मन्दिरसँगै। 

अनि अर्को एउटा ‘मीठो धुन’ पञ्चे बाजाको। जुन धुनले झिम्केलाई ‘नोस्टाल्जिक’ बनाउँछ। नाटक अघि बढेपछि मात्र दर्शकले थाहा पाउँछन्- बाजाको ती धुनसँग उसको याद जोडिएको सन्दर्भ अनि सम्बन्ध जोडिएको कुरा। ती बाजा जसलाई दलितले बजाउँछन्, जसले बजाएको धुन शुभ कार्यमा चल्छ तर बजाउनेको जात चाहिँ चल्दैन।

नाटकको सेटमा आकर्षक देखिन्छ कलकल आवाजसहित बगिरहेको धारा। झिम्केको पहलमा बनेको धारा हो त्यो। सुरुवातमा त लाग्छ झिम्के त्यो पानीजस्तै स्वतन्त्र छ। गाउँलेले उसलाई गर्ने माया त्यही पानीजस्तै निश्चल छ। नाटक सुरु हुनुअघि उद्घोष गर्दै विजय बरालले भनेका थिए- त्यो धारा हेर्नुस्। त्यसबाट निस्किरहेको आवाज सुन्नुस्। नाटक अवधिभर ध्यान गर्नुस्।

तर, नाटक सकिनुअघि दर्शकले गरिरहेको ‘ध्यान’ भङ्ग हुन्छ। जब गाउँका पण्डितले धारा बनाउने झिम्के सार्की भएको थाहा पाउँछ अनि त्यो धारा झ्याप्पै बन्द हुन्छ। अर्थात्, झिम्केको अस्तित्व बाँकी रहँदैन किनकि उ दलित भएको खुल्छ। 

अस्तित्व स्वीकार्य हुन्छ उसको ‘भइपरी आएको भिनाजु’ टिकारामलाई। उसले झिम्केको टोपी लगाउँदा लाग्छ अब उ जातीय विभेदलाई परम्परा मान्ने पक्षमा छैन। उसले झिम्केको बाँसुरी छातीमा टाँस्छ अनि पुन: उसैको लासमाथि राखिदिन्छ। लाग्छ- टिकारामले झिम्केको याद हृदयमा सार्‍यो। अनि उसको पहिचान उसैलाई फिर्ता गर्‍यो।

अन्तत: टिकाराम केही अग्लो तहमा उभिन्छ, लास राखिएको खोल्चोभन्दा माथि। यसपटक जातीय दम्भ बोकेर होइन, झिम्केको मृत्यको संकेत दिन। उसले त्यहाँ उभिएर शङ्ख फुक्छ, यसपटक कुनै देउता आराधनाका लागि होइन। बरु गाउँका लागि देवसरह प्रकट भएको झिम्केको मृत्युको खबर दिन। 

यसरी बाँसुरीको धुनबाट सुरु भएको नाटक त्यही धुनमा पुगेर टुंगिन्छ। धुनको भाव केही भिन्न भने लाग्दैन। उस्तै निराश अनि पीडा झल्कने। सायद, बाँसुरीको धुनले झिम्के पात्रको मनोसामाजिक अवस्थासँगै हाम्रो समाजमा जातीय विभेदको अवस्था पनि चित्रण गर्छ जुन वर्षौदेखि उस्तै छ।

‘झिम्के मामाले’ हँसाइ हँसाइ गम्भीर सामाजिक यथार्थ चित्रण गर्छ।

प्रजातन्त्रको पुनर्स्थापनापछि नै दलितको पक्षमा कानुनहरुबने। दश वर्ष लामो माओवादी जनयुद्धले पनि जातीय अनि वर्गीय विभेदको जरा हल्लायो। सविधानले सामाजिक न्याय र समानुपातिक समावेशीकरणको सिद्धान्तका आधारमा दलितका पक्षमा अधिकार दियो।

तर, कानून र प्रावधानभन्दा पर छ विभेदको जरा। जसलाई उखेल्न चेतनाको विकास टड्कारो छ।त्यही चेतना घच्घचाउने प्रयास हो यो नाटक।

दुर्गाप्रसाद पाण्डेको कथालाई जिवन्त बनाएका छन् कलाकारहरुले। भलै नाटकको नाम पुष्टि गर्न उपस्थित गराइएझैं लाग्छ बालकलाकार।

प्रदीपकुमार चौधरीले नाटक निर्देशनलाई आफ्नो रङ्गमञ्चीय परीक्षा मानेका छन्। यस नाटक उनको तेस्रो परीक्षा हो जसलाई उत्तीर्ण गर्न चौधरीले भरपुर तयारी गरेको देखिन्छ। मञ्चमार्फत (अ)सामाजिक संरचना भत्काउने उनको प्रयत्न तारिफयोग्य छ।

नाटकको अन्त्यमा पात्रहरु लासको वरपर देखिन्छन्। के ती पात्रहरुले झिम्केको पहिचानलाई स्वीकारेका हुन्? के ती पात्रले अब जातका आधारमा विभेद गर्ने छैनन्? दर्शकको मनमा प्रश्न उठ्न सक्छ। 

एउटा झिम्केको मृत्युमा दु:खी हुने या उसको मृत्युपछि स्वीकारिएका हजार झिम्केहरुका लागि खुशी हुने? निर्देशकले सन्देश नलादी त्यसपछिका दृश्य कल्पने ठाउँ छाडिदिएका छन्।

फेरि त्यो धारामा पानी बग्छ कि बग्दैन होला?

टिकारामले लगाएको झिम्केको टोपीले अन्धविश्वासको लाज छोप्छ कि छोप्दैन होला?

विभेदको पुल बीचमा उभिएको पण्डित पारी जाला कि वारी आउँला?

अब बज्ने बाँसुरीले विरह बोल्न छोड्ला कि नछोड्ला?

वर्षौदेखि जातीय विभेदविरुद्ध लेखिने गीत, कथा, कविता, नाटक वा कलाका कुनैपनि विधाले उठाउँदै आएका यस्ता तमाम प्रश्नको जवाफ आगामी दिनमा चल्ने सिर्जनात्मक कलमले नै दिनेछन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell