
जनकपुरधाम : अवैध बालुवा, गिट्टी उत्खनन विरुद्धका अभियान्ता दिलीप भनिने ओमप्रकाश महतोलाई शहीद घोषणा गर्न माग गर्दै मधेस बन्दको घोषणा गरिएको छ।
अवैध उत्खननको विरोध गर्दा योजनावद्ध तरिकाले हत्या गरिएका धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका २४ वर्षीय युवक दिलिपलाई पर्यावरण शहिद घोषणा गर्न माग गर्दै पिछडावर्ग समाज ओविसीले मधेस बन्द लगायत चरणवद्ध आन्दोलनको घोषणा गरेको हो। बिहीवार जनकपुरमा पत्रकार सम्मेलन गर्दै ओविसीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले दिलीपलाई पर्यावरण शहीद घोषणा र मुख्य योजनाकारलाई पक्राउ गर्नु पर्ने लगायतका ५ बुँदे माग गर्दै दोश्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।
माग पूरा गराउनका लागि दोस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ को ८ वटै जिल्लामा फागुन १० गतेदेखि १८ गतेसम्म हरेक जिल्लामा अन्तर्क्रिया गर्ने, फागुन २१ गते विरोध प्रदर्शन गर्ने, फागुन २४ गते काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन, फागुन २५ गते नेपाल सरकारलाई ध्यानाकर्षण गराइने र चैत १ गते मधेस बन्द गर्ने लगायतका कार्यक्रमहरु सार्वजनिक गरिएको छ।
अध्यक्ष महतोले प्रथम राष्ट्रिय पर्यावरण शहीद घोषणा गर्नुपर्ने, घटनाको सुक्ष्म अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, दोषीलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था र अवैध रुपले बालुवा, गिट्टी उत्खनन तथा चुरे दोहन बन्द गर्नुपर्ने लगायतका माग रहेको पत्रकार सम्मेलनमा जानकारी दिए।