PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

कोरोनाका कारण चिनियाँ जनकंग्रेस र सल्लाहकार सम्मेलन स्थगित गर्न प्रस्ताव



कोरोनाका कारण चिनियाँ जनकंग्रेस र सल्लाहकार सम्मेलन स्थगित गर्न प्रस्ताव
फाइल फोटो : IC

नोवेल कोरोना भाइरसका कारण चिनियाँ राजनीतिका दुई ठूला कार्यक्रमहरु अनिश्चित बनेका छन्। देशकै ठूला वार्षिक राजनीतिक कार्यक्रमका रुपमा हेरिने दुई कार्यक्रम मार्चको पहिलो साताका लागि तय भएका थिए। चीनभर नोवेल कोरोना भाइरसको महामारी फैलिँदै गर्दा यी दुई कार्यक्रम स्थगित हुने सम्भावना रहेको चाइना डेलीले जनाएको छ।

चीनको ठूलो व्यवस्थापिकाको रुपमा रहेको राष्ट्रिय जनकंग्रेस र उच्च राजनीतिक सल्लाहकार अंगको रुपमा रहेको नेसनल कमिटी अफ चाइनिज पिपल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्स (सीपीपीसीसी) को वार्षिक भेला स्थगित हुने सम्भावना रहेको छ।

सीपीपीसीसीको राष्ट्रिय कमिटीको वार्षिक भेला मार्च ३ का लागि तय भएको छ। त्यस्तै जनकंग्रेसको वार्षिक बैठक मार्च ५ का लागि तय भएको छ। करिब ३ हजार विधायक २२ सय राष्ट्रिय राजनीतिक सल्लाहकारहरु केन्द्र सरकारको वर्षिक कार्यक्रमको समीक्षा गर्न बेइजिङमा भेला हुने गर्छन्।

यी भेलाले केन्द्र सरकारको वार्षिक बजेट, नीति तथा कार्यक्रम तथा कानुनको निर्माण गर्ने गर्छन्। त्यस्तै तल्लो तहबाट आएका सुझावहरुलाई केन्द्रसम्म पुर्‍याउने गर्छन्।

यद्यपि पछिल्लो पटक नोवेल कोरोना भाइरस फैलिएसँगै चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी र राष्ट्रपति सी जिनफिङले स्पष्ट रुपमा अहिलेको कार्यभार भनेको महामारीलाई नियन्त्रण गर्ने भएको बताउँदै आएका छन्।

नोवेल कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला अधिकांश जनकंग्रेसका सदस्यहरु भाइरसविरुद्धको लडाइमा खटिइरहेका छन्। 'अहिलेको अवस्थामा वार्षिक बैठकलाई स्थगित गर्नुपर्ने हुन सक्छ,' चिनियाँ जनकंग्रेसका न्यायिक मामिलाका प्रवक्ता झाङ थियवेइले भने।

सोमवार सुरु भएको जनकंग्रेसको स्थायी कमिटीको बैठकले जनकंग्रेसको बैठक स्थगित गर्न सुझावसहितको प्रस्ताव तयार गर्ने बताइएको छ। त्यस्तै बैठकमा अवैध रुपमा वन्यजन्तुको व्यापार तथा वन्यजन्तुको मासु सेवनमा कडाइ गर्ने व्यवस्था सम्बन्धी विषयमा छलफल हुने बताइएको छ। चीनको संविधानले जनकंग्रेसको प्लेनरी बैठक प्रत्येक वर्ष बस्ने प्रावधान रहेको छ। डिसेम्बर २८ मा भएको जनकंग्रेसको स्थायी कमिटीको बैठकले मार्च ५ मा जनकंग्रेसको बैठक बस्ने निर्णय गरेको थियो।

१९९८ देखि हरेक वर्ष मार्च ५ मा बैठक बस्दै आएको छ। चिनियाँ राजनीतिमा वार्षिक रुपमा हुने यी दुई भेलामा देशभरबाट ५००० विधायक तथा राजनीतिक सल्लाहकार मात्र होइन ३००० बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकारहरुसमेत भेला हुन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell