PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

‘माइभ्याली गोल्डकप’ फागुन १५ गतेबाट, तीन ‘ए’ डिभिजन र चार भारतीयसहित १० टिम भिड्ने



‘माइभ्याली गोल्डकप’ फागुन १५ गतेबाट, तीन ‘ए’ डिभिजन र चार भारतीयसहित १० टिम भिड्ने

काठमाडौं : माइभ्याली क्लबको आयोजनामा छैटौँ संस्करणको ‘माइभ्याली गोल्डकप’ फागुन १५ गतेबाट शुरु हुँदैछ। गोल्डकपलाई भनेर तयारी अन्तिम चरणमा पुर्‍याइएको आयोजकले जनाएको छ।

पूर्वी नेपालको इलामस्थित ठूलो टुँडिखेलमा हुने प्रतियोगितामा आयोजक माइभ्याली क्लबलगायत ‘ए’ डिभिजनका शीर्ष टिम मछिन्द्र क्लब, त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै  ए डिभिजनकै संकटा क्लबले पनि खेल्ने छ। त्यस्तै भारतको नागाल्यान्डको कोहिमा इगल फुटबल, एमएफसी दार्जिलिङ,  गान्टोक सिटी फुटबल क्लब सिक्किम र मोहम्मडन फुटबल क्लब कोलकत्ताले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन्।

प्रतियोगिता फागुन १५ देखि २४ गतेसम्म चल्नेछ। माइभ्याली क्लबका अध्यक्ष धिरेन चेम्जोङले प्रतियोगिताका लागि प्यारापिट लगायतको तयारी पूरा भइसकेको बताए।

‘अहिले वरिपरिबाट बार लगाउने काम चलिरहेको छ। पहाडी क्षेत्र भएकाले अलि व्यवस्थित बनाउनु पर्ने हुन्छ। त्यही हिसाबले तयारी भइरहेको छ,’ चेम्जोङले भने।

यसपटक गोल्डकप आयोजनाको बजेट ७८ लाख भए पनि प्रतियोगिता सकिँदासम्म १ करोड माथि बजेट आवश्यक पर्ने चेम्जोङले बताए।

उनले भने, ‘विदेशी र स्वदेशी ठूला टिमहरु हुँदा मेन्टेन गर्नै पनि ठूलो खर्च हुन्छ। जति राम्रो र ठूला टिमहरु आउँछन्, त्यति नै ठूलो व्यवस्थान आवश्यक पर्छ। त्यसका लागि बजेट त ठूलो चाहिन्छ नै।’

यसअघिका संस्करणमा आयोजक र आर्मीबीच मैदानको विषयलाई लिएर मतभेद हुने गरेको भए पनि यसपटक राम्रो सहकार्य गरेर अघि बढेको चेम्जोङले बताए।

माइभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। यसअघिका संस्करणमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिँदै आएकोमा यसपटकबाट १ लाख २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। हालसम्म सो विवेक बस्नेत, बिराज महर्जन र किशोर गिरीले पाएका थिए।

२०७१ सालदेखि सञ्चालनमा आएको गोल्डकपमा पहिलो २ संस्करणमा झापा ११ च्याम्पियन बनेको थियो। त्यसैगरी त्रिभुवन आर्मी, थ्रीस्टार र क्यामरुनी क्लब दाफिन्सले १/१ संस्करण जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell