PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मुख्यमन्त्री राउत नेतृत्वको सरकारप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि, प्रतिपक्षी भन्छ : झुटको खेती मात्रै भयो



सुमित मिश्र

मुख्यमन्त्री राउत नेतृत्वको सरकारप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि, प्रतिपक्षी भन्छ : झुटको खेती मात्रै भयो

जनकपुरधाम : विस २०७४ फागुन ३ गते गठन भएको प्रदेश नम्बर २ सरकारको दुई वर्ष पूरा भएको छ। दुई वर्ष पूरा गरेको अवसरमा शनिवार मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन गर्दै १६ पृष्ठको प्रगति विवरण सार्वजनिक गरेर सरकारको २६ वटा उपलब्धि सुनाए।

मुख्यमन्त्री राउतले ७८ पटक मन्त्रिपरिषद्को बैठक बसेको कुरालाई पनि उपलब्धिको रुपमा प्रस्तुत गरेका हुन्। उनले मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण र प्रदेश २ मा सञ्चालित ‘बेटि पढाउ, बेटि बचाउ’ कार्यक्रमलाई सर्वाधिक प्राथमिकतामा साथ राखेर उपलब्धिको बखान गरेका हुन्।

मुख्यमन्त्री राउतले २६ वटा उपलब्धिमूलक काम भएको जिकिर गरेपनि सत्तापक्षकै सांसदहरुले सरकार असफल भएको र ‘भिजनलेस’ रहेको दावी गरेका छन्। सत्तापक्ष राजपाबाट प्रदेश सभा सदस्य बनेका उपेन्द्र महतोले मुख्यमन्त्री राउत नेतृत्वको सरकारले जनताको चाहना र मनोभावना अनुरुप काम गर्न नसकेकोले दावी गरेका हुन्।

प्रदेश सभा सदस्य महतोले भने, ‘यस सरकारले संघीयता बचाउन अग्रसर रहेको मात्र देखिएको छ। जनताको मनोभावना र चाहना अनुरुप एउटा पनि काम गर्न सकेको छैन।’

उनले मुख्यमन्त्री सदनमा आउँदा जहिले पनि ‘सिक्दै छौँ’ भनेर जवाफ फर्काएको बताए। सरकारलाई प्रयोगशाला बनाएको भन्दै उनले व्यंग्य गरे।

त्यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले दुई वर्ष बितिसक्दा पनि सरकारले अहिलेसम्म झुटको खेती मात्रै गर्दै आएको र अहिलेसम्म एउटा पनि काम गर्न नसकेको आरोप लगाए।

यादवले भने, ‘दुई वर्ष बितिसक्यो सरकारले एउटा पनि उपलब्धिमूलक काम गर्न सकेको छैन, यस सरकारले चटपटे जस्तो बजेट बाँडेर कार्यकर्ता पोस्ने काम मात्र गरेको छ। त्यसैले यो सरकार असफल हो।’

कांग्रेसका प्रदेश सभा सदस्य शिवचन्द्र चौधरीले मुख्यमन्त्री राउत नेतृत्वको सरकारले प्रदेशको भविष्य र स्थायीत्वको लागि अहिलेसम्म केहि नगरेको र भिजन बिना अघि बढि रहेको बताए।

‘सरकार चलाउनको लागि एउटा भिजन हुनुपर्छ तर लालबाबु नेतृत्व सरकारका मुख्यमन्त्रीदेखि लिएर मन्त्रीसम्म कोहिसँग पनि भिजन छैन। तसर्थ यो सरकार असफल हो,’ प्रदेश सांसद चौधरीले भने।

प्रदेश नम्बर २ सरकारप्रति जनता पनि असन्तुष्ट देखिएका छन्। चुनाबका बेला गरेको कुनै पनि बाचा पूरा नगरेकाले सरकार असफल भएको स्थानीयको आरोप छ।

जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने ४० वर्षीय अशोक साहले भने, ‘सरकारले जनतामुखी काम गर्न सकेको छैन, नेताहरुले चुनाबको बेला गरेको कुनै पनि बाचा पूरा गरेनन्। प्रदेश सरकारको दुई वर्षे कार्यकाल पूर्ण रुपमा असफल रहेको छ।’

लोकप्रिय नारा दिन सफल भएपनि जनअपेक्षाअनुसार काम गर्न नसकेको अशोक साहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell