PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बुहान टु खरिपाटी : विमानस्थलमा दुई घण्टा चेकिङ, टुरिस्ट बसमा स्कटिङ



बुहान टु खरिपाटी : विमानस्थलमा दुई घण्टा चेकिङ, टुरिस्ट बसमा स्कटिङ

  • सविन ढकाल/विधुर ढकाल/सहयोग रञ्जित-

काठमाडौं : नोवेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्य १५ सय नाघेको छ। विश्वभर ६० हजार मानिसमा यस भाइरसको संक्रमण देखिएको छ। भाइरसको असर बढेसँगै चीनले हुवईलाई 'लकडाउन' गरेको छ। कोठा बाहिर निस्कन नदिएसँगै त्यहाँ विभिन्न देशका नागरिक रोकिएका छन्। 

धेरै दिनको दबाबपछि नेपाल सरकारले अन्तत: हुवईमा रहेका नेपालीहरुलाई उद्धार गरेको छ। 

आउटब्रेक इपिसेन्टर वुहानबाट उद्धार गरिएका नेपालीहरुलाई भक्तपुरको खरीपाटी पुर्‍याइएको छ। चीनको हुवेइ प्रान्तबाट नेपाली समय अनुसार बेलुकी करिब साढे १० बजे वुहानबाट उडेको नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज आइतवार बिहान करिव साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरिएको थियो।

विशेष सुरक्षा तयारीका साथ विमानस्थलमा खटिएरका चिकित्सकहरुले वुहानबाट उद्धार गरि ल्याएका १ सय ७५ जनाको स्वास्थ्य प्रशिक्षण गरेका थिए। जसमा १ सय ३४ जना पुरुष र ४१ जना महिला रहेका थिए।

वुहानबाट १ सय ८५ जनाले नेपाल आउनको लागि फारम भरेपनि १ सय ७५ जना मात्र नेपाल फर्किएका हुन्। ६ जना उच्च तापक्रमको कारण र ४ जना नेपाल आउन नखोजेपछि नल्याइएको हो। यसरी नेपाल फर्किनेहरुमा अधिकांश विद्यार्थीहरु रहेका छन्। २ जना पर्यटक भिषामा चीन पुगेका नेपाली र एक जना कामदारलाई पनि नेपाल फर्काइएको छ।

विमानस्थलमा विशेष स्वास्थ्य परिक्षणपछि पर्यटक बसमा राखेर उनीहरुलाई खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवन रहेको स्थानमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको छ।

विमानस्थलबाट सिधै उनीहरुलाई 'डिपाचर' तिर नलगि सिनामंगलतिरको नेपाली सेनाको १० नम्वर गेटबाट बाहिर निकालिएको थियो। सुरुमा उनीहरुलाई खरिपाटी पुर्‍याउँदा पहिले भने झै सडक भने खाली गराइएको थिएन। सामान्य समयमा झै गाडीहरु गुडिरहेका थिए। नेपाली सेनाले उनीहरुलाई उद्धारदेखि राखिने क्वारेन्टाइन लगायत सम्पूर्ण जिम्मा लिएको छ।

सुरक्षाकर्मीका गाडि अगाडी थिए भने बिचमा उद्धार गरिएका नेपालीहरुलाई राखिएको पर्यटक बस थियो। त्यसपछि चिकित्सकहरुको लागि सवारी र एम्बुलेन्सहरु थिए। उनीहरुलाई सामान्य पर्यटक बोक्ने बसमा राखिएर खरिपाटी पुर्‍याइएको थियो। उद्धार गरि ल्याएका नेपाली बोकेका पर्यटक र सर्वसाधरणा मोटरसाईकल देखि अन्य भाडाका सवारी समेत ५ देखि १० मिटरको दुरीमा नै गुडिरहेका थिए।

तर विमानस्थलको अन्तर्राष्ट्रीय कक्ष भने आइतवार २ बजेदेखि नै खाली गरिएको थियो। विमानस्थलमा खटिएका सुरक्षाकर्मीले वैदेशिक रोजगारमा गएर फर्किएका र जानको लागि विमानस्थल पुगेका यात्रुहरुलाई चीनबाट आउँदै गरेको विमानको कारण देखाउँदै गेट बाहिर पठाएका थिए। दुईदेखि चार बजेसम्म विमानस्थल सुनसान थियो।

यसरी विमानस्थल पूर्ण रुपमा खाली गराउँदा यात्रुहरु अलपत्र परेका थिए।

नेपाल ओर्लिएपछि उद्धार गरी ल्याइएकाहरुले खुशी मनाएका छन्। बसमा खरीपाटी जाँदै गर्दै उनीहरुले हात हल्लाउँदै आफूहरु ठिक भएको भाव प्रकट गरेका थिए।

खरिपाटी पुगेका उनीहरुलाई १४ दिन त्यहाँ बनाइएको क्वारेन्टाइनमा राखिनेछ। त्यसबेलासम्म उनीहरुले आफ्नो घर परिवार सँगै भेट्न पाउने छैनन्। 

फोटो : प्रविण रानाभाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell