PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

साकार हुँदै मोदीको सपना : अयोध्यामा बन्ने भयो राम मन्दिर



साकार हुँदै मोदीको सपना : अयोध्यामा बन्ने भयो राम मन्दिर
फोटो : Reuters/IndiaToday

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्यामा बाबरी मस्जिद रहेको स्थानमा राम मन्दिर बनाउने पक्षमा थिए। रामको जन्म भएको स्थानमा  रहेको मस्जिद हटाएर मन्दिर नै बनाउनुपर्ने अडान उनको पार्टी भारतीय जनता पार्टीले गर्दै आएको थियो। 

मस्जिद हटाएर मन्दिर बनाउने विषयमा लामो समयदेखिको विवाद गत नोभेम्बर ९ मा सर्वोच्च अदालतको फैसलासँगै समाधान भयो। अदालतले विवादित क्षेत्रमा राम मन्दिर नै बनाउन बाटो खुल्ला गरेपछि मोदीको अयोध्यामा राम मन्दिर बनाउने सपना पूरा हुन लागेको हो। 

बुधवार लोकसभामा सम्बोधन गर्दै मोदीले अयोध्यामा राम मन्दिर बनाउनका लागि स्वतन्‍त्र ट्रस्टको स्थापना गरेको घोषणा गरेका छन्। उनले 'श्री राम जन्मभूमी तीर्थ क्षेत्र' नाम दिइएको ट्रस्ट स्थापना गरेको घोषणा गरेका हुन्।

मोदीले ट्रस्टको स्थापना भएको घोषणा गरिरहँदा भारतीय जनता पार्टीका सांसदहरुले सदनमा नै 'जय श्री राम' भन्दै नारा लगाएका थिए।

 

अदालतले मन्दिर स्थापनासँगै मस्जिद बनाउन स्थान दिन समेत केन्द्र सरकारलाई निर्देशन दिएको थियो। उत्तर प्रदेश सरकारले मस्जिद निर्माणका लागि पाँच स्थान छनौट गरिसकेको छ। उपयुक्त स्थानमा छिट्टै मस्जिद बनाउने प्रक्रिया शुरु गर्ने तयारी भारत सरकारले गरिरहेको छ। 

सन् १९९२ मा मस्जिद भत्काइएको एक दशकपछि यसअघि सन् २००२ मा उक्त विवाद इलाहाबाद उच्च न्यायालमा दर्ता भएको थियो। इलाहाबाद अदालतले सेप्टेम्बर २०१० मा फैसला गर्दै विवादित २.७७ एकड जमिनलाई बराबर तीन भागमा बाँड्न आदेश दिएको थियो। अदालतले उक्त जग्गाको तीन भागको एक भाग मुस्लिम समुदाय, अर्को भाग हिन्दू समुदाय र अर्को चाहिँ निर्मोही अखडालाई दिनुपर्ने आदेश दिएको थियो।

तर सर्वोच्च अदालतले भने त्यस फैसलालाई पुनरावलोकन गर्दै विवादित ठाउँमा मन्दिर बनाउनु पर्ने र मस्जिदका लागि छुट्टै ठाउँको व्यवस्था गर्नु पर्ने फैसला गरेपछि मोदीले ट्रस्ट स्थापनाको घोषणा गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell