PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

'मुटु नभएका' सम्पादकहरुलाई रिझाउन बालुवाटारमा सारंगी साँझ : प्रधानमन्त्री ओलीले बजाए बाँसुरी, खनाल नेपालले रेटे सारंगी



'मुटु नभएका' सम्पादकहरुलाई रिझाउन बालुवाटारमा सारंगी साँझ : प्रधानमन्त्री ओलीले बजाए बाँसुरी, खनाल नेपालले रेटे सारंगी
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ नेपाल कम्युनिस्ट पार्टीका नेताहरु, सरकारका मन्त्रीहरु र केही सम्पादकहरु संगीतमा झुमे।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, दुई वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालले सारंगी रेटे।

प्रधानमन्त्री ओलीले भने बाँसुरी पनि बजाउन भ्याए।

प्रधानमन्त्री ओलीकै इच्छामा मदन भण्डारी कला प्रतिष्ठानले आयोजना गरेको थियो सारंगी साँझ। साँझमा ओली, खनाल, नेपालसहित नेकपाका सचिवालय सदस्य, सरकारका मन्त्री, नेकपाका केही स्थायी कमिटी सदस्य र केही मिडियाका सम्पादक सहभागी थिए।

सारँगी साँझमा नेकपाका अर्का अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्ड भने देखिएनन्। उनी निर्धारित कार्यक्रम अनुसार पोखरा पुगेका थिए। करिब डेढ घण्टासम्म चलेको कार्यक्रममा प्रधानमन्त्री ओलीले बाँसुरी बजाइरहेको र सचिवालय सदस्य तथा वरिष्ठनेताद्वय खनाल र नेपालले सारंगी रेटिरहेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइसकेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कार्यक्रम सञ्चालकले बलुवाटारमा सारंगी बजाएको तस्विर स्मरण गर्दै सारंगी बजाउन आग्रह गरेका थिए।  उनका अनुसार पहिले सारंगी बजाएका प्रधानमन्त्री ओलीले पछि बाँसुरी बजाएका थिए। साँरंगी साँझमा पूर्वको पालकदेखि देउडासम्मको १२ मौलिक धुन बजाइएको थियो। प्रधानमन्त्री ओलीले कला साहित्यमा दिलचश्पी राख्ने भएकाले पनि कार्यक्रम आयोजना गरिएको थापाको भनाई छ।

कार्यक्रमपछि सांगीतिक माहोलसहित  भोज पनि खुवाइएको थियो। वरिष्ठ नेता खनालले आजको साँझ बालुवाटारमा रमाइलो माहोलको सिर्जना भएको बताए।  खनालले भने, 'करिब २ घण्टा कार्यक्रम भयो। प्रधानमन्त्रीले बाँसुरी बजाउनुभयो हामीले सारंगी। कार्यक्रमलाई भेटघाट, खानपिनसहित रमाइलोको रुपमामात्र लिइएको खनालको भनाई थियो। प्रधानमन्त्री ओलीले आइतवार केन्द्रीय कमिटी बैठकपछि सांसद, मन्त्री, केन्द्रीय सदस्यलाई रात्री भोजको आयोजना गरेका थिए।

राष्ट्रिय मिडियाका सम्पादकहरुको डाकिएको भनिएको बैठकमा ओलीले आफूसँग नरिसाउनसमेत आग्रह गरेका थिए। केही समयअघि प्रधानमन्त्री ओलीले मुटु भएका सम्पादकहरु नभएको प्रतिक्रिया दिएका थिए। त्यसपछि खरो प्रतिकारमा सम्पादकहरु उत्रिएपछि उनीहरुलाई रिझाउन ओलीले सारंगी साँझ आयोजना गरिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell