PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सिन्धुपाल्चोकको गुम्बामा कोरोनाको 'लक्षणसँग मिल्ने खाल'को रोगले सय जना बिरामी!



सिन्धुपाल्चोकको गुम्बामा कोरोनाको 'लक्षणसँग मिल्ने खाल'को रोगले सय जना बिरामी!

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा ३ को गुम्बा गाउँमा रुघा खोकी र ज्वारोका कारण सय जना बिरामी परेका छन्।

सोमवारबाट गाउँका मानिसहरु बिरामी पर्न थालेपछि गाउँपालिकाले स्वास्थ्य मन्त्रालयमा जरुरी पत्र पठाउँदै रोग पहिचान गर्न विशेष टोली पठाउन अनुरोध गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर पत्रमा भनिएको छ, 'प्रस्तुत विषयमा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा ३ साबिक गुम्बा गाविस वडा ८ गुम्बा वस्तीमा माघ २७ देखि हाल विश्वमा फैलिरहेको नोबेल कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघा, खोकी र अत्याधिक जरोजस्ता लक्षणका बिरामीहरु देखा परेको हुँदा सो को परीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाई आवश्यक सहयोग गरी दिनुहुन अनुरोध गर्दछौं।'

गाउँपालिका महासंघका अध्यक्षसमेत रहेका जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले महामारीजस्तो रोग देखिएको बताए।

श्रेष्ठले भने, 'हिजो १०/१२ जनामात्र बिरामी भएका थिए। आज सय जना जति बिरामी परेका छन्।'

साविकको गुम्बा गाविसका वडा ७ र ८ वडाका बासिन्दा उक्त महामारीबाट पीडित हुन थालेपछि नजिकका स्वास्थ्य चौकीका अहेवहरु खटिएको र औषधि चलाउन थालिएको श्रेष्ठले बताए। उनले भने, 'अहिले औषधि चलाउन थालेपछि बिरामीहरुमा औषधिको प्रभाव देखिन थालेको छ। त्यसैले आत्तिहाल्नुपर्ने अवस्था छैन।'

महामारीजस्तै देखिने रोगले धमाधम बिरामी हुन थालेपछि सम्बन्धित पक्षलाई दबाव दिन गाउँपालिकाले जरुरी पत्र लेखेको श्रेष्ठले बताए। भोलि नै चिकित्सकसहित आफू उक्त स्थानमा जान तयारी अवस्थामा रहेको श्रेष्ठले बताए।

धेरैलाई ज्वरो आइरहेकोले नजिकैको अस्पतालका कर्मचारी गुम्बातर्फ हिँडेको वडा सदस्य वसन्ती सुनुवारले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell