
काठमाडौं : क्यान इन्फोटक २०२०को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले डिजिटल क्षेत्रको पारदर्शीता, सुशासन र यसको बैधताका लागि विधेयक ल्याइएको बताए। विधेयक पारित नभए डिजिटल कारोबारले बैधता नपाउनेसमेत बाँस्कोटाले जनाए।
विद्युतीय कारोबार ऐनभन्दा सूचना प्रविधि विधेयक धेरै लचक भएको भए पनि त्यस्तो कुराहरुले कसैले नहेर्ने गरेको आरोप लगाए। विधेयकमा दण्ड जरिवाना बढी भए पनि त्यसलाई अझै मिलाउन सकिने अवस्था भएको उल्लेख गर्दै बाँस्कोटाले भने, ‘एउटा स्याल चल्ला टिप्ने हुन्छ। उसले चिल आयो चिल आयो भनेर कराउँछ। त्यसपछि मान्छे आकाशतिर हेर्छ। स्यालले चल्ला टिप्छ। अभिव्यक्ति स्वतन्त्रता भनेर कराउने तर डिजिटल क्षेत्रमा पारदर्शीता र सुशासन आएको नहेर्ने?’
बाँस्कोटाले सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारवाही हुने भन्ने शब्दको अन्य अर्थ लगाएर व्याख्या भइरहेको दाबी गरे। हल्ला गर्नेहरुले नीजि क्षेत्रको अराजकतावादलाई प्रोत्साहन गर्न खोजेको उल्लेख गर्दै बास्कोटाले भने, ‘जिस्काए वापत सजाय हुने भन्ने कुरामा यत्रै हैरानी? हैरानी गर्न पाइन्छ। कस्ता कल्चर हो यो? कसलाई हैरानी गर्ने आफ्नालाई हैरानी गरे त ठिकै छ। अंगालो मारेपनि राम्रै हो। अर्कासित हैरानी गर्ने। राति सुतेको बेला पनि हैरानी गराउन थालियो भने दनक नखाए के खाने?’
शुक्रबारबाट क्यान इन्फोटक मेला २०२० सुरु भएको छ। कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघले आयोजना गर्ने सूचनाप्रविधिसम्बन्धि प्रदर्शनीमा १ सय ८५ भन्दा बढी स्टलहरु रहेका छन्। मेला ७ गतेसम्म सञ्चालन हुने छ।