PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

दिलीप महतोलाई न्याय दिलाउन जनकपुरदेखि काठमाडौंसम्म विरोध गरिने



सुमित मिश्र

दिलीप महतोलाई न्याय दिलाउन जनकपुरदेखि काठमाडौंसम्म विरोध गरिने

जनकपुरधाम : गत पुुस २५ गते हत्या गरिएका पर्यावरण अभियान्ता दिलीप महतोको हत्यारालाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै जनकपुरदेखि काठमाडौंसम्म विरोध गर्ने तयारी थालिएको छ।

चुरे तथा वनजंगल संरक्षण अभियान्ताहरुले सोमवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा दिलीपलाई न्याय दिलाउन संघर्ष समिति गठन गरी आन्दोलनसहित दबाबका कार्यक्रम घोषणा गरेका हुन्। दिलीपको हत्यामा संलग्न अझै केही आरोपीहरु फरार रहेको भन्दै अभियान्ताले ७ सदस्यीय संघर्ष समिति गठन गरेर दबाब दिने योजना बनाएका छन्। संघर्ष समितिको संयोजकमा सुनिल यादव, सहसंयोजकमा रामकुमार महतो एवं सदस्यहरुमा गुञ्जा राय, राजुकुमार सिंह, अमन यादव, अरुण महतो तथा संगम कुमारी महतो रहेका छन्।

समितिले दबाब दिने उद्देश्यले विभिन्न संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ। समितिले पहिलो चरणको संघर्षको कार्यक्रमहरु अन्तर्गत माघ २९ गते ढल्केवरमा विरोध प्रदर्शन गर्नेछ। त्यस्तै फागुन १ गते सिराहाको लहान, फागुन २ गते महोत्तरीको बर्दिवास, फागुन ३ गते सर्लाहीको लालबन्दी र माइतीघर मण्डला काठमाडौं, फागुन ४ गते रौतहटको चन्द्रनिगाहपुर, फागुन ५ गते बाराको सिमरा र फागुन ६ गते पर्साको विरगंजमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको सामाजिक अभियान्ता सरोज रायले बताए।

संघर्ष समितिका सदस्य समेत रहेकी दिलीपकी बहिनी संगम कुमारी महतोले आफ्नो दाइले पर्यावरणकै लागि ज्यानको आहुती दिएकाले उनलाई सहिद घोषणा गर्न सरकारसँग माग गरिन्।

उनले भनिन्, ‘हामी एकदिन भोकै बसेपनि कुनै फरक पर्दैन तर चुरे विनास भयो भने हामी एक क्षण पनि बाँच्न सक्दैनौँ। राम्रो काम गर्ने व्यक्तिको धेरै दुश्मन रहन्छ, तसर्थ दिलीपले पनि राम्रो काम गर्न खोज्दा उसको हत्या गरियो।’

प्रहरीले अनुसन्धानमा गम्भिरता नदेखाइरहेको आरोप लगाउँदै दिलीप हत्याको उच्चस्तरीय न्यायिक छानबिन समिति बनाएर फरार रहेका दोषीहरुलाई कानुनी दायरामा ल्याउन संघर्ष समितिले माग समेत गरेको छ। त्यसका साथै समितिले दिलीपलाई पर्यावरणीय शहीद घोषणा गर्न समेत माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell