PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बिहानै 'राँगालाई जुत्ता' र 'रहस्य'माथि अन्तर्क्रिया



बिहानै 'राँगालाई जुत्ता' र 'रहस्य'माथि अन्तर्क्रिया

ललितपुर : बिहीवार बिहानै साहित्यकारहरु दुई साहित्यिक कृति माथि अन्तर्क्रियामा भेला भए। ललितपुरको बखुन्डोलस्थित क्वीन्स क्याफेमा भेला भएका उनीहरुका अगाडि थियो विजयराज आचार्यको लघुकथा संग्रह ‘राँगालाई जुत्ता’ शान्ति सापकोटाको छन्द कविता संग्रह ‘रहस्य’।

दुई किताब सबैले एकैसाथ विमोचन गरे र शुरु भयो समीक्षा र अन्तर्क्रिया। प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकूलपति केके कर्माचार्यले दुई कृतिको कभर स्केचबारे आफ्नो धारणा राखे। 

साहित्यकार रामप्रसाद ज्ञवालीले आचार्यको लघुकथा संग्रह ‘राँगालाई जुत्ता’को बारेमा समालोचना गरे।

‘राँगालाई जुत्ता’ लघु कथा संग्रहमा राँगाका प्रवृत्तिसँग मिल्ने कथाहरु भएको उल्लेख गरे। उनले कथाहरु विडम्बना, जटिलता, समस्या र पछौटेपनप्रति व्यङ्ग्यले भरिएको पाइएको बताए। बाल साहित्य, अनुवादलगायत विभिन्न विधामा ८० भन्दा बढी किताब प्रकाशित गरिसकेका आचार्यको यो पहिलो लघुकथा संग्रह हो।

कार्यक्रममा कवि प्रभा भट्टराईले सापकोटाको छन्दकविता संग्रह ‘रहस्य’ को बारेमा समालोचना गरेकी थिइन्।  उनले‘रहस्य’ छन्द कवितासंग्रहमा सामाजिक विकृति र विसंगतीका विरुद्ध नारी आवाज भएको बताइन्। संग्रहमा रोचक र स्वादिला कविता भएको उनको भनाई थियो। बाल साहित्य र कवितामा कलम चलाउँदै आएको सापकोटाको यो नवौं कृति हो।

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको सभापतित्वमा भएको कार्यक्रम साहित्यकारहरु रामकुमार पाँडे, तारानिधि भट्टराई, गंगादेवी कसजु, इन्दिरा दली, मञ्जु ज्ञवाली, सिर्जना शर्मा, प्रभा बराल, डिल्लीरमण सुवेदी, श्रीराम राई, कलाकार एकाराम सिं लगायतका साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell