PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रदेश २ को सरकार आफ्नै बस सञ्चालन गर्ने तयारीमा, 'टेन्डर प्रक्रिया अन्तिम चरणमा'



सुमित मिश्र

प्रदेश २ को सरकार आफ्नै बस सञ्चालन गर्ने तयारीमा, 'टेन्डर प्रक्रिया अन्तिम चरणमा'

जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सरकारले दुई वर्षको कार्यकाल पूरा गरे पनि एक आर्थिक वर्षमात्र पूर्ण रुपले काम गर्न  पाएको बताएका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेश २ का  भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश सरकाले आफ्नै बस सञ्चालन गर्ने पनि जानकारी दिए। मन्त्री सोनलले प्रदेश २ को पुर्वदेखि पश्चिमसम्म गरि प्रदेश सरकारले ५ वटा बस सञ्चालन गर्ने तयारी गरेको बताए। ‘टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, केही दिनभित्रै टेन्डर निकाल्ने तयारीमा हामी छौं, यो प्रक्रिया पूरा भएलगत्तै प्रदेश सरकारले आफ्नै बस सञ्चालन गर्नेछ,’ सोनलले भने।

प्रदेश सरकारको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले मन्त्रालयको प्रगति विवरणबारे जानकारी दिन शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश सरकारले तत्काल पाँचवटा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए। पहिलो चरणमा बस सञ्चालन गर्न टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको उनको भनाइ छ।

मन्त्री सोनलले पहिलो चरणमा राजधानी जनकपुरदेखि पूर्व राजविराज र पश्चिम वीरगंजसम्म तथा वीरगंजदेखि राजविराजसम्म बस सञ्चालन हुने बताए। प्रशासनिक कामका लागि जनकपुर पुग्नेहरुको समस्यालाई मध्यनजर गरी प्रदेश सरकारले यस्तो योजना ल्याएको उनको भनाइ थियो। काठमाडौंमा सञ्चालन भइरहेको साझा बसअनुसारकै बस खरिद गर्ने तयारी रहेको उनले बताए।

यसैगरी प्रदेश लोकमार्गअन्तर्गत मन्त्रालयले आगामी दिनमा सडक निर्माण गर्न लागेको योजना सोनलले सार्वजनिक गरेका छन्। संघीय सरकारको रणनैतिक सडक सञ्चालमा नपरेका सडक, राष्ट्रिय लोकमार्गबाट जिल्ला सदरमुकाम जोडने सडक, प्रदेशभित्र एक जिल्ला सदरमुकामबाट अर्को जिल्ला सदरमुकाम जोड्ने सडक र दुई राष्ट्रिय लोकमार्ग जोड्ने सडक निर्माण गर्ने मन्त्रालयले तयारी गरेको सोनलले उल्लेख गरेका छन्।

राष्ट्रिय लोकमार्ग वा प्रादेशिक लोकमार्गबाट स्थानीय तहको केन्द्र जोड्ने, जिल्ला सदुरमुकामबाट स्थानीय तहको केन्द्र जोड्ने, दुई वा दुईभन्दा बढी स्थानीय तह र राष्ट्रिय लोकमार्ग वा प्रदेश लोकमार्गबाट धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका स्थलहरु जोड्ने सडक निर्माण कार्य मन्त्रालयले सुरु गर्ने सोनलले बताए। यी सडकहरु निर्माण गर्न डीपीआर कार्यसमेत सुरु भइसकेको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell