
काठमाडौं : बलिउड निर्देशक प्रकाश झाले ‘फिल्म फेस्टिभल’ कलाको उत्सव भएको बताएका छन्। नेपालमा संसारका विभिन्न देशका संस्कृतिहरु फिल्ममार्फत् हेर्न उत्सुक रहेको निर्देशक झाले बताए।
बिहीवार राष्ट्रिय सभा गृहमा आयोजित तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को कार्यक्रममा बोल्दै उनले फिल्म मार्फत विभिन्न देशका संस्कृति हेर्न आतुर रहेको बताएका हुन्। स्वदेशी तथा विदेशी फिल्मको फिचर विधाका मुख्य निर्णायकको जिम्मेवारी निर्वाह गर्न नेपाल आएका झाले फेस्टिभलका दौरान विदेशीसँगै नेपाली भाषाका फिल्म पनि हेर्ने इच्छा व्यक्त गरे।
उनले आफू नेपालको बोर्डरमा जन्मिएको बताउँदै नेपाल दोस्रो घर जस्तै लाग्ने गरेको बताए।
‘म बिहारमा जन्मिएको हुँ। जहाँ नेपालको बोर्डर पर्थ्यो। हामी त के हाम्रा गाईबस्तु पनि चर्नलाई नेपाल जान्थे। यसरी नेपालसँगको नाता गहिरो भएपनि काठमाडौं आएको भने पहिलो पटक हो। सिनेमाका कारणले आउन पाउँदा दोब्बर खुशी लागेको छ,’ झाले भने।
उक्त फेस्टिभल ५ दिनसम्म राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थियटरमा चल्नेछ।
फेस्टिभलमा सहभागिताका लागि ४० देशका फिल्मकर्मी नेपाल आइपुगेको अध्यक्ष केपी पाठकले बताए। बिहीवार महोत्सवको उद्घाटनसँगै चिनियाँ फिल्म ‘द कम्पोजर’ प्रदर्शन गरिएको थियो। त्यस्तै महोत्सवको दोस्रो दिन भने डिजिटल फिल्म सम्बन्धी वर्कसपसँगै विभिन्न फिल्म प्रदर्शन हुनेछन्।