PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

सशस्त्र प्रहरी धनुषाले गर्‍यो तीन करोड भन्दा बढी राजस्व संकलन



सुमित मिश्र

सशस्त्र प्रहरी धनुषाले गर्‍यो तीन करोड भन्दा बढी राजस्व संकलन

जनकपुरधाम : सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गण धनुषाले तीन करोड भन्दा बढी राजस्व संकलन गरेको छ। साउनदेखि माघ २० गते सम्म ३ करोड १९ लाख ४४ हजार ७ सय ५६ रुपैयाँ राजस्व संकलन गरी जनकपुर भन्सार कार्यालयलाई बुझाइएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।

चालु आर्थिक वर्षमा गएको वर्ष भन्दा तीन गुणाको हराहारीमा बढी राजस्व संकलन भएको सशस्त्र प्रहरी धनुषाको तथ्यांकले देखाएको छ। गत आवमा कार्यालयले १ करोड ७९ लाख ३ हजार ८ सय ४९ रुपैयाँ राजस्व संकलन गरेको थियो। तर, चालु वर्षमा प्रहरी उपरीक्षक राजेश उप्रेतीको नेतृत्वमा दोस्रो चौमासिकको माघ २० गते सम्म मात्रै तीन करोड बढी राजस्व संकलन भएको हो।

प्रहरीले चालु आवको साउन मसान्तमा उल्लेख्य राजस्व संकलन गरेको हो। प्रहरी उपरीक्षक उप्रेतीका अनुसार साउन मसान्तमा ७१ लाख ४१ हजार ३ सय ६० रुपैयाँ, भदौमा २३ लाख ८१ हजार ५ सय २१, आश्विनमा ४१ लाख २१ हजार ५ सय ११, कात्तिकमा सबै भन्दा बढी ७६ लाख ९९ हजार ८ सय ३८, मंसिरमा ४४ लाख १७ हजार ४ सय ४१ र पुसमा २४ लाख ३१ हजार ८ सय ५ रुपैयाँ संकलन गरिएको छ।

त्यस्तै, प्रहरीले हालसम्म ५८ केजी २ सय ग्राम चाँदी, १ सय २६ ग्राम सुन, बाघको छाला एक थान, हतियार दुई थान, ५ थान चारपाङ्ग्रे सवारी, ४७ थान मोटरसाइकल र १५ थान साइकल बरामद गरेको छ। सशस्त्र प्रहरीले शान्ति सुरक्षासँगै लागुऔषध गाँजा फडानी र सरसफाइका कार्यक्रममा पनि सक्रियता देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell