PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

खोइ कता हरायो ‘हेल्लो सिएम’?



सुमित मिश्र

खोइ कता हरायो ‘हेल्लो सिएम’?
गतवर्ष कात्तिक ११ गते समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘हेल्लो सिएम’ एप सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउत लगायत। (फाईल फोटो)

जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले गतवर्ष कात्तिकमा बडो तामझामका साथ ‘हेल्लो सिएम’ मोबाइल एप सार्वजनिक गरेका थिए। महिला हिंसा तथा अपराध न्यूनिकरणका लागि उक्त मोबाइल एप सार्वजनिक गरेर मुख्यमन्त्री राउतले निकै चर्चा समेत कमाए। तर सार्वजनिक भएको ‘हेल्लो सिएम’ एप गुगल प्लेस्टोरबाट गायब भएको छ।

हाल प्लेस्टोरमा ‘हेल्लो सिएम’ एप खोज्दा गण्डकी प्रदेश बाहेक कुनै पनि प्रदेशको एप भेटाइदैँन। एप सार्वजनिक गर्ने क्रममा मुख्यमन्त्री राउतले हिंसामा परेका महिलाहरुले एप अन गरेर तीन पटक हल्लाए नजिकको प्रहरी चौकीमा लोकेसनसहितको आकस्मिक (इमेरजेन्सी) कल जाने बताएका थिए। तर, अब प्लेस्टोरमा एप नै नभएपछि कहीँ कतै फोन नजाने गरेको प्रदेश सांसद मञ्जु कुमारी यादवले बताइन्।

२०७४ कात्तिक ११ गते समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सार्वजनिक गरिएको एप नै गायब भएपछि यसको प्रयोग र उजुरीको कुनै तथ्यांक छैन। यद्यपि मुख्यमन्त्री कार्यालयका अधिकांश कर्मचारीलाई ‘हेल्लो सिएम’ एपबारे कुनै जानकारी समेत छैन।

‘हेल्लो सिएम’ एप निर्माणकर्ता आदित्यराज यादवले एप उद्घाटनको डेढ महिनामा बन्द भएको बताए।

उनले भने, ‘हामीले डेमो निर्माण गरेका थियौँ, एप सञ्चालनका निमित्त प्राविधिक टोलीसहित सुरक्षा युनिटहरुलाई तालिमको आवश्यकता भएकोले र बजेटको अभावमा नियमित सञ्चालन हुन नसकेको हो।’

उनले आफ्नै ६ लाख खर्चमा ‘हेल्लो सिएम’ एपको डेमो निर्माण गरेको बताए।

‘डेमोको अवधिमा २०/२५ उजुरी आएको थियो। बन्द भएपछिको अवस्थामा मुख्यमन्त्रीसँग छलफल भएपनि अब कहिले सञ्चालन हुने त्यसको सुनिश्चितता छैन।’

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको नेतृत्व गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक जयराज सापकोटाले एप सञ्चालनमा प्रदेश प्रहरीको हालसम्म कुनै भुमिका नरहेको बताए।

उनले भने, ‘हेल्लो सिएम एप प्रदेशमा सञ्चालनमा रहेको समेत थाहा छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell