PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

वुहानबाट नेपाली लिएर उडेको विमान केही बेरमै आइपुग्दै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प

वुहानबाट नेपाली लिएर उडेको विमान केही बेरमै आइपुग्दै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प


काठमाडौं : नोवेल कोरोना भाइरसको आउटब्रेक इपिसेन्टर वुहानबाट उद्धार गरिएका नेपालीहरु लिएर उडेको नेपाल वायु सेवा निगमको विमान केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ।

वुहानबाट आउँदै गरेको जहाज अवतरण गर्ने समय हुनुअघि नै विमानस्थल खाली गरिँदै छ। विमानस्थलमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। सर्वसाधारणदेखि सञ्चारकर्मीलाई पनि विमानस्थलमा बस्न दिइएको छैन। यो समयमा फ्लाइट भएकाहरुलाई समेत प्रवेश नदिएकाले उनीहरु फर्कन थालेका छन्। आइतवार बिहान ६ बजेसम्म विमानस्थल बन्द गरिने त्यहाँ खटिएका सुरक्षाकर्मीले बताएका छन्।

बेइजिङ स्थित नेपाली दूतावासका अनुसार वुहानबाट १७५ जना नेपाली बोकेर विमान नेपालका लागि प्रस्थान गरेको हो।

हुवेइका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानस्थित थियान्ह अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइएको थियो। त्यहाँबाट नेपालीहरुको स्वास्थ्य परीक्षण गरी नेपाल फर्काइएको थियो। सुरुमा १८५ जना नेपाली आउने भनिए पनि १० जना नेपाली आउन पाएका छैनन्।

यसरी नेपाल फर्किनेमा १७० जना विद्यार्थी एक जना कामदार, दुई जना पर्यटक तथा दुई जना नाबालक रहेको दूतावासका उपप्रमुख सुशील कुमार लम्सालले पहिलोपोस्टलाई जानकारी दिए। वुहानबाट विमान स्थानीय समय अनुसार १२ बजेर ५२ मिनेटमा उडेको हो।

विमान नेपाली समय अनुसार विहान ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ। हुवेइ प्रान्तका विभिन्न ६ शहरबाट नेपाली नेपाल आउन लागेका हुन्। जसमध्ये वुहानबाट ५५, अनसीबाट २६, सियानबाट २९, यीचाङबाट ८, जिङमनबाट ९ र जिङचोबाट ४८ जना नेपालका लागि उडेका हुन्। जसमध्य १३४ जना पुरुष र ४१ जना महिला रहेका छन्।

उनीहरुलाई नेपाल ल्याएसँगै क्वारेन्टाइनमा राखिने छ।



ट्रेन्डिङ पोस्ट

Ncell