PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री साहमाथि कालोमोसो दल्ने प्रयास



सुमित मिश्र

प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री साहमाथि कालोमोसो दल्ने प्रयास

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) धनुषाका अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानुलाई दुर्व्यवहार गरेको भन्दै प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहमाथि कालोमोसो दल्ने प्रयास भएको छ। आज विहान मन्त्री साहलाई सार्वजनिक कार्यक्रममै राजपाका केही विद्यार्थी नेताहरुले कालो मोसो दल्ने प्रयास गरेका हुन्।

जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री साहलाई कालोमोसो दल्ने योजना बनाई नाराबाजी गरिरहेका राजपा नेपालका झण्डै १ दर्जन विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ। विद्यार्थी नेताहरुले कार्यक्रम स्थलमै मन्त्रीलाई घेरेपछि झण्डै १ घण्टा उनलाई अस्पतालमै बस्नुपरेको थियो। विद्यार्थीहरुलाई पक्राउ गरिएपछि मन्त्री साहलाई कार्यक्रमस्थलबाट बाहिर निकालिएको थियो। त्यसैक्रममा राजपा नेपालका हिरेन्द्र सिंह लगायतका केही युवाहरुले मन्त्री साहलाई कालो झण्डा समेत देखाएका थिए।

यता दुर्व्यवहार भएका नेता ज्ञानेन्द्र झा ज्ञानुले सामाजिक सञ्जालमा मन्त्री साहलाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भए कालोमोसो दल्ने चेतावनी दिएका छन्। नेता झाले साहलाई मन्त्री पदबाट हटाउन पार्टी नेतृत्वसँग आग्रह समेत गरेका छन्। नेता कार्यकर्ता कै कारण मन्त्री पद पाउने र पदमा गएपछि नेता कार्यकर्तालाई नै गालीगलौज गरेको भन्दै उनले आक्रोश पोखे। मन्त्री साहले शुक्रवार आफूलाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको ज्ञानुले आरोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell