PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

महिलाको भेषमा आएर स्कुटर चोरी, आधा घण्टाभित्रै परे प्रहरीको फन्दा



महिलाको भेषमा आएर स्कुटर चोरी, आधा घण्टाभित्रै परे प्रहरीको फन्दा
महानगरीय ट्राफिक प्रहरी महाशाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ।

काठमाडौं : महिलाको भेषमा स्कुटर चोरी गरेर फरार रहेका एक पुरुषलाई प्रहरीले सूचना पाएको आधा घण्टाभित्र प्रकाउ गरेको छ। पक्राउ पर्नेमा गोरखा सूर्यकोट गाउँपालिका-१ का २५ वर्षीय मिलन न्यौपाने रहेका छन्।

बुधवार बिहान साढे २ बजे दरबारमार्गबाट स्कुटर चोरी गरी भाग्दै गरेका न्यौपानेलाई बिहान ३ बजे कलंकीबाट ट्राफिक प्रहरीले पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

न्यौपानेले सिन्धुपाल्चोक लिस्ती-८ की कान्छी लामाको नाममा रहेको बा ४८ प ६१८६ नम्बरको स्कुटर दरबारमार्गबाट चोरी गरेका थिए। उक्त स्कुटर हाल काठमाडौं तारकेश्वर नगरपालिका-११ का विपीन बोहोराले चलाउँदै आएका थिए।

बोहोराले स्कुटर हराएको थाहा पाउनासाथ प्रहरीलाई खबर गरेका थिए।

‘हामीलाई स्कुटर हराएको भनेर दरबारमार्गस्थित ट्राफिक प्रहरीमा सूचना आयो, सबै मातहतका युनिटलाई तत्कालै खबर गयौँ, कलंकीमा बसेका ट्राफिक प्रहरीले स्कुटरसहित मानिसलाई पक्राउ गर्न सफल भए,’ प्रवक्ता एसपी श्रेष्ठले जानकारी दिए।

न्यौपानेले महिलाको भेषमा आएर चोरी गरेको श्रेष्ठले बताए। पक्राउ परेका न्यौपानेलाई दरबारमार्ग प्रहरीमा बुझाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

त्यस्तै कसैले पनि आफ्नो साधन हराएमा तत्काल प्रहरीलाई सूचना दिए खोजतलास गर्न र पक्राउ गर्न सकिने भन्दै यो एउटा उदाहरण भएको पनि उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell