PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

अस्पताल कि डम्पिङ साइट? : सरसफाइमा वर्षेनी लाखौँ रुपैयाँ खर्च, हटेन दुर्गन्धले नाक छोप्नुपर्ने बाध्यता



सुमित मिश्र

अस्पताल कि डम्पिङ साइट? : सरसफाइमा वर्षेनी लाखौँ रुपैयाँ खर्च, हटेन दुर्गन्धले नाक छोप्नुपर्ने बाध्यता

जनकपुरधाम : जनकपुरधाम अस्पतालको स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाइएको छ। प्रादेशिक अस्पतालमा नयाँ विकास समिति अध्यक्ष चयन भएको छ। प्रदेश सरकारबाट अस्पताल विकास समितिको अध्यक्षमा संजय सिंह नियुक्ति लिएर आएको झण्डै तीन महिना हुन लागेको छ। नियुक्तिको क्रममा अनेकन बाचा र प्रतिबद्धता गरेका सिंहले जिम्मेवारी सम्हालेको तीन महिना भएपनि अस्पतालको अवस्था सुध्रिनु त कहाँ हो कहाँ झन जर्जर बन्दै छ।

मानिस बिरामी भएपछि उपचारका लागि अस्पताल जान्छन्। तर तीनै अस्पतालबाट बिसर्जित फोहोरमैलाका कारण अर्को रोग त निम्तिदैँन भन्नेमा प्रश्न उठ्न थालेको छ। प्रदेश २ कै ठूलो प्रादेशिक अस्पताल जथाभावी फोहोरमैला विसर्जनले आफैँ बिरामी बनेको छ । अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापन नहुँदा अस्पताल अन्तर्गत रहेको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको परीसर फोहरले भरिभराउ छ। त्यसमा पनि सिरिन्जदेखि स्लाइन पानी, औषधिका डिब्बा तथा सुईका निप्पलहरु छरपस्ट फालिएको छ।

सरसफाइको दृष्टिले अस्पताल निकै संवेदनशील मानिन्छ। तर प्रादेशिक अस्पतालमा जताततै फोहर फाल्ने तथा अस्पताल प्रशासनले फोहोर व्यवस्थापन गर्ने भनिए पनि व्यवहारमा त्यस्तो भएको देखिदैन। यसरी अस्पतालमा फोहोर जमेर दुर्गन्ध बढेपछि उपचारका लागि आउने बिरामी, स्थानीय सर्वसाधारण, अस्पतालकै स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नाक छोप्दै हिँडिरहेका देखिन्छन्। सम्बन्धित पक्षले बेलैमा चासो नदिँदा विगत लामो समयदेखि दुर्गन्धमा नै बसेर काम गर्नुपरेको अस्पतालका कर्मचारीहरु बताउँछन्।

बिरामीहरुले मुख छोपेर अस्पतालको सेवा लिन आउनु पर्ने अवस्था रहेको जनकपुर नर्सिङ क्याम्पसमा पढ्दै गरेकी छात्रा स्वेता सिंह बताउँछिन्।

उनले भनिन, ‘फोहरले अस्पतालको परिसर दुर्गन्धितसँगै कुरुप देखिन्छ। हामी मात्र होइन, परीसर भएर सर्वसाधारणदेखि चिकित्सक, कर्मचारी सहितका व्यक्तिहरु मख थुनेर कार्यालयन जानुपर्छ।’

जिल्ला जनस्वास्थ्य कार्यालय, परिवार नियोजन संघ, नर्सिङ क्याम्पस, पोषण स्थापना गृह, पोष्टमार्टम स्थल पुग्ने बिरामीदेखि लिएर सडक भएर हिँड्नेलाई निकै सास्ती हुन्छ। अस्पताल परिसरमा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा दैनिक सयौँको संख्यामा आउने सेवाग्राहीहरु थप जोखिममा परेको जनस्वास्थ्य कार्यालयका सुब्बा बिकेक यादव बताउँछन्।

उनी भन्छन्, ‘प्रादेशिक अस्पताल हो की, डम्पिङ साइट कहिलेकाहिँ छुट्टयाउनै गाह्रो हुन्छ।’

वर्षेनी लाखौँ रुपैयाँ सरसफाइमा खर्च गर्दै आएको बताउँदै प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादवले सुधार गर्ने प्रकृयामा रहेपनि अस्तालको फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा फोहोर थुप्रिएको स्विकार गरे। उनले नगरपालिकाको बेवास्ताका कारण फोहोर थुप्रिएको बताउँदै छिट्टै फोहर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए। अस्पताललाई फोहोरको डम्पिङ साइटमा परिणत गर्नमा अस्पताल कै भूमिका रहेको शहिद गंगालाल हृदय केन्द्रमा उपचार गराउन गएकी अञ्जु महतोले बताइन्।

‘धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्रका रुपमा स्थापित जनकपुर सहर घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको पहिलो नजर फोहोर मैलामै पर्ने गरेको छ’, सफाइ अभियान्ता अमरचन्द्र अनिलले भने, ‘अव्यवस्थित फोहोर मैलाका कारण पर्यटकीय धार्मिक सहर जनकपुरको पहिचान नै फोहोरमैलायुक्त सहरका रुपमा परिचित हुन थालेको छ। तर, पहिला भन्दा सुधार भएको छ। यहाँका जनप्रतिनिधिले चाहनुभयो भने केही दिनपछि फोहोर समस्या समाधान हुन्छ।’

अस्पताल जस्तो संवेदनशील ठाउँमा अस्पताल स्वयं र जनकपुर सहरका बासिन्दा, व्यवसायी लगायतले प्लास्टिक, कागजका टुक्रा लगायत बजार, पसल, होटल, लज तथा निजी घरबाट उत्सर्जन हुने फोहर अधिकांश सडक किनारा, फुटपाथ, ढल, नालीमा फाल्ने गरेका छन्। ढल प्लास्टिकजन्य फोहोर भरिएका छन्। ढलमा बग्नुपर्ने पानी सडकमा बग्ने गरेको छ। वर्षातका बेला घरआगनमै दुर्गन्ध सहितको कालो पानी बग्ने गरेको स्थानीय गुनासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell