PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

निफमा बलिउड निर्देशक प्रकाश झाको मास्टर क्लास



निफमा बलिउड निर्देशक प्रकाश झाको मास्टर क्लास

काठमाडौं : फागुन १ गतेदेखि आयोजना हुन लागेको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को लागि बलिउड निर्देशक प्रकाश झा नेपाल आउने भएका छन्।

मुख्य निर्णायकको रुपमा नेपाल आउन लागेका झाले उक्त महोत्सवमा 'मास्टर क्लास' पनि दिने भएका छन्। उनले फागुन ३ गते शनिबार फिल्म निर्देशन सम्बन्धी आफ्नो अनुभव सुनाउने कार्यक्रम रहेको निफले जनाएको छ।

सात सातवटा राष्ट्रिय अवार्ड विजेता लेखक, निर्माता, निर्देशक झा सामाजिक/राजनीतिक फिल्म बनाउन माहिर मानिन्छन्। हाल केरलामा नयाँ फिल्मको सुटिङ गरिरहेका झा त्यतैबाट नेपाल आउन लागेका हुन्।

उनले निर्देशन गरेका ‘दामुल’, ‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’ लगायतका फिल्महरु समीक्षात्मक तथा व्यवसायिक दुवै हिसाबले अब्बल मानिन्छन्।

फागुनको १ गतेदेखि ५ गतेसम्म काठमाडौंको सभागृह, सर्वनाम थिएटर तथा पर्यटन बोर्डको हलमा सञ्चालन हुने फेस्टिभलमा प्रकाश झासँगै हलिउड निर्माता, लेखकले पनि फिल्मसम्बन्धी कार्यशाला दिनेछन्।

५ दिनसम्म चल्ने फेस्टिभलमा नीर शाह निर्देशित फिल्म 'बासुदेव' देखाइनेछ।  फिल्मपछि नीर शाहसँगै लेखक धु्रवचन्द्र गौतम, हरिहर शर्मा र सोफिया उपाध्यायबीच छलफल हुने आयोजकले जनाएको छ।

फेस्टिभलमा फिल्म प्रदर्शन र छलफल समानान्तर रुपमा चल्नेछन्। नेपाली फिल्मको रचनात्मक विकासको उद्देश्यसहित हुन लागेको फेस्टिभलमा ८० फिल्म प्रदर्शन हुनेछन्।

जसमा १० अन्तर्राष्ट्रिय फिचर फिल्म, ३५ सर्ट फिल्म, ५ नेपाली फिचर फिल्म, १५ नेपाली सर्ट फिल्म, ८ डकुमेन्ट्री र ६ एनिमेटेड फिल्म रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell