PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कर्मचारीको लापर्बाहीका कारण प्रयोगविहीन बन्दै रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको पुस्तकालय



सुमित मिश्र

कर्मचारीको लापर्बाहीका कारण प्रयोगविहीन बन्दै रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको पुस्तकालय

जनकपुरधाम : जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको पुस्तकालयमा कर्मचारीहरुको मनपरीका कारण पुस्तकालय प्रयोग विहिन अवस्थामा पुगेको छ। प्रत्येक वर्ष पुस्तकालय व्यवस्थापनका साथै नयाँ पुस्तक किन्नका लागि आउने बजेट कर्मचारीको लापर्बाहीले बन्द गरिएपछि पुस्तकालय नै प्रयोगविहीन अवस्थामा पुगेको हो।

क्याम्पसको अधीनस्थ रहेको सो पुस्तकालयका लागि प्रत्येक वर्ष शिक्षा मन्त्रालयले एक लाख बजेट उपलब्ध गराउँदै आएको थियो। तर कर्मचारीहरुको हेलचेक्र्याइँका कारण २०५० सालपछि एक रुपैयाँ पनि सरकारी स्तरबाट लगानी नहुँदा पुस्तकालय नै धराशय बनेको छ।

पुस्तकालय चलाउनका लागि जम्मा ८ जना कर्मचारी यहाँ कार्यरत छन्। ४ जना बिहानको सिफ्टमा काम गर्छन् भने ४ जना दिउँसोको सिफ्टमा काम गर्दै आइरहेका छन्। पुस्तकालय चलाउन ८ जना कर्मचारी भएपनि पुस्तकालय भित्र छिर्दा एक जना कर्मचारी पनि भेटिदैनन्।

२०५० सालसम्म कुल १७ जना कर्मचारी रहेको पुस्तकालयमा सरकारले लगानी बन्द गरेपछि ८ जना कर्मचारीमा सीमित भएको छ। यद्यपि ८ जना कर्मचारीले पनि काम र हेरचाह राम्ररी नगर्दा पुस्तकालयको अवस्था जीर्ण भैसकेको छ भने पुस्तकालयमा भएको किताबमा खिया लागि सकेको छ।

पुस्तकालय व्यवस्थापनका लागि कर्मचारीको हेलचेक्र्याइँ र कुनै निकायले चासो नदेखाएपछि यहाँ रहेका पुस्तकहरु समेत संरक्षणविहीन बन्दै गइरहेको छ।

पुस्तकालयमा ४ वटा वेदका साथै धार्मिक पुस्तकहरु, ईतिहास, भूगोलका ऐतिहासिक पुस्तकहरु रहेका छन्। यसका साथै एक सय वर्षसम्मका लागि प्रयोग गर्न मिल्ने पञ्चांग समेत खेर जाने अवस्थामा रहेको छ। झण्डै ४० वर्ष अगाडि छापिएको सो पञ्चांग दुर्लभ नै बनेको छ। सो पञ्चांग विशेष गरेर ज्योतिष पढ्नेहरु र कुण्डली निर्माण गर्नेहरुका लागि उपयोगी हुन्छ।

२०१६ सालमा स्थापना गरिएको सो पुस्तकालयबाट प्रत्येक वर्ष दुई हजारभन्दा बढी विद्यार्थीहरुले पुस्तक पढ्ने गर्थे। पुस्तकालय जीर्ण बनेकै कारण विद्यार्थीहरुमा पढने संस्कृतिको अभाव भएको र पहिले जस्तो पुस्तकालयमा किताब नभएकै कारण विद्यार्थीहरु पुस्तकालय जान नमान्ने गरेको क्याम्पसका विद्यार्थी नेता आनन्द झाले बताए।

उनका अनुसार पहिले पहिले विद्यार्थीहरु प्रिफरेन्स पुस्तकहरु समेत लाने गर्थे तर अहिले आएर कोर्स बाहेक अन्य पुस्तक तर्फ उनीहरुको चासोसम्म छैन।

पहिला विद्यार्थीहरु घण्टौँसम्म पुस्तकालयमा बसेर पुस्तक पढने गरेको भएपनि अहिले पुस्तकालय विद्यार्थीविहीन बन्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell