PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रदेश २ को नामाकरणका विषयमा दलहरु सहमति नजिक



सुमित मिश्र

प्रदेश २ को नामाकरणका विषयमा दलहरु सहमति नजिक

जनकपुरधाम : प्रदेश २ को नामाकरणका विषयमा दलहरु सहमति नजिक पुगेका छन्। आइतवार दलहरुबीच भएको आन्तरिक छलफलमा प्रदेशको नाममा ‘मधेस’ शब्द जोड्न सहमति जुटेको हो। जसमा प्रतिपक्षी दलहरु करिबकरिब सहमत भएका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले सहमतिका लागि प्रदेशको नाम ‘मिथिला मधेस’ हुनुपर्ने प्रस्ताव अघि सारेको बताए। त्यस्तै नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफ्नो दलले लचकता देखाएर ‘जानकी मधेस’ को प्रस्ताव अघि सारेको जानकारी दिए।

यादवले भने, ‘सत्तापक्ष लचक भए हामी पनि सहमति गर्न तयार छौँ, सत्ता पक्षले आफनो अथवा नेकपा कसैको प्रस्तावलाई स्वीकारे हामी मान्न तयार छौँ।’

यता सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी प्रदेश २ को नाम ‘मधेस प्रदेश’ हुनुपर्ने अडानमा छन्।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम टुंग्याउन नसकिए पनि दलहरु सहमति नजिक पुगेको बताए। उनले मुलुकमा संघीयता स्थापना गराउन मधेस आन्दोलनको सम्मानका लागि भए पनि नाम ‘मधेस प्रदेश’ हुनुपर्ने बताए। यसअघि शनिवार प्रदेश २ को २ वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा पनि मुख्यमन्त्री राउतले प्रदेश २ को नाम ‘मधेस प्रदेश’ नै हुने अडान दोहोर्‍याएका थिए।

त्यस्तै, प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले पनि दलहरुको आगामी बैठकबाट प्रदेशको नाममा सहमति जुट्ने विश्वास व्यक्त गरे। सभामुख सरोज कुमार यादवले पनि स्थायी राजधानीबारे दलहरु यसअघि नै सहमति नजिक पुगिसकेको र नामकरणमा समेत सहमति बताए।

उनले भने, ‘हामीले संसदीय दलका नेताहरुसँग छलफल गरेका छौँ। छलफल सकारात्मक रहेकाले सहमति जुट्ने सम्भावना छ।’

प्रदेशको नामाकरण र राजधानीबारे सहमति जुटाउन सभामुख यादव नेतृत्वको संसदीय समितिले फागुन १५ भित्र दुवै प्रस्ताव प्रदेश सभामा पेश गर्ने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell