PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

प्रदेश २ को वर्षिकोत्सवमा भित्र खुसियाली, बाहिर आन्दोलन, 'हमर किड्नी ले लिय, हमर लिभर ले लिय'



सुमित मिश्र

प्रदेश २ को वर्षिकोत्सवमा भित्र खुसियाली, बाहिर आन्दोलन, 'हमर किड्नी ले लिय, हमर लिभर ले लिय'

जनकपुरधाम : प्रदेशसभाको प्राङ्गणमा मंगलवार दिउँसो खुसियाली र धुमधामका साथ वर्षिकोत्सव मनाइँदै थियो। मुख्यमन्त्री, मन्त्री, सभामुख एवं सांसदहरु खुसियाली साटासाटमा व्यस्त। 

नयाँ–नयाँ थरीथरीका लुगामा सबै सजिएका थिए। तर, प्रदेशसभाको मुल गेटमै भित्रभन्दा पृथक दृश्य थियो। सबै आक्रोशित देखिन्थे। उनीहरुले असक्षम सरकार, निकम्मा मन्त्री राजीनामा दे, हम्मर किड्नी लेलिय, उपभोक्ताके भुक्तानी देदिय लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदेश सरकारका मन्त्रीहरुबिरुद्ध नारावाजी गर्दै धर्ना दिइरहेका थिए। उनीहरु थिए - प्रदेश सरकारका संसदीय विकास कोषमार्फत विभिन्न विकासे काम गरेका उपभोक्ता समितिका पदाधिकारीहरु।

पछिल्लो आर्थिक वर्षमा सम्पन्न योजनाहरुको भुक्तानी सरकारले हालसम्म नगरेको भन्दै प्रदेश २ को प्रदेशसभाले दोस्रो वार्षिकोत्सव मनाइरहँदा उपभोक्ता समितिका पदाधिकारीहरुले प्रदेशसभा गेट बाहिर धर्ना दिएका हुन्।

सरकारसँग भएको सम्झौताअनुसार आफूहरुले निर्माण काम गरे पनि हालसम्म भुक्तानी नपाएको भन्दै उपभोक्ताहरु सरकारविरुद्ध आन्दोलन गर्दै आइरहेका छन्। आफुहरुले गरेको कामको भुक्तानी गर्न नसक्ने मुख्यमन्त्री तथा मन्त्रीहरुले राजीनामा दिनुपर्ने उनीहरुले माग गरेका हुन्।

सरकारले बक्यौता रकम भुक्तानी नगरेपछि आफूहरु ठूलो समस्यामा परेको उपभोक्ता संघर्ष समितिका रोशनसिंह राणाले बताए। भुक्तानीको सम्बन्धमा मुख्यमन्त्रीदेखि सम्बन्धित मन्त्रीहरुले पटक पटक आश्वासनमात्र दिने गरेको आरोप उनले लगाए। राणाले भने, ‘उपभोक्ताहरुको भुक्तानी गर्न नसक्नेहरुलाई सरकारमा बस्ने नैतिक अधिकार छैन् ।’ उनीहरुले भुक्तानीको माग गर्दै यसअघि भौतिक पूर्वाधार कार्यालयमा तालाबन्दी गर्नुका साथै केहि मन्त्रीहरुको तस्वीरमा जुत्ता समेत प्रहार गरेर विरोधका बिभिन्न कार्यक्रमहरु गर्दै आएका छन्।

गत आर्थिक वर्षमा सम्पन्न भएका ८ सय ४२ योजनाहरु मध्ये उपभोक्ताहरुको ८६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell