
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको तेस्रो खेलमा संकटा क्लबले सरस्वती युथ क्लबमाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा संकटाले ६-२ को जित निकाल्दै लिगको सातौं स्थानमा उक्लिएको छ।
संकटाको जितमा मेसौके ओलुमुले २ गोल गर्दा सुवास गुरुङ, रोशन पहारी र टीकाराज गुरुङले १/१ गोल गरे। १ गोल भने सरस्वती क्लबले आत्मघाती गोल गरेको थियो।
खेलको ५ औँ मिनेट मै मेसौकेले गोल गर्दै संकटालाई अग्रता दिलाए। फेरी ३३ औँ मिनेटमा उनले नै दोस्रो गोल पनि गरे। खेलको ३७ औँ मिनेटमा सुवास गुरुङले गोल गर्दा संकटा पहिलो हाफमा ३-० ले अगाडि रह्यो।
दोस्रो हाफमा ५६ औँ मिनेटमा टिकाराज गुरुङले गोल गर्दै संकटाको स्कोर फराकिलो अन्तरले अघि बढाए। ६५ औँ मिनेटमा सरस्वतीका पूर्णबहादुर श्रेष्ठको आत्मघाती गोलमा संकटाको स्कोरमा थपिदा खेल ५-० को अवस्थामा पुग्यो।
सरस्वतीका लागि कजीम बुसारीले गोल फर्काए। बुसारीले नै ६६ औँ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल थपे। संकटाको गोल वर्षा यतिमै रोकिएन ८३ औँ मिनेटमा रोशन पहारीले गोल थपे। यो लिगकै ठूलो कुल गोल संख्या हो। यस अघि हिमायन शेर्पा र सरस्वती क्लबको खेलमा ७ गोल भएको थियो।
त्यस्तै आजको खेलमा पराजित भएको सरस्वती क्लब अंक तालिकाको पुछारमा रहदै रेलिगेसनमा परिसकेको छ।