PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

सार्वजनिक कार्यक्रममै मेयर लाल किशोर साहको राजीनामा माग



सुमित मिश्र

सार्वजनिक कार्यक्रममै मेयर लाल किशोर साहको राजीनामा माग

जनकपुरधाम : एक सार्वजनिक कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साहको राजीनामा माग गरिएको छ। सडक विस्तारका नाममा महानगरपालिकाले पक्षपाती ढंगबाट निजी जग्गा अतिक्रमण गरेको भन्दै प्रमुख साहको राजीनामा माग गरिएको हो।

बिहीवार सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगद्वारा जनकपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा युवा अभियन्ता सुशिल कर्णले प्रमुख साहको राजीनामा माग गरेका हुन्। जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमणको प्रसंगमा बोल्दै कर्णले सडक विस्तारको नाममा जनकपुरधाम उपमहानगरपालिकाकाले आर्थिक चलखेल गरी व्यक्तिको जग्गा बचाउन मन्दिरकै जग्गा अतिक्रमण गरेको आरोप लगाए। कर्णले पटकपटक नापी हुँदा मन्दिरको जग्गा अतिक्रमण भएको प्रष्ट भइसक्दा पनि स्थानीय प्रशासनले त्यो प्रतिवेदनलाई कार्यान्वयन गर्न नसक्दा रकमको चलखेल भएको आरोप प्रमाणित भएको बताए।

त्यस्तै कार्यक्रममा बोल्दै समाजवादी पार्टीका नेता महाशंकर ठाकुरले जानकी मन्दिर जग्गा अतिक्रमण सम्बन्धमा आएको नापी प्रतिवेदन कार्यान्वयन उपमहानगरपालिकाले गराउन नसक्ने र प्रतिक्रिया माग्ने पत्रकारदेखि आमजनतालाई कुटपिट र दुर्व्यवहार गर्ने मेयर साहले नौतिकताको आधारमा राजनीनामा दिनुपर्ने बताए।

यसैगरी गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठ प्रसाद रेग्मीले जनकपुरमा सयौँ बिघा गुठीको जग्गा अतिक्रमण भएको स्वीकार गरे। उनले सार्वजनिक सम्पत्ति पोखरीको डील, फुलबारी, बगैँचा र नदी तलाउ गरी गुठीको सयौँ बिघा जग्गा अतिक्रमण भएकोले तत्कालै अतिक्रमण मुक्त गर्न सबै निकायले आ-आफ्नो ठाँउबाट पहल गर्नुपर्ने धारणा राखे।

यता नापी कार्यालय धनुषाका प्रमुख सत्रुधन यादवले सार्वजनिक जग्गा अतिक्रमण भएको जिकिर गर्दै आफूहरुसँग सम्पूर्ण प्रमाण रहेको स्पष्ट पारे।

कार्यक्रममा विभिन्न राजनीतिक दल, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले जनकपुरधामका करिब ९० प्रतिशत जग्गा गुठी, मठमन्दिर र सरकारी निकायको नै रहेपनि ठूला भूमाफियाहरुले अतिक्रमण गरेको आरोप लगाएका थिए।

गुठीका जग्गा संरक्षण जाँचबुझ आयोगका अध्यक्ष मोहन रमन भट्टराईले स्थानीयबाट आएका जिज्ञासाको जवाफ दिदै भने, ‘सरकारी, सार्वजनिक र गुठीको जग्गा कसैले मिच्नु हुँदैन। यदि मिचिएको छ भने जग्गा खाली गरी संरक्षण गर्ने सबैको दायित्व हो।’

उनले थपे, ‘जहाँसम्म स्थानीय जनप्रतिनिधिबाट जानकी मन्दिरको जग्गा अतिक्रमणको कुरो छ, यदि त्यो भएको छ भने गलत हो। सडक विस्तारको नाममा मन्दिरको जग्गा अतिक्रमण गर्नु भनेको पापको भागीदारी बन्नु हो।’

उनले स्वच्छ समिति गठन गरी छानबिन गरेर दोषीलाई कानुनको दायरमा ल्याउनुपर्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell