PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अभाव र असन्तुष्टिले जन्माएका 'प्यारासाइट'हरु, बेसमेन्टको कथाले डोहोर्‍यायो अस्करसम्म



स्वेच्छा राउत

अभाव र असन्तुष्टिले जन्माएका 'प्यारासाइट'हरु, बेसमेन्टको कथाले डोहोर्‍यायो अस्करसम्म
Photo : PARASITE/NEON/TWITTER

पुस १९, २०७६। थानकोटकी जमुना रेग्मीले फेसबुक स्टाटस लेखिन्:

‘मिटर ब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको समयमा तिर्न नसके ब्याज डबल तेब्बर बनाउने? यसरी ऋणीलाई मर्न बाध्य बनाउने गिरोहको आपराधिक गतिविधि चन्द्रागिरि नगरपालिकामा अत्याधिक बढेको छ भन्ने खबर सुन्नमा आएको छ। अहिले नयाँ डिएसपी साहेब पनि आउनु भएको छ रे। स्वतर्फ उहाँको ध्यान गए ती सोझा जनता बिचल्ली हुनबाट जोगिन्छन् कि?‘

यहाँ उनले तीन फरक कुरा संकेत गरेकी छिन्:

मिटर ब्याजमा पैसा लगाउनेहरुको ज्यादती,

सुरक्षा निकायप्रतिको आशा,

ऋणकै कारण आर्थिक अनि मानसिक शोषणमा परेकाको अवस्था।

माघ २ गते खबर सार्वजनिक भयो :‘मिटरब्याजका कारण दुई छोरासहित त्रिशुलीमा हेलिए दम्पती।‘

श्रीमान् विनय लामिछानेको हात समातेर, दुई नाबालकलाई काखी च्यापेर नदीमा हेलिएकी थिइन् उही जमुना जसले ठीक १२ दिन अगाडी मिटर ब्याजको ज्यादतीबारे स्टाटस लेखेकी थिइन्।

यसरी नाबालक छोरासहित आत्महत्याको निर्णय लिनुका कारण- व्यापारका लागि लिएको ऋण अनि ऋणको मिटरब्याज।

तिर्न सक्ने अवस्था थिएन, हेलिए। जमुनाको मृत्यु भयो। दुई छोरा अझै बेपत्ता।

अर्थात् जमुनाले स्टाटसमा आफैंले भोगिरहेको अवस्था संकेत गरेकी थिइन्। तर उनले रोमन अक्षरमा लेखेको स्टाटसले कसैको ध्यान खिचेन। उनको मृत्युको खबर सार्वजनिक भएपछि भने- बेठीक गर्‍यौ, काँतर, सन्तानको माया नभएकी, रिप आदि लेख्नेहरुको ओइरो।

कति होलान् अत्यावश्यक परेकालाई ऋण दिने अनि ब्याजको नाममा छोटो समयमै धेरै पैसा असुल्न मिटर ब्याज लागू गर्ने? तिनले कतिलाई जमुना र विनयजस्तालाई मर्न बाध्य पारे होलान्?

मिटर ब्याजमा ऋण लिनु वा दिनु गैरकानूनी हो। यो कुरा ऋण लिने र दिने दुबैलाई थाहा हुन्छ। तर पनि कमाउने सपनाले कानुनलाई जित्छ। तिर्न सक्नेले त तिर्लान् तर कर्जाभन्दा बढी ब्याजको मारमा पर्नेहरु ऋण दिनेबाट भाग्छन् आत्महत्या वा अरु आपराधिक गतिविधिको बाटो रोज्न बाध्य हुन्छन्।

जमुनासँगै हेलिएका उनका श्रीमान् विनय बाँचे। उनीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको छ।  ऋणको मारबाट मुक्त हुन खोजेका उनी अब कुन सकसबीच बाँच्लान्? एकातिर ऋणको भारी अर्कोतिर श्रीमती अनि सन्तानको मृत्युको शोक।

घटनाले सोच्न बाध्य बनाउँछ ऋण दिने र लिने वर्गबीचको द्वन्द्वबारे। त्यो द्वन्द्वले निम्त्याएको भयानक अवस्था।

उक्त खबर सार्वजनिक भएकै दिन नेपाली फिल्म समीक्षक समाजले दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ प्रदर्शन गरेको थियो। फिल्मको सुरुवात जमुना र विनयले देखेकोजस्तै सपनाबाट हुन्छ। अनि अन्त्य जमुनाको जीवनजस्तै पीडादायी।

महत्वकांक्षाले निम्त्याएको एक कहालीलाग्‍दो अवस्था।

फिल्मले ठ्याक्कै त्यस्तै वर्गीय द्वन्द्व देखाउँछ। पैसा हुने वर्ग र नहुने वर्गबीच। पार्क परिवार र किम परिवारबीचको द्वन्द्व देखाउन गरिएको विम्बात्मक प्रयोगबाट पैसाले मनोविज्ञान, जीवनदेखि सपनासम्ममा पार्ने असर संकेत गर्छ।

किम कि तेक परिवार गरिब छ। चार जनाको परिवार बाक्लो बस्तीबीच बेसमेन्टमा बस्छ। जहाँ उज्यालो पस्दैन। चिसो छ। अर्थात् उनीहरुको समाजिकस्तर तल छ। दक्षिण कोरियाको अत्याधुनिक शहर सियोलमै भएर पनि सुविधाबाट पर छन् उनीहरु। मोबाइलमा वाइफाइ जोड्नका लागि ट्वाइलेटको कमोटमाथि चढ्नु पर्छ। मतलब उनीहरुलाई आफ्नो जीवनस्तर उकास्न गाह्रो छ। गरिबीको रेखामुनिबाट उक्लन अप्ठ्याहरुको सामना गर्नुपर्छ।

किमको परिवार अनेक अप्ठ्याराहरुसँग जुधिरहेको छ। जीवन चलाउन पिज्जा प्याक गर्ने बट्टा बनाउँछन्, बिग्रन्छ। उनीहरुको झ्यालबाहिर पिसाब फेर्न पल्केको हुन्छ एक जड्याह। उसलाई लखेट्नु दैनिकी बनेको छ। साना-साना लाग्ने यस्ता अप्ठ्याराहरुले जटिल बनाएको छ उनीहरुको जिन्दगीलाई।

भव्य शहरबीच जमिनमुनि बनेको सानो काठोमा उनीहरु परजीविका रुपमा जीवन निर्वाह गरिरहेका छन्। अर्थात प्यारासाइट।

ठीक फरक जीवन बाँच्छन् पार्क परिवार। सियोलकै आलिसान बंगलामा बस्छन् पार्कहरु। उनीहरुको घरमा छिर्ने मुख्य गेट नै केही अग्लोमा छ। गेटसम्म पुग्नै केही खुड्किलो उक्लनु पर्छ।

किम परिवारको अन्धकार बेसमेन्ट र पार्क परिवारको अग्लो संघार जहाँ पारिलो घाम लाग्छ - यी संकेत हुन् उनीहरुको वर्गीय स्तरको। जसबीच भिन्नता पहिचान गर्न दर्शकलाई गाह्रो पर्दैन।

एउटै शहरको फरक ध्रुवमा बाँच्ने यी दुई परिवार एकअर्काको आवश्यकता बनेर जोडिन्छन् र कथा अघि बढ्छ।

सहज जीवन जिउने सपना देखिरहेका किओ अंग्रेजीमा अब्बल हुन्छन्। त्यही भाषाको ज्ञानलाई बाटो बनाएर ऊ पार्कको बंगलामा छिर्छ। पार्ककी छोरीको ट्युटर बनेर। त्यहाँको सम्पन्नता र वैभवले उसलाई यति आकर्षित गर्छ कि उसले आफ्‍नी बहिनी, बुबा, आमा पनि एकपछि अर्को गर्दै त्यहाँ पुर्‍याउँछ। बेसमेन्टबाट बंगलामा प्रवेश गर्नका लागि उनीहरुले आफू जस्तै अरु बेसमेन्टमा बस्नेहरुको रोजगारी खोस्न समेत तयार हुन्छन्। तर, निस्कने बाटो निकै जटिल बन्छ।

सेयरमा लगानी गर्ने र कमाउने लोभमा एकपछि अर्को व्यक्तिसँग ऋण लिँदै गएका जमुना र विनय पनि सायद त्यस्तै जटिलतामा अल्झिए जहाँबाट निस्कने बाटो भेटेनन्। अन्तत: सामूहिक आत्महत्याको बाटो रोजे।

किमको परिवारले त सुखको अनुभूति बटुल्न झुटको बाटो अपनाए। किनकि उनीहरु गरिब थिए। अभावकै कारण पढाई छाड्नु र चाहेजस्तो खान नपाउनु उनीहरुको वाध्यता थियो।

यता पार्क परिवारलाई पनि पैसाले सबैकुरा पुर्‍याएको भने हुँदैन।

पार्ककी छोरी किशोरावस्थामा छिन्। धनी बुबाकी छोरी भएर पनि उसलाई आफ्नोपन र प्रेमको अभाव छ। उसको अङ्ग्रेजी भाषा राम्रो बनाउन महङ्गा ट्युटर राख्ने पार्क दम्पतीलाई थाहा छैन पढाउन आउने तिनै युवकहरुसँग छोरी नजिकिएको कुरा।

पार्क दम्पतीको छोरा पनि उपलब्ध वैभवमा रमाउँदैन। उ स्वेर कल्पना गर्छ। त्यहाँ आफूलाई शक्तिशाली महसुस गर्छ। त्यसैमा रमाउँछ। छोराको अस्वभाविक व्यवहारलाई साम्य पार्न आर्ट थेरापी गराउँछन्। थेरापिस्टका लागि जति पनि पैसा खर्चन तयार हुन्छन्। तर,छोराका लागि आफ्नो समय खर्चने धैर्यता राख्दैनन्।

काम र कमाइमा व्यस्त वर्गको पारिवारिक अवस्था। व्यस्तताका कारण एकअर्काबीच बढेको दुरी र एक्लोपनको उदाहरण हो यो।

फिल्ममा दृश्य र संवादहरुमार्फत दुई फरक आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक अवस्थाका पात्रहरु बीचको अन्तर देखाइन्छ।

चिसो र गुम्सिएको अपार्टमेन्टमा परेको ढुसीका कारण किम परिवारका सबैको लुगाबाट एउटै गन्ध आउँछ। उनीहरुले उप्रान्त सबैले फरक सर्फ र लुगा धुने साबुन प्रयोग गर्नेबारे छलफल गर्नु र उता पार्क दम्पतीले भने किमको परिवार एकै ठाउँमा बस्दा के गन्ध आयो? भन्दै नाक खुम्च्याउनु उदाहरण हो फरक मनोविज्ञान संकेत गर्नुको।

अर्को उदाहरण हुनसक्छ किमले 'पार्क परिवार धनी छ तर पनि असल छ' भन्दा उनकी श्रीमती बोल्छिन्, 'उनीहरु धनी छन् त्यसैले असल छन्।' झट्ट सुन्दा उक्त संवाद हाँस्यस्पद लाग्छ अनि किमकी श्रीमती रुष्ट महसुस गर्छन् दर्शकले। तर यस संवादले दक्षिण कोरियाली समाजमा धनी र गरिबबीचको व्यावहारिक खाडल संकेत गर्छ।

किम परिवार बेसमेन्टको खुड्किलो उक्लिएर बंगलाको भर्‍याङ उक्लदैमा उनीहरुको अवस्था बद्लिँदैन। बंगला भित्र पनि अर्को भर्‍याङको प्रयोग गरेका छन् निर्देशकले, जुन भर्‍याङले उनीहरुलाई झन्झन् अन्धकार र अप्ठ्यारोतर्फ गाँज्दै लैजान्छ।

बंगलाभित्र एक बंकर हुन्छ। युद्धको समयमा उत्तर कोरियाको प्रहारबाट जोगिन प्राय धनाढ्यहरुको घरमा त्यस्ता बंकर हुने गर्‍थ्यो। बेसमेन्टदेखि बंगलासम्म, अर्ध अन्धकारबाट उज्यालोसम्म अनि पुन: गुम्सिएको बंकरतर्फ अर्थात् पूर्ण अन्धकारतर्फ धकेलिन्छन् किम परिवार।

परिवारका सबैजना काठको फ्ल्याक भाँचिएर गर्ल्याम गुर्लुम बंकरमा खस्दा लाग्छ – उनीहरु एकैचोटी दलदलमा परे। लाग्छ निर्देशकले दुस्साहस योजनावद्ध हुनसक्छ तर संकट योजनासहित आइलाग्दैन भन्ने संकेत गरे। उसो त पार्क परिवारकी पूर्व कामदार घरमा छिर्नु, त्यस बंकरको ढोका खुल्नु पनि योजनावद्ध थिएन।

निर्देशक हुले धनीहरु सुरक्षित रहन बनाएको बंकरलाई गरिबहरुको अप्ठ्यारोको खाडलका रुपमा प्रस्तुत गरेका छन्। ती खाडल प्रायः छेकिएका हुन्छन् वा धनीहरुलाई कहिले पनि त्यो खोलेर हेर्ने फुर्सद नै हुँदैन। पार्कको त्यही बंकरभित्र लुकेर बसेका हुन्छन् मिटर ब्याज पीडित ग्युन साए।

साए ऋणीहरुबाट भागेर लुक्न त्यहाँ पुगेको वर्षौ भइसकेको हुन्छ। उसँग न ऋण चुक्ता गर्ने क्षमता छ न लुक्नुको विकल्प नै।

मिटर ब्याज पीडित जमुना र विनयजस्ता यथार्थ पात्रको मनोविज्ञान दुरुस्तै चित्रण गरेजस्तै लाग्छ साए र उनकी पत्नीको हाउभाउ, बोली व्यवहारमार्फत्। संसारभर कति होलान् त्यस्तो अन्धकारमा गाँजिएर लुक्न बाध्यहरु? आखिर लुक्ने ठाउँ नै नहुँदा होला आत्महत्यालाई विकल्प बनाउने, जमुनाले जस्तै।

हाँस्यास्पद् शैलीमा अघि बढेको फिल्म बंकर खुलेपछि शंकास्पद् बन्दै जान्‍छ। तर, दर्शकलाई अनुमान गर्ने ठाउँहरु भने राखेका छैनन् निर्देशकले।

बंकरभित्र वीभत्स घटना घट्दा बाहिर जन्मदिनको भव्य उत्सव चल्छ। उफ् कस्तो विरोधाभाष!

परिस्थितिलाई सम्हाल्दा सम्हाल्दै पनि प्रकृतिलाई कसैले रोक्न सक्दैन। शहरमा लगातार पानी पर्छ। त्यो पानीको प्रत्यक्ष असर पर्छ त्यही अन्धकार बेसमेन्ट जहाँ किम परिवारको जीवन थियो। पार्कको घरबाट रुझ्दै रुझ्दै भागेका उनीहरु आफ्नो घरभन्दा पर भाग्ने ठाउँ हुँदैन। तर त्यही घर पनि डुबानमा परेको हुन्छ। ठ्याक्कै उनीहरुको मनस्थिति जस्तै।

किमका छोरा वुले घरबाट डुबेको एक ढुङ्गा भने निकाल्छन्। उसको मिल्ने साथीले त्यस परम्परागत ढुङ्गाले घरमा लाभ निम्त्याउने बताएको हुन्छ।

यता घर डुबानमा। उता पार्क परिवारको बंकरमा अर्को आपत् त्यस्तो परिस्थितिमा पनि उसले ढुङ्गा च्याप्छ। लाग्छ ढुङ्गा विश्वासको प्रतीक हो। लाग्छ वुले विवशता र लोभले निम्त्याएको परिस्थितिबीच त्यस ढुङ्गालाई राख्छ। अब ऊ त्यसलाई रोक्न चाहन्छ, छेक्न चाहन्छ। वुको हकमा फिल्मको अन्त्यसम्म त्यो विश्वास कामय देखिन्छ। ऊ पुन: बेसमेन्टमा आइपुग्छ। उसका बुबा त्योभन्दा गहिरो र नदेखिने अन्धकारमा विलय हुन्छन्। तर पनि उ सकारात्मक कल्पन छाड्दैन। फिल्मको सुरुवातमा जस्तै अध्यारो बेसमेन्टमा बसेर उज्यालो भविष्य कल्पन्छ।

फिल्मको नामले धनी परिवारबाट सक्दो चुसेर आफू मोटाउन खोज्ने किम परिवारलाई संकेत गर्छ, सायद। या हुनसक्छ गरिबमाथि पैसा लगानी गरेर फाइदा उठाउन खोज्ने पार्क परिवार पो जनाउँछ? वा 'प्यारासाइट'ले वैभव र अभावले छुट्याएको वर्ग बुझाउँछ जसले हाम्रो समाजलाई चुसिरहेछ, मानवीयता मारिरहेछ अनि मान्छेलाई खोक्रो बनाइरहेछ। निर्देशकले दर्शकका लागि कल्पनाको प्रशस्त ठाउँ छाडिदिएका छन्।

आइतबार लस एन्जलसस्थित डोब्ली थिएटरमा आयोजित एकेडेमी अवार्डको ९२ ‌औं संस्करण सम्पन्न भयो। समारोहमा 'प्यारासाइट'ले बेस्ट पिक्चर, बेस्ट डिरेक्टर, बेस्ट इन्टरनेशनल फिचर, बेस्ट ओरिजिनल स्क्रिनप्ले गरी चार अवार्ड पायो।

'बेस्ट ओरिजिनल स्क्रिनप्ले अवार्ड' लिँदै गर्दा निर्देशक बोङ जो हुले भने- 'लेख्न बस्नु एक्लिने प्रक्रियाको सुरुवात गर्नु हो।'

उनले फिल्म क्षेत्रका लागि अवार्डको सर्वाधिक ठूलो मञ्चमा उभिएर बोल्दै गर्दा फिल्मका दृश्यहरु याद हुन्छन् जुन निकै सिर्जनात्मक अनि यथार्थपरक लाग्छन्। ती दृश्यमा कलाकारहरुले भरेको जीवन याद हुन्छ जसले फिल्मलाई अझै सशक्त बनायो। 

अनि उनले फिल्ममार्फत् जुन वर्गको कथा उठाए ती याद हुन्छन्। अर्थात् जमुना याद हुन्छिन्। बोङले भनेजस्तै, लेख्न बस्नु एक्लिने प्रक्रियाको सुरुवात हो। जमुनाले पनि सायद आफूलाई सुन्ने कोही नभएपछि लेखेकी थिइन् उक्त स्टाटस: '… सोझा जनताको बिचल्ली हुनबाट जोगिन्छ कि?'

अनि आफ्नी श्रीमती र दुई छोराको आत्महत्या दुरुस्साहनको मुद्धासँगै ऋणको भारी बोकेर बसिरहेका विनय कस्तो सपना देख्दै होलान्? उनलाई सुन्ने कोही होला नहोला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell