PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सरकारले भ्रमण वर्षको कार्यविधि नबनाउँदा पर्यटन समिति नै अन्यौलमा



सुमित मिश्र

सरकारले भ्रमण वर्षको कार्यविधि नबनाउँदा पर्यटन समिति नै अन्यौलमा
फाइल फोटो।

जनकपुरधाम : भ्रमण वर्ष २०२० शुरु भएको महिना दिन बितिसक्यो। नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने दावी गरेको छ। भ्रमण वर्ष सफल बनाउन प्रदेशको समेत भूमिका खोजेको संघीय सरकारले प्रादेशिक संयोजक पनि तोकेको छ। तर, संयोजकको काम, कर्तव्य र अधिकारसहितको कार्यविधि नबनाउँदा उनीहरू अलमलमा परेको बताउछन्।

भ्रमण वर्ष गत पुस १६ अर्थात् जनवरी १ का दिन उद्घाटन गरियो। यद्यपि, प्रादेशिक संयोजकलाई कार्यविधि बनाएर कामको जिम्मेवारी नतोकिँदा प्रदेश २ मा भ्रमण वर्षको तयारी हालसम्म शून्य छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष सफल बनाउन भन्दै प्रचारप्रसार तथा व्यवस्थापनका लागि सातवटै प्रदेशमा पर्यटन समिति बनाएपनि कार्यविधि नबनाउँदा आफूहरु अलमलमा परेको भ्रमण वर्ष प्रदेश २ का संयोजक मनिष झाले पहिलो पोस्टलाई बताए।

कार्यविधि नहुँदा आफ्नो काम, क्षेत्र थाहा नभएको र आगामी योजनासमेत बनाउन नसकेको उनले बताए।

‘हामीले के काम गर्ने? के लक्ष्य निर्धारण गर्ने? के उपलब्धि हासिल गर्ने? कार्यविधि बनेकै छैन’, संयोजक झाले भने, ‘राष्ट्रिय संयोजक समितिलाई कार्यविधि माग्दा मन्त्रालय देखाउँछ। मन्त्रालयले नेतातिर देखाउँछ। नेतालाई माग्दा फेरी सचिवतिर देखाउँछ।’

सरकारले कार्यविधि नबनाउँदा पर्यटन प्रवर्द्धन र प्रचारप्रसारका लागि मूल आयोजक समितिले प्रदेश समितिलाई दिएको २५ लाख रुपैयाँ खर्च हुन नसकेको उनले बताए। यद्यपि, भ्रमण वर्षको वातावरण बनाउन र समाजमा यसको स्वीकार्यता बढाउन पहिलो चरणमा सभा, गोष्ठी, समिति गठनलगायत कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।

‘अहिलेसम्म हामी एक्सनमा जानुपर्थ्यो, तर कार्यविधि नहुँदा काम गर्न सकेका छैनौँ’, उनले भने, ‘प्रदेश २ मा पर्यटकीयस्थल समेत सरकारले पहिचान गर्न सकेको छैन।’

संघीय सरकार, प्रदेश सरकार र पर्यटन समितिले अहिलेसम्म औपचारिक कार्यक्रममा मात्र समय खर्चेको प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायले बताए।

‘पत्रपत्रिकामा मात्र लेखेर, मञ्चमा भाषण गरेर पर्यटन वर्ष मनाउन सकिँदैन। सबभन्दा पहिले हामीले पर्यटकीयस्थल पहिचान गर्ने हो,’ मन्त्री रायले भने, ‘करिब १२ दिनपछि यो कार्य शुरु हुन्छ। तिनै निकायले पर्यटकलाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ।’

विभिन्न चरणमा हालसम्म प्रदेश २ मा १० लाख बढी पर्यटक आइसकेका छन्। उनीहरूको व्यवस्थापन हुन नसक्दा टिकाएर राख्न नसकेको उनले बताए। उनका अनुसार पर्यटकीयस्थल पहिचान गरेपछि स्थानीय सरकारसँग समेत समन्वय गरी त्रिपक्षीय लगानी गर्दै पर्यटकीयस्थललाई सौन्दर्यकरण र व्यवस्थापनका लागि छलफल गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell