PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्थलमार्ग हुँदै भारत गएकाहरु तेस्रो मुलुक उड्न नपाइने, हवाइ मार्गबाट नेपाल फर्कन पनि रोक



स्थलमार्ग हुँदै भारत गएकाहरु तेस्रो मुलुक उड्न नपाइने, हवाइ मार्गबाट नेपाल फर्कन पनि रोक

काठमाडौं : नेपालबाट स्थलमार्ग हुँदै भारतबाट नेपालीहरु तेस्रो मुलुक जान नपाउने भएका छन्। भारत सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरेसँगै यस्तो व्यवस्था भारतको अध्यागमन विभागले गरेको हो।

नेपाल र भारतबीच रहेको खुला सिमानाका कारण नेपालीहरूलाई स्थलमार्गबाट भारत प्रवेश गर्न सहज रहे पनि त्यहाँबाट तेस्रो मुलुक जान भने नेपालीले अब पाउने छैनन्।

भारत हुँदै तेस्रो मुलुक जाँदा नेपालबाट पनि विमानको प्रयोग गर्नुपर्ने छ। नेपालबाट भारतको नयाँ दिल्ली जाँदासमेत नेपाली राहदानीमा अध्यागमनको प्रस्थान स्ट्याम्प लगाउनु पर्ने छ।

यदि राहदानीमा प्रस्थान स्ट्याम्प नभए उनीहरुले भारतबाट हवाइ सेवा प्रयोग गर्न पाउने छैनन्। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार मध्यपूर्वका साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स लगायत नौवटा देशहरूमा भारतीय विमानस्थल प्रयोग गरी उड्न नेपाल सरकारले रोक लगाएको भन्दै यस्तो व्यवस्था गरिएको हो। तर वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिको स्टिकर लगाएर आएका नेपालीहरूलाई दूतावासबाट जारी नो अव्जेक्सन सर्टिफिकेट देखाएर उड्न पाउने छन्।

बाँकी देशहरूको हकमा भने राहदानीमा भारतीय अध्यागमनबाट भारत प्रवेश गरेको छाप (अराइभल स्ट्याम्प) लगाउन अनिवार्य व्यवस्था गरिएको छ।

खुला सिमानको दुरुपयोग गर्दै भारतबाट तेस्रो मुलुकमा मानव तस्कर भइरहेको भन्दै यस्तो व्यवस्थाका लागि नेपालले पत्राचार गरेको थियो। नेपालको अध्यागमन विभागले स्थलमार्गबाट भारत जाने नेपाली नागरिकको राहदानीमा प्रस्थान छाप नदिने/नलगाउने व्यवस्था कार्यान्वयन गर्न मातहत निकायलाई निर्देशन दिएको छ।

त्यसरी नेपाली अध्यागमन कार्यालयले डिपार्चर नलगाएपछि सीमा पारी भारतीय अध्यागमनले समेत आगमन छाप लगाउने छैन।

भारत हुँदै तेस्रो मुलुक जाने नेपालीले भारत प्रवेश गर्दा काठमाडौंबाट विमानको प्रयोग गर्नुपर्ने भएको छ। 'नेपालबाट स्थलमार्ग प्रयोग गरी भारत प्रवेश गरी तेश्रो मुलुक उडान गर्न खोज्दा आइपर्न सक्ने समस्याबाट बच्न नेपाली नागरिकलाई काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलबाटै उडान गर्न विशेष अनुरोध गरिन्छ,' भारतस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा उल्लेख छ।

यसको मारमा नेपालबाट स्थलमार्ग प्रयोग गरी भारत प्रवेश गरेका नेपाली हवाइ मार्गबाट नेपाल फर्किन पनि नपाउने भएका छन्।

अध्यागमनमा भारत प्रवेशको स्ट्याम्प नभएका नागरिकलाई नेपाल फर्किन 'प्रस्थान स्ट्याम्प' दिइने छैन। त्यसैले उनीहरुले हवाइ मार्गको प्रयोग गरी नेपालसमेत फर्किन पाउने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell