PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

एउटा सुन्दर उपहारले जुराएको संयोग : नेपाली संगीतमा पश्चिमी लवजको फ्यूजन



स्वेच्छा राउत

एउटा सुन्दर उपहारले जुराएको संयोग : नेपाली संगीतमा पश्चिमी लवजको फ्यूजन

अस्ट्रेलियामा हार्ले डेभिडसन चलाउने नेपालीहरुको समूह छ – गोर्खा हार्ले। समूहका सबै फेसबुकमा पनि जोडिएका छन्।

गत डिसेम्बरको एक साँझ त्यही समूहको च्याटबक्समा सिड्नी बस्ने विभोद डोटेलले एउटा गीतको लिंक हाले।

सिड्नीकै दिपेश श्रेष्ठले कौतुहलता मेटाउन लिंक क्लिक गरे। गीत बज्न थाल्यो। सुरुमा बजेको नेपाली धुनले केही आकर्षित गर्‍यो उनलाई। तर जब धुनसँगै पश्चिमी लवज मिसिएर बज्न थाल्यो तब उनी खिन्न भए।

अस्ट्रेलियामै जन्मिएर हुर्कदै गरेका उनका ९ वर्षीय छोरा अधिराज श्रेष्ठलाई नेपाली भाषा सिक्न एकदम गाह्रो भइरहेको छ। पठन पाठन अङ्ग्रेजीमा, बोली चाली अङ्ग्रेजी नै। त्यस्तोमा नेपाली बोल्नु र नेपाली गीत गाउनु सहज छैन। दिपेशले कोसिस भने जारी राखेका छन्।

विभोद डोटेलले पठाएको गीतमा पश्चिमी लवज सुन्दा बिझाउनुको कारण गायिकाको लवज मात्र भने होइन।

दिपेशले दश वर्ष हिट्स एफएममा कार्यक्रम चलाए। त्यस समय नेपाली गायक अनि संगीतकर्मीसँग नजिक भए। नेपाली गीत संगीतप्रति बेग्लै लगाव बस्यो। त्यसैले नेपाली धुनमा अस्पष्ट नेपाली स्वर सुन्दा झस्किए।

तर, जब विभोदले गीत आफ्नी छोरीले गाएको बताए तब दिपेश छक्क परे। किनकि विभोदकी १५ वर्षीया छोरी आइशा पनि नेपाली जान्दिनन्। उनकी आमा निङ इन्डोनेसियन भएकाले उनको घरमा नेपाली भाषा खासै प्रयोग हुँदैन। बुझ्न र बोल्न गाह्रो भाषामा आइशाले गीत गाएको थाहा पाए। उनको आत्मविश्वास र प्रयास गर्ने हुटहुटीले दङ्ग तुल्यायो।

दिपेशले गीत दोहोर्याएर सुने। योपटक उनलाई गीत मनपर्‍यो।

थाहा पाए- आइशाले आफ्ना बुबा विभोद डोटेललाई ‘सर्पाइज’ उपहार दिन उक्त गीत गाएकी रहिछन्। विभोदलाई त्यस उपहारले दिलाएको खुशी साथीहरुसँग साटे।

‌‌‌++ 

सफर यो त बित्ने छ

ठाउँ साथी छुट्ने छ

गाउँ अर्को जानु छ

समेट्न केहि सक्ने हैन

खाली याद लानु छ..

गीतको संगीत र शब्दको भावले दिपेशलाई नोस्टाल्जिक बनायो।

हिट्स एफएममा दश वर्ष कार्यक्रम चलाएका थिए दिपेशले। कार्यक्रम निर्देशक हुनुको अनुभव पनि संगाली सकेका थिए।

सन् २००१ मा भने आफ्नै निर्माण कम्पनी खोले- ग्रीन प्रोडक्सन। आफ्नै बुतामा देशमै केही गर्ने जोसका साथ।

कम्पनीमार्फत गीतको भिडियो निर्माण, कार्यक्रम आयोजना र व्यवस्थापनको जिम्मेवारी उठाए। म्युजिक भिडियोको बजार माथि उक्लदो थियो। उनीहरुको टोलीले निर्माण गरेको केही भिडियोले चर्चा पनि राम्रै कमायो। करण दासको ‘बिस्तारै छायो’, सञ्जिव सिंहको ‘चुलेसीमा’ केही उदाहरण हुन् उनीहरुले गरेको कामको।

दिपेश श्रेष्ठ

तर, सन् २००६ मा उनी अस्ट्रेलिया जाने भए। वर्षौ लगाएर कमाएको स्रोता, सिकेको सिप, खोलेको कम्पनी सबै छाडेर। परिवार अनि साथीभाइ देखि टाढा। आफू जन्मे हुर्केको ठाउँ छोडेर जाँदा उनीसँग मीठा यादहरु बाहेक केही थिएनन्।

आइशाले गाएको शब्दहरु सुन्दा उनले आफूले देश छोड्दाको त्यही परिस्थिति सम्झिए।

बिस्तारै उनलाई नेपाली संगीतमा पश्चिमी लवजको त्यही फ्युजन गज्जब लाग्न थाल्यो।

थाहा पाए आइशाका बुबा उक्त गीतको भिडियो बनाउने मानिस खाज्दै रहेछन्।

दिपेशले तत्काल भने - ल म बनाउँछु यो गीतको भिडियो।

भिडियो निर्माण, निर्देशनको अनुभव नेपाल छँदै बटुलेका थिए उनले। अस्ट्रेलियमा पनि स्क्रिन राइटिङ र निर्देशनको फरक फरक दुई कोर्स गरेका थिए। पढाई सँगसँगै भिडियो निर्देशन, सम्पादन, निर्माणलाई निरन्तरता दिएकै थिए।

भिडियो त बनाउने तर कसरी? गीतका शब्द लेख्नेले के कल्पिएर लेख्यो? गायिकाले गाउँदा के सोचिन्? सबैको भाव समेट्नु पर्छ भन्ने ठाने।

विभोदले गीतकार प्रगती देवकोटा र दिपेशलाई भेटाउन समय लगाएनन्।

जब प्रगतीले आफूले गीत लेख्नुको कारण सुनाइन् दिपेश छक्क परे। उनले पनि नेपालबाट अस्ट्रेलिया जाँदा छाड्नु परेको आफन्त र आफ्नोपनलाई शब्दमा समेटेकी रहिछन्।

‘अस्ट्रेलिया सपना पूरा हुनुको खुशी र याद बाहेक सबैकुरा छाडेर रित्तो हुनुको निराशा भिडियोमा समेट्ने सल्लाह भयो’, दिपेश भिडियो निर्माणको योजना सुनाउँछन्।

प्रगतीले त नेपालमै आएर भिडियो निर्माण गर्ने बारे सोचेकी थिइन्। तर, दिपेशले भने धेरै खर्चिलो प्रयोग नगर्न सुझाव दिए। र के गर्न सकिन्छ? सल्लाह गरे।

आइशा कुशल चित्रकार पनि हुन् भन्ने थाहा थियो प्रगतीलाई। उनले आइशाकै चित्रमार्फत् अस्ट्रेलिया पुग्ने नेपाली विद्यार्थीको कथा देखाउने प्रस्ताव राखिन्।

रचनाकारसँगै गायिका र  भिडियो निर्देशक दुबै राजी भएपछि स्पट रोजियो, आइशाले कथा अनुरुप चित्र कोर्न थालिन्। छायांकन प्रक्रिया अघि बढाउने कुरा भयो। तर काम सहजै बनेन।

काम र पढाईमा व्यस्त यी सिड्नी निवासी नेपालीहरुको फूर्सद शनिबार मात्र हुने। सबैको फूर्सद पर्खिँदा सिड्नीको तापक्रम ४८ डिग्री पुग्यो। पहिलो शनिबारको छायांकन रद्द।

दोस्रो पटकपनि तापक्रम घटेन। योपटक दिपेश जोसिए। भिडियो खिच्न आवश्यक सम्पूर्ण सामाग्री बोकेर आइशाको घरमा पुगेका उनी यसै फर्कने पक्षमा थिएनन्।

आइशाको घरमा देखिएको सुन्दर वालपेपरलाई पृष्ठभूमिमा पारेर खिच्न सुरु गरिहाले। दृश्यमा आइशा गाइरहेकी हुन्छिन्। गायनमा साथ दिन्छिन् प्रगतीले। सारङ्गीवादकको भूमिका निभाए प्रगतीका बुवाले अनि गितारमा साथ दिए उनकै भाइ प्रशान्तले।

दिपेशले सुरुमा त्यही दृश्यको मात्र प्रयोग गरेर भिडियो बनाए। गीतकारले कथापनि प्रस्तुत गर्नुपर्ने जोड दिइन्। दोस्रोपटक आइशाका चित्रहरूलाई एनिमेट गरेर भिडियो बनाए- त्यो आइशालाई नै चित्त बुझेन।

त्यसपछि गाइरहेको दृश्यसँगै आइशाको चित्रकला अनि उनले चित्र कोरिरहेको दृश्य पनि खिचियो। सबैलाई मिलाएर नयाँ भिडियो तयार पारे।

फाइनल भिडियो बनाएर सबैलाई देखाउन बोलाउँदाको संयोग बेग्लै। त्यसदिन आइशा र प्रगतीको परिवार दिपेशको घरमा आए। आइशाकी आमा निङ र दिपेशकी श्रीमती मीना गौचन एकअर्कालाई देख्दा चकित परे। उनीहरु त पूरानो साथी पो रहेछन्। वर्षौदेखि सम्पर्कविहिन।

‘आइशाले आफ्नो बुबाको लागि दिएको कलात्मक उपहारकै कारण उनकी आमा पनि सर्प्राइज्ड भइन्। मेरी श्रीमतीले पनि अथाह खुशी पाइन्’, दिपेशले सुनाए।

लगभग दुई महिना लामो मिहेनत र समय खर्चिएपछि तयार पारेको भिडियो सबै मिलेर हेरे। सबैको चित्त बुझेपछि भिडियो सार्वजनिक गर्ने सहमति भयो।

दिपेशले गत साता उक्त भिडियो युट्युबमार्फत् सार्वजनिक गरे। गीत रिलिजको भोलिपल्टै देखि पाएको प्रतिक्रिया र शुभकामनाले दङ्ग तुल्याएको छ उनलाई। अझ बढी खुशी त नेपाली संगीतकर्मीले गरेको प्रशंसाले पो दिलाएको छ।

त्योभन्दा बढी खुशी दिपेशलाई छोरा अधिराजले दिएका छन्। किनकि उक्त भिडियो सार्वजनिक भएदेखि उनका छोराले नेपाली गीत गुनगुनाउन थालेका छन्। खेल्दै गर्दा, टहल्दै गर्दा- उनी गाइरहेका हुन्छन्:

गाडी गुड्छ नेपाली

उकाली र ओराली

घुम्दै फिर्दै जाँदै छौ

पाखा पर्वत देउराली…



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell