PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

प्रदेश सभालाई ‘पेपरलेस’ बनाउने उद्देश्यका साथ सांसदलाई ल्यापटप



सुमित मिश्र

प्रदेश सभालाई ‘पेपरलेस’ बनाउने उद्देश्यका साथ सांसदलाई ल्यापटप

जनकपुरधाम : प्रदेश नम्बर २ का प्रदेश सांसदहरुले ल्यापटप पाउने भएका छन्। प्रदेश सभालाई कागज र कलमरहित बनाउने उद्देश्यले अब सांसदहरुलाई ल्यापटप दिने भएको हो।

प्रदेश सभालाई ‘पेपरलेस’ बनाउने मुल उद्देश्यका साथ प्रदेश सभा सचिवालयले सबै प्रदेश सभा सदस्यहरुलाई ल्यापटप प्रदान गर्ने भएको हो ।

प्रदेश २ का सभामुख सरोज कुमार यादवले प्रदेश सभालाई पेपरलेस बनाउने अभियानका लागि प्रदेश सभामा ल्यापटप आइसकेको र अब केही दिनभित्रै सबैलाई वितरण गरिने जानकारी दिए। प्रदेश सभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन सबै सांसदलाई ल्यापटप दिन लागिएको यादवले बताए।

‘एउटा विधेयक किताव जस्तो हुन्छ। कम्तीमा १ सय ५० प्रति फोटोकपी गर्नुपर्छ,’ सभामुख यादवले भने, ‘कागज, मसी र प्रिन्टर गरी वर्षको ५ करोड खर्च भइरहेकोले यसको विकल्पमा ल्यापटप वितरण गर्न लागेको स्पष्ट पारे। त्यो खर्चलाई रोक्न पनि ल्यापटप दिन लागेका छौँ।’

सभामुख यादवका अनुसार अब सरकारको खर्चको बचत हुने र सबै सांसदले विधेयकमाथि लागेको कुरादेखि संशोधनसम्म ल्यापटपमै लेखेर सिधै इमेल गर्नेछन्। कुनै पनि विधेयक कागजी रुपमा अध्ययन गर्दै आएका प्रदेश २ का सांसदले अब ल्यापटपमै अध्ययन गर्ने भएका छन्।

कागज, मसीको खर्चका साथै समयको बचत पनि गर्ने उद्देश्यले ल्यापटप वितरण गर्न लागिएको उनले बताए। 

ल्यापटप चलाउन नजान्ने सांसदलाई स्वकीय सचिवले चलाउन सिकाउने

प्रदेश २ मा १०७ जना सांसद छन्। जसमध्ये अधिकांसलाई ल्यापटप चलाउन आउँदैन्। यद्यपि सभामुख यादवले ल्यापटप चलाउन नजान्ने सांसदलाइ उनको स्वकीय सचिवले चलाउन सिकाउने बताए।

‘सबै जना माननीयलाई अधिकृतस्तरको स्वकीय सचिव दिइएको छ। उनीहरुले अब माननीयलाई ल्यापटप चलाउन सिकाउने छन्’, सभामुख यादवले भने।

सभामुख यादवले अघिल्लो वर्ष नै ल्यापटप बाँड्न खोजिए पनि विभिन्न बाधा र अवरोधका कारण वितरण गर्न नसकिएको बताए। यादवले प्रदेश सभा दोस्रो वर्ष पूरा गरेकोले वार्षिक उतस्वको अवसरमा सबै सांसदलाई ल्यापटप दिइने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell