PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बुधवारदेखि जनकपुरमा राष्ट्रियस्तरको ह्याण्डबल प्रतियोगिता हुँदै



सुमित मिश्र

बुधवारदेखि जनकपुरमा राष्ट्रियस्तरको ह्याण्डबल प्रतियोगिता हुँदै

जनकपुरधाम : ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ जनकपुरमा राष्ट्रियस्तरको दोस्रो महिला तथा पहिलो पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको छ।

जिल्ला ह्याण्डबल संघ धनुषाको आयोजनामा जनकपुरको ऐतिहासिक रंगभूमि मैदान (बाह्रबिघा)मा बुधवारदेखि प्रतियोगिता हुनेछ। प्रतियोगितामा देशभरीबाट पुरुष र महिला गरी १२ वटा टिमहरुको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।

राष्ट्रियस्तरको प्रतियोगितामा नेपाल आर्मीको महिला र पुरुष टिम, सशस्त्र प्रहरीको महिला र पुरुष टिम, पोखराको महिला र पुरुष टिम, पूर्वाञ्चलबाट महिला टिम र आयोजक जनकपुरको महिला र पुरुष टिम सहभागी हुने प्रतियोगिताका संयोजक सरोज मिश्रले जानकारी दिए। प्रतियोगितामा १६ वटा खेल चार दिनसम्म चल्ने र फाइनल खेल फागुन १० गते शनिवार हुने मिश्रले बताए।

प्रतियोगितामा पहिलो हुने महिला टिमलाई नगद ५१ हजार, दोस्रोलाई नगद ३१ हजार र तेस्रो हुने टिमलाई नगद २१ हजार र ट्रफी प्रदान गरिने छ। पुरुषतर्फ पहिलो हुनेलाई नगद ३१ हजार, दोस्रोलाई २१ हजार र तेस्रो हुने टोलीलाई ११ हजार नगदका साथै ट्रफी प्रदान गरिनेछ।

यसैबीच, ह्याण्डबल खेलका लागि प्रदेश र स्थानीय सरकार उदाशिन रहेको भन्दै आयोजकले दुःख व्यक्त गरेको छ। जिल्ला ह्याण्डबल संघ धनुषाले गर्न लागेको प्रतियोगिताको लागि सरोकारवाला निकायले अहिलेसम्म कुनै सहयोग नगरेको भन्दै आयोजकले दुःख व्यक्त गरेको हो।

प्रतियोगिताको पहिलो खेल बुधवार बिहान नेपाली सेना र सशस्त्र प्रहरीको महिला टिमबीच हुने जिल्ला ह्याण्डबल संघ धनुषाका अध्यक्ष बिमलेश सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell