PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अनुपस्थित हुँदा पनि हाजिर गर्ने प्राध्यापकविरुद्ध विद्यार्थीले गरे विरोध प्रदर्शन



सुमित मिश्र

अनुपस्थित हुँदा पनि हाजिर गर्ने प्राध्यापकविरुद्ध विद्यार्थीले गरे विरोध प्रदर्शन

जनकपुरधाम : रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामका विद्यार्थीले प्राध्यापकहरुले अनुपस्थित भएको दिनको पनि हाजिर गरेको भन्दै विरोध प्रदर्शन गरेका छन्। प्राध्यापकहरु पढाउन नआए पनि फर्जी हस्ताक्षर रजिष्टरमा गरेको विद्यार्थीहरुले पाएपछि सो रजिष्टर नियन्त्रणमा लिएर विरोध गरेका हुन्।

मंगलवार क्याम्पसका दुई प्राध्यापक इन्द्रदेव यादव र भोगेन्द्र अधिकारीले उपस्थिति रजिष्टरमा फर्जी हस्ताक्षर गरेको पाइएको हो। विद्यार्थीहरुले क्याम्पस प्रमुख समक्ष गुनासो गर्न पुगेपछि हाजिरी रजिष्टर जाँच गर्दा प्राध्यापकद्वयले अनुपस्थित रहेको दिनमा पनि हाजिरी गरेको पाइएको हो।

क्याम्पस प्रमुखको टेबुलमा रहेको हाजिरी रजिष्टरमा अनुपस्थित प्राध्यापकहरुको हस्ताक्षर गरिएको देखेपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र राष्ट्रिय विद्यार्थी संघका विद्यार्थी नेताहरुले रजिष्टर नियन्त्रणमा लिएर विरोध गरेका थिए।

विद्यार्थीहरुले सो कार्यको विरोध गर्दै क्याम्पस प्रशासनसँग छानबिन गरी प्राध्यापकलाई कारबाही गर्न माग समेत गरेका छन्।

स्नातक प्रथम तहमा अध्ययनरत विद्यार्थी आदर्श मण्डलले प्राध्यापक यादव र अधिकारी क्याम्पसमा नआएको तर रजिष्टरमा हाजिर गरेको देखेपछि आफूहरू सो कार्यको विरोध गर्दै क्याम्पस प्रशासनसँग छानबिनको माग गरेको बताए।

सहायक क्याम्पस प्रमुख मिथिलेशकुमार लालले फर्जी हस्ताक्षर बारे आफूलाई जानकारी नभएको तर यसबारे छानबिन गर्ने प्रतिबद्धता जनाए। उनले फर्जी हस्ताक्षर गरेको पाइएमा ति प्राध्यापकलाई कारबाही गर्ने स्पष्ट पारे।

सहायक क्याम्पस प्रमुखको प्रतिबद्धतापछि विद्यार्थीहरुले नियन्त्रणमा लिएको रजिष्टर बुझाएको विद्यार्थी नेता रोसन मिश्रले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell