PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टर्कीको 'ट्रयाप' लाई गौतम बुद्ध अवार्ड दिँदै सकियो 'निफ', 'बुलबुल'को डबल ह्याट्रिक



टर्कीको 'ट्रयाप' लाई गौतम बुद्ध अवार्ड दिँदै सकियो 'निफ', 'बुलबुल'को डबल ह्याट्रिक

काठमाडौं : विनोद पौडेल निर्देशित फिल्म 'बुलबुल' ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा डबल ह्याट्रिक गरेको छ।

राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिनसम्म चलेको उक्त फेस्टिभल सोमबार सम्पन्न भएको हो। फेस्टिभलको समापन समारोहमा फिल्म 'बुलबुल' ले नेपाल पनोरमा फिचर तर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेत्री,जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड जितेको हो।

फिल्मबाट विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड जितेका छन् भने स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री तर्फको अवार्ड जितेकी छिन्। त्यसैगरि जुरी अवार्ड पुरुष र महिलातर्फको अवार्ड मुकुन भुषाल र लक्ष्मी बर्देवाले जिते।

बुलबुलसँगै 'गोपी'ले तीनवटा अवार्ड जितेको छ। समारोहमा ‘गोपी’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड पायो भने फिल्मबाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्।

कार्यक्रममा नेपाली सर्ट फिल्म तर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित 'जुनुको जुत्ता'ले पाएको छ भने इन्टरनेसनल सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड युक्रेनको 'अन्ना'ले पाएको छ। नेपाली सर्ट फिल्मतर्फको अवार्ड प्रविन कुमार राउत निर्देशित 'कलम'ले प्राप्त गरेको छ। प्रविन स्वयं पनि जुरीको नजरमा उत्कृष्ट ठहरिएका छन्। सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको 'दि अदर हाफ'ले जितेको छ।

बहुपति प्रथाको कथा समेटिएको गणेश पाण्डे निर्देशित 'को हस्बेन्ड' डकुमेन्ट्री विधातर्फ उत्कृष्ट भएको छ। माउन्ट एभरेस्ट अवार्ड नाम दिएको यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको थियो।

यहि वर्षबाट थपिएको एनिमेटेड विधाको अवार्ड भने चीनको 'स्प्रिट अफ दि ड्रइङ गर्ल' ले पायो। मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारको राशि ७ सय अमेरिकी डलर रहेको थियो।

अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतीय फिल्म 'नुरी' उत्कृष्ट भएको छ। फिल्ममा भारत पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथा प्रस्तुत गरिएको थियो। बाग्मति अवार्ड नाम दिइएको यो पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको थियो।

समारोहको सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको 'ट्रयाप' ले पायो। जितसँगै फिल्मले १५ सय अमेरिकी डलर हात पार्यो।

फिचर फिल्म तर्फका मुख्य जुरी प्रकाश झाले नेपालका फिल्मसँगको यो पहिलो साक्षात्कार भए पनि नेपाली फिल्मको न्यारेटिभ प्रतिस्पर्धात्मक बनिरहेको अनुभव गरेको बताएका छन्। उनले नेपालसँग फिल्मका जुनसुकै विधामा सहकार्य गर्न तयार रहेको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell